सत्तागठबन्धनलाई जिल्लामा भागबन्डा गर्न झन् सकस

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मधेस, गण्डकी र कर्णाली प्रदेशका जिल्लामा भागबन्डा टुंगो लागेको छैन । प्रदेश १ का संखुवासभा, खोटाङ र ओखलढुंगा, बागमतीमा दोलखा, लुम्बिनीमा पाल्पा र सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला, बैतडी र कैलालीमा भागबन्डाको सहमति भएको छ ।

प्रदेश १ मा ओखलढुंगा, खोटाङ र संखुवासभामा मात्र तालमेलको टुंगो 
सत्तारूढ पाँचदलीय गठबन्धनले प्रदेश १ मा ओखलढुंगा, खोटाङ र संखुवासभामा मात्र तालमेलको टुंगो लगाएका छन् । तर, त्यसलाई गठबन्धनले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् । मोरङको विराटगनगर महानगरपालिकामा मेयर कांग्रेस र उपमेयर जसपालाई दिने गठबन्धनबीच भागबन्डा भएको छ । तर, जसपाले मेयर र उपमेयर अलग्गै सिफारिस गरेपछि सहमति भाँडिएको छ । माओवादीले पनि अलग्गै मेयर, उपमेयर सिफारिस गरिसकेको छ । 

मोरङको विराटनगर महानगरपालिकाबाहेक अन्य तहमा टुंगिन सकेको छैन । महानगरमा पनि वडामा सहमति जुट्न सकेको छैन । झापा, इलाम, सोलुखम्बु, ताप्लेजुङ, भोजपुर, पाँचथर, तेह्रथुम, धनकुटा, उदयपुरलगायतका जिल्लामा पनि दलहरूबीच सहमति जुट्न बाँकी छ । सुनसरीको धरान उपमहानगरमा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी सहमति भएको छ । इटहरीमा उपमहानगरपालिकामा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर लिने सहमति छ । तर, वडामा कुनै सहमति भएको छैन ।

खोटाङका दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तहमध्ये ६ वटामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच भागबन्डाको सहमति जुटेको छ । दुई नगरपालिका र दुई गाउँपालिकामा कांग्रेस आफैँ चुनाव लड्ने भएको छ । तर, भागबन्डा भएका स्थानीय तहको नाम सार्वजनिक गरिएको छैन । ओखलढुंगामा आठ पालिकामध्ये एउटा गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख र तीन गाउँपालिका उपप्रमुख माओवादी तथा बाँकी सात स्थानीय तहको प्रमुख कांग्रेसले लिएको छ । 

संखुवासभाका १० वटा पालिकामध्ये सातवटा पालिका भोटखोला, सभापोखरी, खाँदबारी, पाँचखपन, चैनपुर, मादी र धर्मदेवी नगरपालिकामा गठबन्धन गर्ने सहमति भएको छ । कांग्रेसले सभापोखरी गाउँपालिका, खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र धर्मदेवी नगरपालिका गरी पाँचवटा पालिकामा प्रमुख लिने सहमति भएको छ । भोटखोला गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकामा कांग्रेसले उपप्रमुख पाउने भएको छ । माओवादी केन्द्रले मादी नगरपालिका प्रमुख, खाँदबारी र चैनपुर उपप्रमुख पाउने भएको छ । एकीकृत समाजवादीले एक प्रमुख र दुई उपप्रमुख पाउने भएको छ । 

मधेसमा पूर्ण गठबन्धन हुने सम्भावना न्यून 
मधेस प्रदेशमा सत्तारूढ दलहरूबीच चुनावी गठबन्धन हुन सकेको छैन । सत्तारूढ दलहरूबीच स्थानीय तहको सिट भागबन्डाका लागि पटक–पटक बैठक बसे पनि शनिबार रातिसम्म कुनै निर्णय हुन सकेको छैन । केन्द्रले मधेस प्रदेशका एक महानगरपालिका, वीरगन्ज र जनकपुरधाम उपमहनगरपालिकामा जनता समाजवादी पार्टी, कलैया नगरपालिकामा कांग्रेस, सिमरा जितपुरमा माओवादी केन्द्रले नेतृत्व लिने सहमति गरेको छ । तर, त्यसबाहेक अन्य पालिकामा प्रदेशस्तरबाट गरिने गठबन्धन अहिलेसम्म हुन सकेको छैन ।

