स्थानीय निर्वाचन र विकासबारे बहस

स्थानीय जनप्रतिनिधिले आफ्नो क्षेत्रमा भौतिक पूर्वाधारलाई मात्र विकासको प्राथमिकतामा राख्दै गर्दा स्वास्थ्य, शिक्षाजस्ता महत्व‍पूर्ण विषय ओझेलमा परिरहेका छन्

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

वधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । ०७२ मा संविधानसभाबाट संविधान जारी भएपश्चात् ०७४ मा सम्पन्न पहिलो स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिएर ३० वैशाखमा नयाँ कार्यकालका लागि निर्वाचन हुँदै छ । 

आवधिक स्थानीय निर्वाचनको यस घडीमा कुनै पक्षलाई दोषी देखाएर विकासको बहस गर्नुभन्दा, विगतका कमी–कमजोरी औँयाउँदै आउँदा दिनका सबल पक्षलाई ध्यानमा राखेर अगाडि बढ्नु जरुरी छ । चुनाव नजिकिँदै गर्दा दलहरू उम्मेदवार चयनमा दौडधुप गरिरहेका छन् । आज (सोमबार) उम्मेदवारहरूको मनोनयनको अन्तिम दिन भएकाले सबैले बिहानसम्म त उम्मेदवारको टुंगो लगाउलान् सायद । 

समाजमा विद्यमान गरिबी, बेरोजगारी, अप्राकृतिक  बसाइसराइ, भ्रष्टाचार, कृषि उत्पादन घट्नु, वातावरणमैत्री विकास गर्न नसक्नु र दूरदर्शी विकासका मोडेल लागू गर्न नसक्नुजस्ता समस्यालाई  स्थानीय निर्वाचनले सम्बोधन गर्न सक्नुपर्छ । तर, यसतर्फ कसैको ध्यान गएको देखिन्न ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको भ्रष्टाचार सूचकांकमा नेपालको सन्तोषजनक प्रगति देखिँदैन । विभिन्न १८० देशमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइटजस्ता विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संघसंस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल सन् २०१७ मा १२२औँ स्थानमा, २०१८ मा १२४औँ स्थानमा, २०१९ मा ११३औँ स्थानमा तथा २०२० र २०२१ मा ११७औँ स्थानमा यथावत् देखिनुले नेपालमा भ्रष्टाचार नियन्त्रण सुधारोन्मुख अवस्थामा रहेको देखिन्न । राज्यका हरेक अंग तथा सार्वजनिक गतिविधिमा भ्रष्टाचार व्याप्त रहेकाले विकासका गतिविधिमा त्यसको प्रत्यक्ष नकारात्मक असर परेको देखिन्छ, जसले जवाफदेहिता, जनसहभागिता र पारदर्शिताजस्ता सुशासनका पक्षलाई कमजोर बनाउँदै राज्यलाई नै कमजोर र असफल बनाउँछ ।

भ्रष्टाचार उन्मूलन देश–विकासको बलियो र प्राथमिक पक्ष भएकाले भ्रष्टाचार निर्मूल गर्दै विकासका गतिविधि अगाडि बढाउन सके मात्र देशले सबै पक्षमा प्रगति गर्न सक्छ । विकेन्द्रीकरणको अभ्यास गर्दै गर्दा सामाजिक, आर्थिक र राजनीतिक गतिविधिमा भएका कमी–कजोरीको पहिचान गरी सुशासन र दिगो विकासलाई प्राथमिकता दिँदै शून्य भ्रष्टाचारउन्मुख कार्यप्रणाली स्थानीय तहमै लागू गर्न सकेमा देशमा विकासको जग बसाउन सकिन्छ । व्याप्त भ्रष्टाचार निर्मूल गर्ने कार्यमा स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिको विशेष भूमिका रहनेमा शंका छैन । 

गरिबीको रेखामुनि रहेका जनतालाई कसरी आत्मनिर्भर व्यवसायमा सामेल गर्न सकिन्छ ? ग्रामीण समुदायबाट सहरकेन्द्रित बसाइँसराइलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? कृषिमा उत्पादकत्व बढाउन स्थानीयस्तरमा केकस्ता नीति आवश्यक छन् ? युवाको बढ्दो विदेश पलायन रोकी स्थानीय स्रोतसाधनकै भरमा रोजगारी कसरी सिर्जना गर्न सकिन्छ ? राज्यबाट प्राप्त हुने सेवा–सुविधामा निम्न वर्गलाई कसरी समेट्न सकिन्छ ? आफ्नो क्षेत्रमा वातावरणमैत्री विकास गर्न कस्तो भूमिका खेल्नुपर्छ ? नीति–निर्माण र कार्यान्वयन गर्दा कसरी स्थायित्व कायम गर्न सकिन्छ ? हरेक विकास निर्माणका कार्यमा जनसहभागिता र पारदर्शिता कसरी कायम गर्न सकिन्छ ? आफ्ने नेतृत्वमा भएका क्रियाकलापमा कसरी जवाफदेही बन्न सकिन्छ ? आफ्नो क्षेत्रमा कस्तो विकास मोडेल सफल हुन सक्छ ? यस्ता यावत् प्रश्नमा स्थानीय तहमा उम्मेदवार बन्ने दौडमा रहेका हरेकको ध्यान जान सकेमा र जनतालाई उचित जवाफ दिन सकेमा मात्र स्थानीय निर्वाचनको अर्थ प्रस्टिन सक्छ । 

