काभ्रेको स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले तालमेल गर्ने भएको छ। जिल्लाले गठबन्धनको भागबन्डा मिलाउन नसकेपछि बागमती प्रदेशलाई जिम्मा लगाएकोमा प्रदेशले टुंगो लगाएको हो।
आइतबार बागमती प्रदेशले काभ्रेको भागबन्डा टुंगो लगाएर पठाएको हो। काभ्रे जिल्लामा गठबन्धनबीच नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय तहको निर्वाचनको लागि तालमेत गर्ने सहमति भएका हो।
प्रदेशमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले नगरपालिकातर्फ बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल र गाउँपालिकातर्फ बेथानचोक, रोसी र तेमालमा प्रमुख पद पाएको छ। कांग्रेसले प्रमुख पद ७ स्थानीय तहमा पाएको हो। माओवादी केन्द्रले महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका, चौरी देउराली गाउँपालिका र भुम्लु गाउँपालिका गरी ४ स्थानीय तहको प्रमुख पाएको छ। त्यस्तै एकीकृत समाजवादी धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुखमा सहमति भएको छ।
गठबन्धन दलहरूबीच उपप्रमुखमा नेपाली कांग्रेसले महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, भुम्लु गाउँपालिका र चौरी देउराली गाउँपालिकामा पाएका छन् भने नगरपालिकातर्फ धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा गरी ६ स्थानीय तहमा उपप्रमुख पद पाएका छन्। माओवादी केन्द्रले तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, रोसी गाउँपालिका र नगरपालिकातर्फ नमोबुद्ध र पाँचखालमा गरी ५ स्थानीय तहमा उपप्रमुख लिएका छन्। समाजवादीले बनेपा नगरपालिका र पनौती नगरपालिकामा उपप्रमुख पाएका छन्।