संखुवासभामा गठबन्धन दलबीच सहमति

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

संखुवासभामा सत्तागठबन्धनका दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । पाँचदलीय सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच गठबन्धन गर्ने सहमति भएको हो । 

कांग्रेसका जिल्ला सभापति दीपक खड्काले संखुवासभाका १० वटा पालिकामध्ये सातवटा पालिकामा गठबन्धन गर्ने सहमति भएको जानकारी दिए । खड्काका अनुसार भोटखोला, सभापोखरी, खाँदबारी, पाँखपचन, चैनपुर, मादी र धर्मदेवी नगरपालिकामा गठबन्धन गर्ने सहमति भएको हो । कांग्रेसले सभापोखरी गाउँपालिका, खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र धर्मदेवी नगरपालिका गरी पाँच पालिकामा प्रमुख तथा  भोटखोला गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकामा उपप्रमुख पाउने गरी तालमेलको सहमति भएको हो । त्यसैगरी नेकपा माओवादी केन्द्रले मादी नगरपालिकामा प्रमुख, खाँदबारी र चैनपुरमा उपप्रमुख पाउने भएको छ । नेकपा एकीकृत समाजवादीले भोटखोला गाउँपालिका प्रमुख, सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिकामा उपप्रमुख पाउने भएको छ । 
    
जिल्लाका सबै पालिकामा गठबन्धनको तर्फबाट निर्वाचन परिचालन समितिसमेत गठन गर्ने सहमति भएको छ । केही दिनअगाडि संखुवासभामा चार दलबीच गठबन्धन नहुने भन्दै कांग्रेस र माओवादीले बेग्लाबेग्लै विज्ञप्तिसमेत सार्वजनिक गरेका थिए । तर, अन्तिम छलफलपछि सहमति जुटेको हो । जिल्लाका अन्य पालिकामा भने दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेताहरूले बताएका छन् । 

सुझावित समाचार