अझै पनि ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सफा खानेपानी, बिजुली, यातायात, सञ्चार र सरकारी सेवा–सुविधाको पहुँच सहज छैन । बेरोजगार युवाको विदेश पलायन बढ्दो छ । भएका कृषियोग्य जमिन बाँझै छन् । भएको जमिन बाँझो राखेर स्थानीय किसानसमेत बजारमा भर पर्न थालेका छन् । सुविधाको खोजीमा ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने क्रम बढ्दो छ । तैपनि, हाम्रा स्थानीय जनप्रतिनिधिले यसबारे कुनै चासो दिएको नदेखिनु गम्भीर चिन्ताको विषय हो ।

स्थानीय जनप्रतिनिधिले आफ्नो क्षेत्रमा भौतिक पूर्वाधारलाई मात्र विकासको प्राथमिकतामा राख्दै गर्दा शिक्षा, स्वास्थ्य, आम्दानी र गुणस्तरीय जीवनस्तरजस्ता समग्र मानव विकास सूचकांक र बहुआयामिक गरिबीका पक्षमा आशातीत प्रगति नहुन सक्छ । स्रोत र साधनको चुनौतीका बाबजुद स्थानीय तहबाटै समग्र विकासको नमुना अगाडि बढाउनु अपरिहार्य हुन्छ, तब मात्र समाजवादउन्मुख राजनीतिक व्यवस्थाको कल्पना गर्न सकिन्छ । 

हालै मात्र सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले प्रकाशन गरेको वल्र्ड ह्याप्पिनेस रिपोर्टअनुसार करिब १४६ देशका मानिसमा गरिएको सर्वेक्षणमा नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी राष्ट्रको सूचीमा रहँदै ८४औँ स्थानमा रहेको देखाएको छ । जसले आउँदा दिनमा सुशासन, राजनीति, भ्रष्टाचार, सरकारी सेवा प्रवाह, बेरोजगारीजस्ता पक्षमा अझ सशक्त प्रगति गर्न ध्यान केन्द्रित गरेको छ । यसलाई स्थानीय प्रतिनिधिले आआफ्नो पालिकामा गर्ने र गराउने कार्यसम्पादनले पनि मापन गर्छ ।

विकासका नाममा बेथिति नहोस्, चलिआएको धर्म–संस्कृतिको जगेर्ना होस्, आयातीतभन्दा पनि मौलिक ज्ञान र सिपको उच्चतम प्रयोग होस् । आज उपलब्ध स्रोत भावी पुस्ताले पनि उपभोग गर्न पाऊन् । समाजमा सहिष्णुता कायम रहोस् भन्ने संकल्पसाथ गरिने विकास नै आजको आवश्यकता हो । 

स्थानीय जनताको चाहना, भावना र आवश्यकता बुझ्दै आफ्नो तहमा दीर्घकालीन विकासको लहर ल्याउन सक्ने सक्षम र विकासप्रेमी जनप्रतिनिधि आजको आवश्यकता हो । आममतदाताले पनि गरिब, निमुखा जनतालाई समेत विकासको मूलधारमा ल्याएर न्यायमूलक, समान र सन्तुलित दिगो विकासको मर्मअनुरूप काम गर्न सक्ने जनप्रतिनिधि छनोट गर्नु जरुरी छ ।

जनप्रतिनिधिबाट दिगो विकासका लक्ष्यअनुरूप प्रस्ट भिजन, योजना र लक्ष्य तयार गरी अघि बढ्न सकेको खण्डमा मात्र स्थानीय तहको मुहार फेरिन सक्छ । अन्यथा, यस्ता स्थानीय निर्वाचनको सार्थकता झल्किन्छ । अन्यथा, यस्ता निर्वाचन गरिब राष्ट्रलाई थप गरिब बनाउने खेल मात्र साबित नहोलान् भन्न सकिन्न । 
(थापा इन्जिनियर हुन्)

सुझावित समाचार