वसन्त ऋतुको आगमनसँगै पर्यटकीय सिजनमा काठमाडौं उपत्यकासहित देशभरका पर्यटकीय होटेलहरू भरिएका छन् । कोभिड महामारीले थलिएका उपत्यकाका पाँचतारे होटेलहरू अहिले औसत ७० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका छन् । त्यस्तै, उपत्यकाबाहिर पर्यटकीय होटेलहरू पनि आन्तरिक पर्यटकले नै भरिन थालेका छन् ।
सिजन सुरु भएपछि केही समय होटेल फुल अकुपेन्सीमा सञ्चालन भएको पाँचतारे होटेल म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले बताए । उनका अनुसार अहिले पनि होटेल म्यारियटमा ७० प्रतिशत अकुपेन्सी रहेको छ । पछिल्लो समय पर्यटक आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्र लयमा फर्किन थालेको उनको भनाइ छ । तर, अन्तर्राष्ट्रिय एयरपोर्ट व्यवस्थापनमा देखिएको कमजोरीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू घण्टौँसम्म डिले हुँदा पर्यटकमा नराम्रो छाप परेको उनको गुनासो छ ।
ठमेलमा रहेको पाँचतारे होटेल अलफ्टमा पनि ७० प्रतिशत अकुपेन्सी पुगेको छ । ‘पछिल्ला दिनमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्न थालेपछि होटेल भरिन थालेको हो,’ अलफ्टका सञ्चालक महेश्वर श्रेष्ठले भने, ‘पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन्, यो वर्ष उत्साहजनक नै रहने अपेक्षा छ ।’
तर, पछिल्लो समय भारतमा कोभिड बढ्न थालेको र केही भारतीय पर्यटकले बुकिङ पनि रद्द गर्न थालेपछि कतै लयमा फर्किन थालेको पर्यटन पुनः सुस्ताउने त होइन भने त्रास बढेको उनले बताए । ताहाचलमा सञ्चालित पाँचतारे सोल्टी होटेलमा अहिले ७५ प्रतिशत हाराहारी अकुपेन्सी रहेको होटेलका रुम डिभिजन म्यानेजर राजीव ठाकुरले बताए । होटेलमा रहेका तीन सय कोठामध्ये दुई सयभन्दा बढी भरिभराउ हुन थालेको उनको भनाइ छ । पछिल्लो समय होटेलमा आन्तरिक कार्यक्रमहरू पनि बढ्दै गइरहेका छन् ।
कोभिडपछि विदेशी पर्यटक आगमन बढ्नुका साथै आन्तरिक पर्यटक पनि घुमफिरमा निस्कन थालेपछि होटेलमा अकुपेन्सी बढ्न थालेको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । ‘अहिले ठूला पाँचतारे होटेल तथा रिसोर्टमा अकुपेन्सी राम्रो छ, साना होटेलमा अझै पाहुना कम छन्, काठमाडौंबाहिर बिदाका दिन होटेल राम्रो चल्न थालेका छन्,’ उनले भने, ‘देशभरिका होटेलको औसत अकुपेन्सी २५ प्रतिशत नाघिसकेको छ, जुन सकारात्मक मान्नुपर्छ ।’
वसन्त ऋतुमा हिमाल चढ्नका लागि विदेशी आरोहीहरू नेपाल आउने क्रम जारी छ । आरोहणका लागि आउने पर्यटक एक दिन काठमाडौंमा बस्छन् भने अर्को दिन गन्तव्यतिर लागिहाल्छन् । जसले गर्दा आरोहणका लागि खुला गरिएका हिमालका काखमा सञ्चालित होटेलहरूमा चहलपहल बढेको स्थानीय होटेल व्यवसायीहरू बताउँछन् । आइतबारसम्म २५ हिमाल आरोहणका लागि ७३ देशका आठ सय ७६ जना आरोहीले अनुमति लिइसकेका छन् । उनीहरू काठमाडौं हुँदै आरोहणका लागि गन्तव्यतिर लागिरहेका छन् । यस्तै, ट्रेकिङका लागि पनि विदेशी पर्यटक आइरहेका छन् ।
सन् २०२२ को सुरुवातसँगै पर्यटनमा आशाको किरण देखिन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । जनवरीमा विभिन्न मुलुकबाट १६ हजार नौ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यस्तै, फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ । मार्चमा ४२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन फेब्रुअरीको तुलनामा २२ हजारले बढी हो । यो संख्या कोभिडयताकै सबैभन्दा धेरै भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए ।