एकीकृत समाजवादीका मधेस प्रदेश अध्यक्ष रामचरित्र यादवले अहिलेसम्म पालिका बाँडफाँटमा सहमति नभए पनि गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भएको बताए । ‘अहिलेसम्म १३२ मध्ये कुन पार्टीले कति स्थानीय तह पाउने, त्यो निर्णय हुन सकेको छैन । तर, सामान्य रूपमा अहिले पहिले जुन पार्टीले पालिकामा जितेका थिए, त्यही पार्टीलाई नेतृत्व दिने र जुन पालिकाबाट एमाले र लोसपालगायतका दलहरूले जितेका छन्, त्यसमा गठबन्धन गर्ने मोटामोटी सहमति भएको छ,’ उनले भने । कांग्रेसका एक केन्द्रीय नेताले गठबन्धन दलहरूबीच पालिका भागबन्डामा कुरा नमिलेपछि मधेस प्रदेशमा पूर्ण गठबन्धन हुने सम्भावना कम रहेको बताए । ‘सबै दल आफ्नो अडानबाट टसमस भएका छैनन्, आफ्नो संगठन बलियो रहेको बताउँछन्,’ उनले भने, ‘यस्तोमा कसरी गठबन्धन हुन्छ ? दलहरूले आफ्नो वास्तविक अवस्था नबुझेसम्म गठबन्धन सम्भव छैन । आइतबार बिहानसम्म कुरा नमिले मधेस प्रदेशमा पूर्ण गठबन्धन हुँदैन ।’ 

बागमतीमा दोलखामा मात्रै टुंगियो भागबन्डा
बागमती प्रदेशको स्थानीय तहमा गठबन्धनले भागबन्डा टुंग्याउन सकेको छैन । तीन महानगर, एक उपमहानगर, ४२ नगर र ७३ गाउँपालिका रहेको बागमतीमा महानगर र उपमहानगर केन्द्रबाट टुंगो लगाए पनि प्रदेश तहबाट नगर र गाउँपालिकामा भागबन्डा टुंगिन नसकेको हो ।

शुक्रबार र शनिबार बसेको गठबन्धनको बैठकले दोलखाका सबै स्थानीय तहबाहेक बाँकी १२ जिल्लाका स्थानीय तहहरूको भागबन्डा गर्न सकेको छैन । शुक्रबार दोलखाको भागबन्डा टुंगिए पनि शनिबार रातिसम्म बाँकी १२ जिल्लाको तालमेलमा सहमति हुन नसकेको जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सोनामसिं स्याङ्तानले बताए । उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, रसुवा, नुवाकोट, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ र रामेछापका नगर र गाउँपालिकाको भागबन्डामा सहमति हुन सकेको छैन । ‘शनिबार रातिसम्म १२ जिल्लाबारे तालमेलका लागि भागबन्डामा सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो,’ उनले भने, ‘प्याकेजमा छलफल हुँदा सहमति हुन सकेन, अब आइतबार जिल्लागत छलफल हुनेछ ।’

भागबन्डामा सहमति जुट्न नसके मित्रवत् प्रतिस्पर्धामा जाने र छुट्टाछुट्टै उम्मेदवार खडा गर्नेबारेसमेत छोटो छलफल भएको उनले बताए । गठबन्धनमा कांग्रेसले ५० प्रतिशतभन्दा बढी, माओवादी केन्द्रले ६० वटा स्थानीय तह, एकीकृत समाजवादीले ४० भन्दा बढी र जसपाले २० भन्दा बढी स्थानीय तहमा आफ्नो नेतृत्व माग गरेका छन् । दलहरूले बढी स्थानीय तह माग गर्दा सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रबाट काठमाडौं, ललितपुर, भरतपुर महानगर र हेटौँडा उपमहानगरको प्रमुख, उपप्रमुखबारे छिनोफानो भइसकेको छ । काठमाडौं र ललितपुरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र र हेटौँडामा एकीकृत समाजवादीले प्रमुख पाउने गरी तीन दिनअघि नै छिनोफानो भएको हो । हेटौँडामा एकीकृत समाजवादीले वर्तमान उपमेयर मीनाकुमारी लामालाई प्रमुखको उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेको छ । 

