काभ्रे जिल्लामा सत्तारुढ दलबीच गठबन्धन हुने सम्भावन न्यून हुँदै गएको छ। मनोनयन दर्ताको पहिलो दिनसम्म दलहरूले लिने सिटसंख्या नै सहमति हुन सकेका छैनन्। दलहरूले लिने सिटसंख्या नै टुंगो नलागेपछि उम्मेदवारबारे छलफल नै भएको छैन। एकले अर्कालाई बढी सिट मागेको भन्दै ‘एक्ला–एक्लै’ लड्नुपर्ने बहससमेत हुन थालेको छ।
जिल्लामा दलहरूले पाउने स्थानीय तहको संख्या टुंगो लगाउन नसकेपछि प्रदेशस्थित संयन्त्रलाई जिम्मा दिने निर्णय गरिएको थियो। जिल्लाका नेताहरूले गठबन्धन हुने सम्भावना कम भएको बताएका छन्। ‘पछिल्लो समयमा काभ्रेमा गठबन्धन हुने सम्भावन झिनो छ,’ नेपाली कांग्रेस काभ्रेका एक नेताले भने।
त्यस्तै, अर्का नेताले गठबन्धनका लागि नेकपा माओवादी र नेकपा एमालेको जिल्लामा छलफल भइरकाले पनि सत्तारुढ दल गठबन्धन हुने सम्भावना कम भएको बताएका छन्। ‘काभ्रेमा गठबन्धन हुने सम्भावना सारै कम छ,’ ती नेताले भने, ‘जिल्लामा एमाले र माओवादी केन्द्रको बैठक बसिरहेको छ भन्ने सुनेको छु। त्यसकारण पनि सत्तारुढ गठबन्धन हुने सम्भावना कम छ।’
गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १३ वटै पालिकामा पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवार आफ्नो संयन्त्रमा सिफारिस भने गरिसकेका छन्।
सत्तागठबन्धनमा १३ स्थानीय पालिकामध्ये कांग्रेसले नाै, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले चार र जनता समाजवादी पार्टी एक स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको बुझिएको छ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले सात, कांग्रेस चार र माओवादी केन्द्र दुई स्थानीय तहमा विजयी भएका थिए। एमाले फुटेपछि मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ एकीकृत समाजवादीतर्फ छन्।
भुम्लुमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्र गठबन्धन
जिल्लाको भुम्लु गाउँपालिकामा नेपाली कांग्रेसबाहेक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच मात्र गठबन्धन भएको छ। उनीहरूले गठबन्धन गरी उम्मेदवार पनि टुंगो लागेको छ।
उक्त गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट अध्यक्षमा र समाजवादीबाट उपाध्यक्ष लिने सहमति भएको छ। दुई पार्टीबीच पाँच–पाँचवटा वडा लिने र एउटा वडाको अवस्था हेरेर सहमति गर्ने विषयमा सहमति भएको छ।