एमाले लमजुङले आठवटै पालिकामा उम्मेदवार टुंग्यायो

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले लमजुङमा चार  नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । चारवटा नगरपालिका र चारवटा  गाउँपालिका गरी ७५ वटा वडा रहेको लमजुङमा एमालेले सोमबार आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेदवार चयन गरेको हो । लमजुङको सदरमुकाममा रहेको बेँसीसहर नगरपालिकामा हालका मेयर गुमानसिंह अर्याल नै दोहोरिने भएका छन् ।

बेँसीसहर नगरपालिकाको उपमेयरमा पद्मा गुरुङलाई  चयन गरिएको छ । यस्तै, लमजुङको राइनास नगरपालिकामा पनि हालका मेयर सिंहबहादुर थापालाई दोहोर्याइएको छ । उपमेयरमा शोभा पन्थीले  टिकट पाएकी छिन् । मध्यनेपाल नगरपालिकामा हालका उपप्रमुख राजकुमार श्रेष्ठलाई मेयरमा चयन गरिएको छ भने उपमेयरमा सीता गुरुङलाई चयन गरिएको छ ।

जिल्लाको सुन्दरबजार नगरपालिकामा मेयरमा भीमबहादुर गुरुङ र उपमेयरमा भवनी केसीलाई चयन गरिएको एमाले लमजुङले जनाएको छ । यस्तै, चार गाउँपालिका रहेको लमजुङको मर्स्याङ्दी गाउँपालिकामा हालका अध्यक्ष अर्जुन गुरुङलाई अध्यक्षमा चयन गरिएको छ भने उपाध्यक्षमा जुना थापालाई चयन गरिएको छ । दोर्दी गाउँपालिकाको अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ रहेका छन् भने क्वोहोलासोथर गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा गमी गुरुङलाई चयन गरिएको छ ।

यस्तै, लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा तेजबहादुर गुरुङ र उपाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरिएको छ ।   एमालेले ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा लमजुङको तीन नगरपालिकाको प्रमुख र दुई गाउँपालिकाको प्रमुख जितेको थियोे भने दुई नगरपालिकाको उपप्रमुख र दुई गाउँपालिकाको उपप्रमुख जितेको थियो ।

सुझावित समाचार