गण्डकीमा पहिलो दिन उम्मेदवारी नदिने समझदारी
गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेको सत्तागठबन्धन उम्मेदवारी मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म कुनै निर्णयमा पुग्न सकेन । सबै पालिकाको रिपोर्ट आएको, तर फाइनल भने भइनसकेको कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले बताए । उनका अनुसार गण्डकी प्रदेशका कुनै पनि स्थानीय तहमा मनोनयनको पहिलो दिन आइतबार गठबन्धनबाट उम्मेदवारी नदिने समझदारी बनेको छ । शर्माले अन्तिम निष्कर्षमा पुग्न मात्र बाँकी रहेको र त्यो सबै जिल्लामा सहमतिका लागि पठाइएको दाबी गरे । 

कुन दललाई कुन पालिका भन्ने विषयमा अन्तिम टुंगो आइतबार दिउँसो २ बजेसम्म लगाइने राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संयोजक शंकर बरालले जानकारी दिए । उनका अनुसार प्रदेशका चार–पाँचवटा पालिकामा दलहरूले अडान छाडेका छैनन् । 

माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य विश्वप्रकाश लामिछानेले आफूहरू प्रदेशभरकै ड्राफ्ट बनाउने तयारीमै लागिसकेकाले आइतबार बिहानसम्म निष्कर्ष सुनाउने अवस्थामा आइपुगेको बताए । प्रदेशका कुनै पनि पालिकामा समस्या नहुने दाबी गरेका उनले आइतबार बिहानसम्ममा सबै जानकारी दिने ठाउँमा आफूहरू हुने दाबी गरे ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्ला नेताहरूले प्रदेशको सन्देश लिएर जिल्लामा नेताहरू फर्कने क्रममा रहेकाले राति पनि बैठक बसेर टुंगोमा पुर्याउने बताए । एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले कांग्रेसका नेताहरूलाई कुरेर आफूहरू बसेको र फर्कनासाथ वार्ता बसेर टुंग्याउने दाबी गरे । ‘अहिले नै यतिउति भन्ने अवस्था छैन । उहाँहरू (कांग्रेसहरू) फर्केपछि छलफल गरौँला भनेर कुरेका छौँ,’ उनले भने । 

कांग्रेस मुस्ताङका अध्यक्ष रोमी गौचन थकालीले आफ्नो जिल्लामा पालिका प्रमुख र उपप्रमुख सबै टुंग्याइएको, तर अहिले नै गठबन्धनको सहमतिविपरीत जानकारी आफूले दिन नसक्ने बताए । ‘हामीले हाम्रो जिल्लाका सबै पालिकामा टुंगो लगाएका छौँ । यति भनेँ, गठबन्धनको समझदारीविपरीत मैले सबै सहमति बताउन सक्दिनँ,’ उनले भने । पोखरा महानगरपालिका (मेयर समाजवादीबाट धनराज आचार्य, उपमेयर कांग्रेसबाट टुंगो लागिसकेको छैन) वडाहरूमा पनि एक ढंगको मोटामोटी सहमति भए पनि निष्कर्षमा नपुगिएको उनले बताए ।

लुम्बिनीमा पाल्पामा मात्रै सहमति 
स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तागठबन्धनबीच सीमित तहमा मात्रै सहमति जुटेपछि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । गठबन्धनको केन्द्रबाट टुंगिएको चारवटा उपमहानगरपालिकाबाहेक पाल्पाका सबै तहमा सहमति जुटेको छ । गुल्मी र अर्घाखाँचीमा पनि सहमतिको नजिक पुगेको नेताहरूको भनाइ छ । बाँकी जिल्लामा सहमति जुट्न नसकेपछि गठबन्धनका दलहरू आन्तरिक तयारीमा जुटेका हुन् । 

