भन्सारका नासुको झन्डै दुई करोड गैरकानुनी सम्पत्ति

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

२० वर्षे जागिरको आम्दानी चार करोड, दुई करोड अवैध    

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै दुई करोड गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भन्सारका एक नासुविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौंको तिनकुनेस्थित भन्सार जाँचपास परिक्षण कार्यालयमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध अख्तियारले एक करोड ८७ लाख ४७ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विचारी पदबाट सरकारी सेवामा प्रवेश गरेको ५ साउन २०५६ देखि आर्थिक वर्ष २०७५/७६ सम्मको अवधिमा अख्तियारले नासु थापाको आम्दानी र खर्चको अध्ययन तथा विश्लेषण गरेको थियो । आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरेका नासु थापा र उनको परिवारको जीवनस्तर अमिल्दो र अस्वाभाविक देखिएको आयोगको दावी छ । 

परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनीका संस्थापक एवं साधारण शेयर खरिद लगानी लगायतका चलअचल सम्पत्ति खरिद, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा, घर निर्माण लगायतका शिर्षकहरूमा थापाले तीन करोड ८९ लाख ४५ हजार रुपैयाँ खर्च गरेको आयोगको छानबिनबाट देखिएको छ । 

जबकी सेवा अवधिमा नासु थापाको वैध आय दुई करोड एक लाख ९८ हजार रुपैयाँमात्र देखिएको थियो । ‘निजको वैध आय दुई करोड एक लाख ९८ हजार ४३९ को तुलनामा एक करोड ८७ लाख ४७ हजार १४९ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको देखियो ।’ आयोगको आरोपपत्रमा भनिएको छ । उनले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

थापाविरुद्ध अख्तियारले आर्जित गैरकानुनी सम्पत्ति बराबरको एक करोड ८७ लाख ४७ हजार १४९ बराबरकै बिगो कायम गरेर विशेषमा मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ऐनबमोजिम कैद सजायको मागदाबीसमेत गरिएको छ । 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी बाबु, आमा र श्रीमतीको नाममा राखेकाले अख्तियारले उनीहरूविरुद्ध पनि स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मुद्दा दायर गरेको छ ।

See More On

सुझावित समाचार