सोमबार बिहान एमाले त्यागेका खड्कालाई माओवादीले दियो ललितपुर महानगरमा वडाध्यक्षको टिकट

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

पुनः वडाध्यक्ष बन्न पार्टीले टिकट नदिएपछि सोमबार बिहान नेकपा एमाले परित्याग गरेका ललितपुरमा महानगरपालिका– १८ का निवर्तमान वडाध्यक्ष पुरुषोत्तम खड्काले नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारको टिकट पाएका छन्। 

पार्टीले पुनः वडामा उठ्न टिकट नदिने भएपछि आफूले पार्टी नै परित्याग गरेको प्रतिक्रिया उनले दिएका छन्। उनी सोमबार बिहान एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए। 

त्यसलगत्तै उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन्। सोमबार बिहान उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। 

त्यसलगत्तै उनलाई वडा नं. १८ को उम्मेदवारको टिकट पनि प्रदान गरिएको माओवादी केन्द्र ललितपुरले जनाएको छ। 

सोमबार बिहान खड्कालाई पार्टीमा स्वागत गर्नको लागि पार्टीका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, ऊर्जामन्त्री पम्फा भुसाल, भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलगायत नेता प्रचण्डनिवास पुगेका थिए। खड्कालाई वडामा पुनः उम्मेदवार बनाउने सर्तमा पार्टीमा प्रवेश गराएको थियो।
 

सुझावित समाचार