सहमतिका लागि प्रदेश गठबन्धनले छलफल तथा बैठकलाई तीव्रता दिँदै आए पनि शनिबार गठबन्धनको बैठक नै बस्न सकेन । सहमतिको सम्भावना टर्दै गएपछि आ–आफ्नै तयारीमा व्यस्त रहेको गठबन्धनका नेताहरूले बताएका छन् । जसपा प्रदेश अध्यक्ष अशोक यादवले गठबन्धन टुंगोमा पुग्ने सम्भावना नदेखिएकाले शनिबार आन्तरिक तयारीमा पार्टी व्यस्त भएको बताए । 

एकीकृत समाजवादीका प्रदेश कमिटीका सचिव राजु गुरुङले शनिबार गठबन्धनको बैठक नबसेको भन्दै आन्तरिक तयारीमा पार्टी जुटेको बताए । यथार्थ अवस्थाभन्दा बढी मूल्यांकन केही दलले गर्दा समस्या भएको उनले बताए । एकीकृत समाजवादीको राम्रो उपस्थिति रहेको तहमा पनि सम्मानजनक सहभागिताका लागि ठाउँ दिन नखोजेका कारण पार्टी आफ्नै उम्मेदवार खडा गर्ने गरी तयारीमा जुटेको उनले बताए । उनले कुनै–कुनै तहमा जसपा तथा राजमोसँग समेत तालमेलको सम्भावना रहेको बताए । कांग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष भुवन श्रेष्ठले पाल्पामा सहमति भएको र गुल्मी र अर्घाखाँचीमा नमिलेका कुरा मिलाइएको दाबी गरे । उनले शनिबार पार्टीको संसदीय बोर्डको बैठक बसेको र उम्मेदवारका बारेमा छलफल गरेको बताए ।  

कर्णालीमा गठबन्धन दलहरूबीच आ–आफ्नै दाबी
कर्णाली प्रदेशका स्थानीय तहमा सत्तारूढ गठबन्धनले भागबन्डा मिलाउन सकेका छैनन् । प्रदेशका ७९ वटा पालिकामध्ये कांग्रेसले ५० वटा पालिकामा दाबी गरेपछि सत्तागठबन्धन दलहरूबीच सहमति हुन नसकेको हो । गठबन्धन दलहरूबीच सहमति नहुँदा कर्णालीका १० वटै जिल्लामा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । सल्यानमा यसअघि नै गठबन्धनमा रहेका दलहरू कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले छुट्टाछुट्टै चुनावी मैदानमा भिड्ने सहमति गरिसकेका छन् । 

कर्णाली प्रदेशमा अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीले २५–२५ वटा पालिका जितेका थिए । एमालेले २७ वटा पालिका जितेको थियो । दुइटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । माओवादी र कांग्रेसले एमालेले जितेका ठाउँमा भागबन्डा गर्नुपर्ने अडान राखेका छन् भने एकीकृत समाजवादीले एमालेले जितेका ठाउँमा आफूले पाउनुपर्ने अडान राखेको छ । एमालेले जितेका २७ पालिकामध्ये पाँचवटा पालिका अध्यक्ष तथा प्रमुखहरूले एकीकृत समाजवादी रोजेका छन् । 

माओवादी केन्द्र सुर्खेत र दैलेख जिल्लामा कुनै स्थानीय तहमा विजयी हुन सकेको थिएन । अहिले कांग्रेसले कालीकोटमा चारवटा स्थानीय तह र रुकुमपश्चिममा तीनवटा स्थानीय तह पाउनुपर्ने माग गर्दै आएको छ भने माओवादीले सुर्खेतमा तीनवटा स्थानीय तह र दैलेखमा तीनवटा स्थानीय तहमा आफूले प्रमुख पाउनुपर्ने माग गर्दै आएका कारण समस्या भएको सत्तागठबन्धन दलका नेताहरूले बताउने गरेका छन् । गठबन्धन दलहरूबीच निरन्तर छलफल भइरहेको, तर टुंगोमा पुग्न नसकिएको माओवादी केन्द्रका सुर्र्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्लले बताए ।  

