वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुम्लामा गठबन्धनबाट बागी उम्मेदवारी परेको छ। गठबन्धनमा रहेको नेपाली कांग्रेसबाट आफ्नो नाम नपरेपछि दीपबहादुर सिंहले उपाध्यक्षमा बागी उम्मेदवारी दिएका हुन्। उनी कांग्रेसको छैटौँ जिल्ला अधिवेशनबाट कोषाध्यक्ष चयन भएका थिए।
गठबन्धनमा सिमकोट गाउँपालिकामा माओवादी केन्द्रबाट विजय भण्डारी अध्यक्ष र कांग्रेसबाट सुशीला रोकाया उपाध्यक्ष सिफारिस भएका छन्। उपाध्यक्ष पदका आकांक्षी रहेका सिंहले आफूले टिकट नपाउने भएपछि स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेको जनाएका छन्।
पहिलो दिन मनोनयन दर्ता गर्नेमा अधिकांश स्वतन्त्रबाट देखिएका छन्। स्वतन्त्रबाट मनोनयन दर्ता गर्नेमा गाउँपालिका उपाध्यक्षदेखि वडा सदस्यसम्म छन्। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार पहिलो दिन मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने आठजनामध्ये सातजनाले स्वतन्त्रबाट दर्ता गराएका हुन्। स्वतन्त्र रूपमा मनोनयन दर्ता गर्नेमा पार्टीबाट टिकट नपाएपछि रुष्ट रहेका व्यक्तिहरू बढी छन्।
त्यसैगरी, सिमकोट– ६ का जयचन्द्र रोकायाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन्। नेकपा (माओवादी केन्द्र)निकट उनी यसअघि पनि वडाध्यक्ष थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हर्कबहादुर शाहीले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन्। त्यसैगरी, खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेबाट प्रकाशबहादुर शाहीले मनोनयन दर्ता गराएका सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीले बताए।