वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरका आठै पालिकामा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ। पालिका भागबन्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेल नहुने भएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो) आबद्ध रहेको गठबन्धनबीच चुनावी तालमेल उदयपुरमा मिश्रित हुने भएको छ । शुक्रबार बसेको प्रदेश संयन्त्रको बैठकले चौदण्डीगढी र त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै लड्ने र ताप्ली गाउँपालिकामा जसपा एक्लै लड्ने निर्णय भएको कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले बताए ।
कार्कीका अनुसार ताप्ली गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र नेकपा एसबीच तालमेल हुने भएको छ । उनले भने, ‘बेलका र कटारी नगरपालिका, उदयपुरगढी, रौतामाई, लिम्चुङबुङ गाउँपालिकाको भागबन्डा टुंगिन सकेको छैन छलफल जारी छ ।’
यता त्रियुगा नगरपालिकामा नेकपा एस, माओवादी केन्द्र, जसपा र राजमोबीच गठबन्धन गर्ने तयारी सुरु भएको नेकपा एस उदयपुरका अध्यक्ष राममणि पोखरेलले बताए । ‘त्रियुगा नगरपालिकामा कांग्रेसले दाबी नछाडेपछि हामी गठबन्धनमा आबद्ध कांग्रेस इतरका दलहरू गठबन्धन गरेर लड्ने तयारी गरेका छौँ,’ पोखरेलले भने । चौदण्डीगढी नगरपालिकामा माओवादी केन्द्र नेकपा एस, जसपा र राजमोबीच तालमेल हुने भएको छ ।
कटारी नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रको दाबी यथावत छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष विनोद कटुवालले माओवादी केन्द्रले चार नगरपालिकामध्ये एउटा नगरपालिका पाउनुपर्ने दाबी गर्दै कटारी नगरपालिका नछाड्ने बताए । ‘दुई नगरपालिकामा कांग्रेस एक्लै लड्ने दाबी गर्दै गठबन्धनबाट पछि हटिसकेको छ, ’उनले भने, ‘कटारीमा हाम्रो दाबी कायम छ, निर्णय हुन बाँकी छ ।’ पालिकाबाट उम्मेदवारको नाम संकलन गरेर बसेका गठबन्धनमा आबद्ध दलहरू पालिकाअनुसार चुनावी तालमेल गर्ने पक्षमा पुगेका छन् ।