पछिल्ला महिनामा भारतीय, अमेरिकन, युके, बंगलादेशलगायत मुलुकका पर्यटकको आगमन बढ्दै गइरहेको छ । तर, चीनले अझै पनि आफ्ना नागरिकलाई भ्रमणमा जान खुला नगर्दा चिनियाँ पर्यटक आगमन नगण्य देखिन्छ । पछिल्लो समय विभिन्न मुलुकबाट दैनिक १५ सयदेखि दुई हजार पर्यटक नेपाल आइरहेको पर्यटन बोर्डको भनाइ छ । भारतमा ‘स्कुल होली डे’ सुरु भएका कारण पनि भारतीय पर्यटक आगमन बढ्दै गएको हानका प्रथम उपाध्यक्ष शाहले बताए । ‘तर, हामीले प्रचारप्रसार गर्न नसक्दा अपेक्षित मात्रामा भारतीय पर्यटक आउन सकेका छैनन्,’ उनले भने ।
कोभिड महामारी घट्दा स्वदेशी तथा विदेशी पर्यटकको मुभमेन्ट बढेको हो । कोभिडले उकुसमुकुस भएर बसेका विदेशी नागरिक संक्रमण फैलिन कम हुँदै गएपछि नेपाल भ्रमणमा आउन थालेको पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीले बताए । ‘महामारी पुनः नफैलिए पर्यटन क्षेत्रले लय समात्न थालिसकेको छ,’ उनले भने, ‘अहिले पर्यटकीय गन्तव्यहरू स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ देखिन थालेका छन् ।’ होटेलमा अमेरिकन र भारतीय पर्यटक सबैभन्दा धेरै रहेको अलफ्टका सञ्चालक श्रेष्ठले बताए । ‘भारतबाट ‘होली डे’ मनाउन आएका छन्, हिमाल आरोहण र ट्रेकिङमा आउने पनि उत्तिकै छन्,’ उनले भने, ‘चैतदेखि नै होटेलमा अकुपेन्सी बढ्न थालेको हो । पाँचतारे म्यारियट र अलफ्ट होटेलले कोभिड महामारीको समयमा पनि आफ्नो सेवा निरन्तर सञ्चालन गरेका थिए । होटेल तथा रिसोर्टमा हुने आन्तरिक कार्यक्रमहरू बढ्दै जाँदा पनि होटेल व्यवसायी उत्साहित बनेको देखिन्छ ।
अहिले पोखरामा सञ्चालित होटेलहरू औसतमा ५० प्रतिशत अकुपेन्सीमा चलिरहेको बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेलले जानकारी दिए । ‘बिदाको दिन होटेल भरिभराउ हुन्छन्, अरू दिन ठिकठिकै हुन्छ,’ उनले भने, ‘समग्रमा भन्दा पर्यटक आगमन उत्साहजनक ढंगले बढिरहेको छ, अब कुनै बिघ्न–बाधा नआए पर्यटन लयमा फर्किन्छ ।’ बाराही ग्रुपले पोखरा र चितवनमा होटेल सञ्चालन गरिरहेको छ, जहाँ ७५ देखि ८० प्रतिशतसम्म अकुपेन्सी रहेको उनले सुनाए । पोखरामा आउने पर्यटकमध्ये करिब ५० प्रतिशत आन्तरिक, ३० प्रतिशत भारतीय र २० प्रतिशत तेस्रो मुलुकका भएको उनले बताए ।
अहिले काठमाडौं, पोखरा, चितवनजस्ता पर्यटकीय केन्द्रहरूमा मात्र होइन, नदीका किनार, डाँडापाखा, जंगलको छेउछाउ, बोर्डर क्षेत्र, हिमाली बेल्ट सबैतिरका होटेलमा पाहुना बढ्न थालेका छन् । भैरहवा, नेपालगन्ज, बर्दिया, धनगढी, महेन्द्रनगर, चितवन, बारा, पर्सा, जनकपुर, विराटनगर, झापालगायत बोर्डर क्षेत्रमा रहेका होटेलहरूमा भारतीय पर्यटक बढ्न थालेको स्थानीय होटेल व्यवसायीहरूले बताए ।
अहिलेसम्म पर्यटन विभागमा १८ वटा पाँचतारे होटेल दर्ता भएका छन्, जसमध्ये अन्नपूर्ण र फूलबारी रिसोर्ट बन्द अवस्थामा छन् । झापाको धुलाबारीमा एक सय एक कोठाको पाँचतारे डिलक्स मेची क्राउन सञ्चालनमा छ । यस्तै, चारतारे होटेल १९, तीनतारे ३३, एकतारे होटेल ३४ र ९९ रिसोर्ट दर्ता भएको विभागका प्रवक्ता मोहनबहादुर जिसीले बताए ।