महानगर र उपमहानगरमा केन्द्रबाटै तालमेल गरेका सत्तासाझेदार दलबीच धेरै नगर र गाउँपालिकामा आंशिक मात्रै तालमेल, सहमतिको प्रयास जारी राख्ने भनाइ
प्रदेश १ : अधिकांश पालिकामा पूर्वतालमेल भएन
प्रदेश १ मा पाँचदलीय गठबन्धनले केन्द्रबाट भागबन्डा गरेकाबाहेक अन्य पालिकामा गठबन्धन हुन सकेन । सहमति नभएपछि सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो तरिकाले उम्मेदवारी दिएका छन् । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा केन्द्रबाट भागबन्डा भएअनुसार मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । महानगरको १२ नम्बर वडाबाहेक सबै वडामा गठबन्धन दलहरूले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी मनोनयन गराएका छन् । १२ नम्बर वडामा एकीकृत समाजवादी र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन् ।
मोरङको लेटाङमा कांग्रेस र माओवादीले प्रमुख र उपप्रमुखमा सहमति गरेर उम्मेदवारी दर्ता गराएका छन् । तर, वडामा भने सबै नेतृत्व कांग्रेसले लिएको छ । सुनबर्सी नगरपालिकामा तालमेल गरेर जसपले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । धनपालथान र मिक्लाजुङ गाउँपालिकामा पनि अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिएर तालमेल गरेका छन् । मोरङका उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, रंंगेली नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, बुढीगंगा गाउँपालिका, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिकामा तालमेल भएन ।
सुनसरीका धरान उपमहानगरमा कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । इटहरी उपमहानगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । बराहक्षेत्रमा कांग्रेस र माओवादीका उम्मेदवारले मेयर र उपमेयर लिने गरी उम्मेदवारी दर्ता गराएका छन् । अरू कुनै पनि पालिकामा तालमेल हुन सकेन । झापामा गठबन्धनमा आबद्ध चार दलमध्ये दुई दलबीच मात्र गठबन्धन भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र गठबन्धनमा उम्मेदवार उठाएका छन् । एकीकृत समाजवादी र जनता समाजवादीले कमल गाउँपालिकामा मात्र गठबन्धन गरेका छन् । झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कन्काई नगरपालिका, कचनकवल गाउँपालिकामा कुनै पनि दलको गठबन्धनमा उम्मेदवारी दर्ता भएन ।
सोलुखुम्बुका सोलु–दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी गाउँपालिका, नेचा सल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा गठबन्धन भएन । ताप्लेजुङका सिदिङबा गाउँपालिका र मेरिङदेन गाउँपालिकामा गठबन्धन भएन । भोजपुरको पौवादुङ गाउँपालिकामा एमाले र जनता समाजवादीको गठबन्धन भएको छ । आमचोक गाउँपालिकामा एमाले र कांग्रेसको गठबन्धन भएको छ । अरुण गाउँपालिकामा एकीकृत समाजवादी र माओवादीको गठबन्धन भएको छ । बाँकी पालिकामा पाँच दलको दाबीअनुसार गठबन्धन भएको छ । ओखलढुंगाको फिजिदेम्बा गाउँपालिका र सुनकोसी गाउँपालिकामा सबै पार्टीको एकल उम्मेदवार दर्ता भएको छ । अन्य पालिकामा गठबन्धन भएको छ ।
मधेस : १३६ मध्ये १२५ पालिकामा तालमेल भएन
मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ पालिका छन् । ती अधिकांशमा सत्तासाझेदार दलबीच गठबन्धन भएन । केन्द्रले वीरगन्ज महानगरपालिका, जनकपुरधाम, जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल भएको थियो । सोमबार तालमेल गर्दै दलहरूले उम्मेदवारी दिए । धनुषाको सबैला नगरापालिकामा काँग्रेस र जसपाबीच धनुषाधाममा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । सिरहाको लहान नगरपालिकामा कांग्रेस, माओवादी र जसपाबीच गठबन्धन भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिकामा माओवादी र एकीकृत समाजवादीबीच, रौतहटको कटरिया नगरपालिका माओवादी र जसपाबीच, बाराको निजगढ नगरपालिकामा कांग्रेस र माओवादीबीच तथा सर्लाहीको लालबन्दी नगरपालिका माओवादी र जसपाबीच गठबन्धन भएको छ । यसअलावा अन्य १२५ पालिकामा तालमेल हुन सकेन । ती पालिकामा प्रदेशलाई गठबन्धन गर्ने जिम्मा थियो । तर, सत्तारूढ दलहरूका प्रदेश बैठकमा दलहरूबीच सिट भागबन्डा नमिलेपछि गठबन्धन हुन नसकेको कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमार रायले बताए । ‘बैठकमा पार्टीहरूलेहरूआफ्नो वास्तविक जनाधारभन्दा बढी सिटको दाबी गरिरहेपछि गठबन्धन टुटेको हो,’ उनले भने, ‘गठबन्धन वडादेखि हुनुपर्ने हो । तर, त्यो भएन ।’
एकीकृत समाजवादी मधेस प्रदेश अध्यक्ष रामचरित्र यादवले गठबन्धन गर्न हदैसम्मको प्रयास गरे पनि सफल हुन नसकेको बताए । ‘गठबन्धन गर्न हामी पटक–पटक बैठक बस्यौँ । सैद्धान्तिक सहमति भए पनि सिट भागबन्डामा कुरा मिल्न सकेन ।’ उनले उम्मेदवारी फिर्ता लिने समय १६ वैशाखसम्म तालमेलको प्रयास भने जारी रहने बताए । सत्तासाझेदार दलले सुरुमा एमाले र लोसपाले नेतृत्व गरेका पालिकामा तालमेल गर्ने सहमति गरेका थिए । मधेसमा लोसपा र एमाले नेतृत्व गरेका २४ पालिका छन् । तर, ती २४ मा पनि भागबन्डा मिल्न सकेन ।’
बागमती : ११९ मध्ये ७४ पालिकामा मात्र तालमेल
बागमती प्रदेशका ४५ स्थानीय तहमा प्रदेश तहबाट तालमेल भएको छैन । एक सय १९ स्थानीय तह रहेको बागमतीका पाँच जिल्लाका ४५ स्थानीय तहमा गठबन्धनका दलहरूको प्रदेश तहबाट तालमेल हुन नसकेको हो । तीन दिन लगातार बसेको गठबन्धनको बैठकबाट तालमेलका लागि प्रयास गरिए पनि उम्मेदवारी दर्ता समय सोमबार बिहानसम्म प्रदेश तहबाट तालमेल हुन नसकेको हो ।
१३ जिल्लामध्ये नुवाकोटका १०, रसुवाका पाँच, रामेछापका आठ, सिन्धुपाल्चोकका १२ र काठमाडौंका १० वटा स्थानीय तहमा तालमेल हुन नसकेको नेपाली कांग्रेस बागमती प्रदेश समितिका मुख्यसचिव राजु नेपालले जानकारी दिए । प्रदेश तहबाट तालमेल हुन नसकेपछि स्थानीय तहमै गठबन्धनका दलहरूबीच तालमेल गर्न भनिएको उनले बताए । ‘४५ स्थानीय तहमा प्रदेश तहबाट तालमेल टुंगिन सकेन । पार्टीको स्थानीय तह र जिल्लाबाटै टुंग्याउन भनिएको थियो, जिल्ला–जिल्लामा गठबन्धनबीच कसरी तालमेल भयो, रिपोर्ट प्राप्त भएको छैन,’ उनले भने । गठबन्धनबीच धादिङ, चितवन, मकवानपुर, सिन्धुली, दोलखा, काभ्रे, भक्तपुर, ललितपुरका सबै स्थानीय तहमा तालमेल भएको छ ।
सिन्धुपाल्चोकका इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, रसुवाका उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, काठमाडांैका कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरि नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, शंखरापुर नगरपालिकामा तालमेल भएन ।
