नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको प्रस्तावित नामबारे छलफल थालेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी शीर्ष नेता तथा पदाधिकारीको बैठकमा ६ महानगरपालिकाबाट आएका नामबारे छलफल भइरहेको छ।
कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार शुक्रबार जारी बैठकमा यसबारे छलफल भइरहेको छ। ‘महानगरका मेयर र उपमेयरका सम्बन्धमा सिफारिस भएर आएका नामलाई बैठकमा प्रस्ताव गरिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘बैठकमा छलफल गछौँ र यसलाई भोलि बस्ने कार्यसम्पादन समितिले टुंगो लगाउँछ।’
बैठकले सहमति जुटाउन नसकेपछि आजका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकसमेत भोलिलाई सरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज २ बजेका लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेलाई सारिएको हो।
कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाएको थियो। कांग्रेसको विधानको व्यवस्थाअनुसार महानगरपालिकाका मेयर र उपमेयरको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रलाई छ । बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर, नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगाायतको सहभागिता रहेको छ।