भीमदत्त नगरको मेयरका लागि इन्जिनियर कोमलबहादुर सिंहले छलिया नाच र पञ्चेबाजासहित उम्मेदवारी दर्ता गराएका छन्। सिंहले महेन्द्रनगर बजारदेखि निर्वाचन अधिकृतको कार्यालसम्म छलिया नाच, पञ्चेबाजासहित र्याली निकालेर उम्मेदवारी दर्ता गराएका हुन्।
स्वतन्त्रमा सिंहसँगै कञ्चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता जारी छ। पहिलो दिन ठूला राजनीतिक दलले कञ्चनपुरमा उम्मेदवारी दर्ता गराएका छैनन्। ठूला दलको उम्मेदवारहरू नै नटुंगिएकाले उनीहरूको उम्मेदवारी दोस्रो दिन (सोमबार) मात्र दर्ता हुने देखिएको छ।
पहिलो दिन साना दल एवं स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराइरहेका छन्। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय निर्धारण गरेको छ। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनबाट कञ्चनपुरमा नाै पालिकासहित ९२ वडाका लागि चार सय ७८ जनप्रतिनिधि चुनिनेछन्।