सुदूरपश्चिममा ८८ मध्ये २५ तहमा गठबन्धनबीच तालमेल
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार रातिसम्म सुदूरपश्चिममा सत्तारूढ गठबन्धनले भागबन्डा टुंग्याउन सकेको छैन । सुदूरपश्चिमका ८८ मध्ये २५ स्थानीय तहमा मात्रै तालमेलको सहमति भएको छ । बझाङका १२, दार्चुलाका नौ, बैतडीका तीन र कैलालीको एक तहमा सहमति जुटेको हो ।

गठबन्धनको प्रदेशस्तरको बैठक शनिबार दिनभर बसे पनि सहमति जुट्न सकेन । कैलाली, डोटी, कञ्चनपुरलगायत जिल्लामा सहमति जुट्न नसकेपछि सहमति जुटाउने जिम्मा गठबन्धनको प्रदेश संयन्त्रलाई दिइएको थियो । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी आ–आफ्नो दाबीबाट पछि नहटेपछि स्थानीय तहको नेतृत्व भागबन्डा गर्न सकस भएको हो ।

शनिबारसम्म थप सहमति नभएको वार्तामा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरमान चौधरीले बताए । ‘आज कुनै पनि सहमति हुन सकेन, भोलि पनि सहमतिको प्रयास जारी राख्छौँ,’ उनले भने । गठबन्धन हुने सम्भावना न्यून भएपछि दलहरूले आ–आफ्ना उम्मेदवार तय गर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामै गठबन्धनबीच भागबन्डामा सहमति जुटेको छैन । सहमति हुन नसकेपछि जिल्लास्थित गठबन्धनको बैठकले आपसमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । 

कांग्रेस डडेल्धुराका उपसभापति डिल्ली जोशीले गठबन्धनमा सहमतिको सम्भावना नदेखिएकाले आफ्नो पार्टीले सबै पालिकामा उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको बताए । ‘पटक–पटक छलफल गर्यौँ, तर सहमति जुटेन,’ उनले भने, ‘एक्लैएक्लै लड्दा पनि गठबन्धनभित्रकै दलले जित्ने अवस्था छ । त्यसैले आपसमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौँ ।’ गठबन्धनभित्र जुनसुकै दलबीच तालमेल गर्न सकिने, तर गठबन्धनबाहिरका दलसँग भने तालमेल गर्न नपाइने निर्णय पनि गठबन्धनको बैठकले गरेको उपसभापति जोशीले जानकारी दिए । माओवादी प्रदेश इन्चार्ज खगराज भट्ट र एकीकृत समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाहीको गृहजिल्लासमेत रहेको डडेल्धुराका सातवटा तहमध्ये कांग्रेसले पाँच, माओवादीले तीन र एकीकृत समाजवादीले दुई तहमा नेतृत्व दाबी गरेका छन् । 

दोलखामा गठबन्धनबीच भागबन्डा

जिरी नगरपालिका
प्रमुख : कांग्रेस
उपप्रमुख : माओवादी केन्द्र

भीमेश्वर नगरपालिका
प्रमुख : कांग्रेस
उपप्रमुख : एकीकृत समाजवादी

कालिञ्चोक गाउँपालिका
अध्यक्ष : कांग्रेस
उपाध्यक्ष : माओवादी केन्द्र

गौरीशंकर गाउँपालिका
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : कांग्रेस

तामाकोसी गाउँपालिका
अध्यक्ष : एकीकृत समाजवादी
उपाध्यक्ष : कांग्रेस

बैतेश्वर गाउँपालिका
अध्यक्ष : कांग्रेस
उपाध्यक्ष : माओवादी केन्द्र

शैलुङ गाउँपालिका
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : कांग्रेस

मैलुङ गाउँपालिका
अध्यक्ष : एकीकृत समाजवादी
उपाध्यक्ष : कांग्रेस

बिगु गाउँपालिका
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : कांग्रेस 

विराटनगरबाट गणेश लम्साल, जनकपुरधामबाट हदिश खुद्दार, हेटौँडाबाट सुदीप सिवाकोटी, पोखराबाट गोविन्द सुवेदी, बुटवलबाट विष्णु घिमिरे, सुर्खेतबाट रमेश रावल र धनगढीबाट तेजराज भट्ट

सम्पादकको रोजाइ

सुझावित समाचार