रामेछापका उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, सुनापती गाउँपालिका, मन्थली नगरपालिका, रामेछाप नगरपालिका, नुवाकोटका ककनी गाउँपालिका, किस्पाङ गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, म्यागङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिकामा पनि सत्ता साझेदार दलले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।
गण्डकी : पाँच जिल्लाका पालिका गठबन्धनविहीन
गण्डकी प्रदेशका गोरखा, कास्की (पोखराको मेयर, उपमेयरबाहेक), स्याङ्जा, नवलपुर र तनहुँका पालिकामा गठबन्धन हुन सकेन । राति अबेरसम्म पनि मनोनयन दर्ता चलेकाले गठबन्धनसम्बद्ध दलहरू नै कहाँ कुन पालिकामा गठबन्धन भयो भन्नेमा अन्योलमा रहेको नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए । ‘हामीले विस्तृत बुझ्न नै पाएका छैनौँ । स्याङ्जा, तनहुँ, गोरखा, कास्कीमा पनि र नवलपुरका पालिकामा पूरा रूपमा गठबन्धन कायम हुन सकेको छैन भन्ने रिपोर्ट आएको छ,’ उनले भने ।
माओवादी केन्द्रका नेता दीपक कोइरालाले पनि लामिछानेको भनाइलाई पुष्टि गरेका छन् । उनले पनि कतिपय पालिकामा गठबन्धन गर्ने भनिए पनि दोहोरो उम्मेदवारी परेको जानकारी दिए । सम्भव भएसम्म दोहोर–तेहरो उम्मेदवारी परेको ठाउँमा उम्मेदवारी फिर्ता लिने वेलासम्म मिलाएर लैजाने प्रयास रहने गठबन्धनआबद्ध दलका नेताहरूले बताएका छन् ।
लुम्बिनी : भएको सहमति पनि तोडियो
स्थानीय तहको निर्वाचनका लागि लुम्बिनीमा सत्तागठबन्धनका दलहरू अधिकांश तहमा मिल्न नसकेको पाइएको छ । लुम्बिनी प्रदेशको दाङको घोराही, तुल्सीपुर, उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिका, पाल्पाका स्थानीय तह, गुल्मीको मालिका गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार खडा भए पनि अन्य अधिकांश तहमा सहमति छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ताको दिनसम्म केही तहमा सहमतिमा पुगेका गठबन्धनका दलहरूले उम्मेदवारी दर्ता गर्दा थप सहमति तोड्दै उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश तहमा सहमतिमा पुग्न नसकेका यहाँका गठबन्धनका दलहरूले अब भने उम्मेदवारी फिर्ताको समयसम्म भए पनि सहमति खोज्न प्रयास गर्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणि चौधरीले गठबन्धनका दलहरूबीच सहमति भएका ठाउँमा जे भएको थियो, सोहीअनुसार आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको बताए । सहमतिमा पुग्न नसकी छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएका तहमा थप सहमतिमा पुग्न गठबन्धनबीच छलफल जारी राख्ने उनले बताए । उम्मेदवारी फिर्ता लिने समयसम्ममा सहमतिका लागि प्रयास गरिने उनले बताए । त्यस्तै, नेपाली कांग्रेसका प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठले सहमति गरिएका स्थानीय तहमा पनि व्यावहारिक रूपमा गठबन्धन भएको नपाइएको उनले बताए । उम्मेदवारी दर्ता गर्दा सहमतिअनुसार नभएका तह तथा अन्य तहका लागि थप सहमतिको प्रयास जारी राखिने उनले बताए ।
सुदूरपश्चिम : अधिकांश तहमा आंशिक तालमेल
