आसन्न स्थानीय तहको निर्वाचनमा बाग्लुङमा क्रियाशील सत्तारूढ गठबन्धनका दल एक भएर जाने भएका छन्। जिल्लामा क्रियाशील नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीबीच गठबन्धन गरेर जाने निर्णय भएको हो।
लामो छलफलपश्चात् आइतबार राति गठबन्धनका दलहरूले भागबन्डा टुंग्याएका कांग्रेस बाग्लुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए। जिल्लाका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसलाई ६ स्थानीय तहमा मेयर–अध्यक्ष तथा अन्य चार पालिका गठबन्धनकै दलहरूलाई दिने सहमतिसहित भागबन्डा टुंगिएको हो। कांग्रेसले जिल्ला सदरमुकाम रहेको बाग्लुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको अध्यक्ष पाएको छ भने जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा उपमेयर–उपाध्यक्ष पाएको छ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका मेयर र बरेङ गाउँपालिका अध्यक्ष पाएको छ भने काठेखोला गाउँपालिकामा उपाध्यक्ष र बडिगाड गाउँपालिकामा उपाध्यक्ष पनि जनमोर्चाकै भागमा परेको छ। माओवादी केन्द्रले ढोरपाटन नगरपालिका प्रमुख र ताराखोला गाउँपालिका अध्यक्ष पाएको छ भने बाग्लुङ नगरपालिका उपमेयर, निसीखोला गाउँपालिका उप्रमुख र गलकोट नगरपालिका उपमेयर माओवादी केन्द्रकै भागमा परेको छ।
सत्तामै रहेको नेकपा (समाजवादी)ले जिल्लाको तमानखोला गाउँपालिकाको उपाध्यक्षसहित केही वडाध्यक्ष लिएर गठबन्धनमा बाँधिएको छ। जनता समाजवादीले केही वडामा प्रतिनिधित्व पाएको छ। गठबन्धनले जिल्ला समन्वय पनि टुंग्याएको छ। समन्वय प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुमा एकीकृत समाजवादी रहने गरी निर्णय भएको छ भने अन्य सदस्य गठबन्धनभित्रकै दलहरू रहेको कांग्रेस बाग्लुङका सभापति शेरचनले जानकारी दिए।