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका अधिकांश तहमा सत्तारूढ गठबन्धनबीच तालमेल हुन सकेन । प्रधानमन्त्री देउवाकै गृहजिल्ला डडेल्धुरामै गठबन्धनमा आबद्ध दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । बझाङ र कैलालीका सबै तहमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन् । अन्य सात जिल्लामा अधिकांश ठाउँमा माओवादी र समाजवादी तथा केही ठाउँमा कांग्रेस र माओवादी तथा कांग्रेस र समाजवादीबीच तालमेल भएको छ । कैलालीका १३ र बझाङका १२ वटा तहमा कांग्रेस, माओवादी र समाजवादीले तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन् । कैलालीमा कांग्रेसले सात, माओवादीले चार र एकीकृत समाजवादीले दुई तहको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् । बझाङमा कांग्रेसले सात, एकीकृत समाजवादीले तीन र माओवादीले दुई तहको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
बैतडीका १० तहमध्ये तीन तहमा मात्र तीन दलले तालमेल गरेर उम्मेदवारी दिएका छन् । दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर नगरपालिकामा कांग्रेस र डिलासैनीमा माओवादीले प्रमुख तथा पञ्चेश्वरमा समाजवादीले उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका छन् । बैतडीकै सुर्नयामा माओवादी र समाजवादीले तालमेल गरेका छन् । समाजवादीले अध्यक्ष र माओवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । कञ्चनपुर र डोटीका नौ–नौवटै तहमा माओवादी र समाजवादीबीच तालमेल भएको छ । दुई दलको सहमतिअनुसार कञ्चनपुरमा माओवादीले पाँच र समाजवादीले चार तहको प्रमुखमा उम्मेदवारी दिएका छन् । डोटीमा माओवादीले पाँच तहको प्रमुख र चार तहको उपप्रमुख तथा समाजवादीले चार तहको प्रमुख र पाँच तहको उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
बाजुरामा पनि गठबन्धनबीच तालमेल हुन सकेन । नौवटा तहमध्ये स्वामीकार्तिक गाउँपालिकामा समाजवादी र माओवादीले तालमेल गरेका छन् । अध्यक्ष समाजवादी र उपाध्यक्ष माओवादीले लिएका छन् । त्यस्तै, जगन्नाथ गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दार्चुलामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । कांग्रेसले पाँच र माओवादीले चार तहको प्रमुखमा उम्मेदवारी दिएका छन् । दार्चुलामा यसअघि समाजवादीलाई वडामा ल्याउने गरी तीन दलबीच सहमति भएको थियो, तर एकीकृत समाजवादीले महाकाली नगरपालिका, अपी हिमाल गाउँपालिका र मार्मा गाउँपालिकामा एकल उम्मेदवारी दिएको छ । डडेल्धुराका सातवटै तहमा कांग्रेसले एकल उम्मेदवारी दिएको छ । माओवादी र समाजवादीबीच भने तालमेल भएको छ । गन्यापधुरा गाउँपालिकामा समाजवादीले अध्यक्ष र माओवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै अजयमेरूमा अध्यक्ष र उपाध्यक्ष दुवैमा समाजवादीले माओवादीलाई सघाएको छ ।
अछाममा १० तहमध्ये दुई तहमा कांग्रेस–माओवादी, तीन तहमा कांग्रेस–समाजवादी र एक तहमा माओवादी–समाजवादीबीच तालमेल भएको छ । बान्नीगढी–जयगढ गाउँपालिका कांग्रेसले अध्यक्ष तथा माओवादीले उपाध्यक्ष र मेल्लेख गाउँपालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै, मंगलसैन र साँफेबगर नगरपालिका तथा रामारोशन गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख समाजवादीले लिने गरी दुई दलले तालमेल गरेका छन् । चौरपाटीको अध्यक्षमा समाजवादीलाई सघाएर माओवादीले उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।
गणेश लम्साल, हदिश खुद्दार, सुदीप सिवाकोटी, गोविन्द सुवेदी, विष्णु घिमिरे, तेजराज भट्ट