नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा उम्मेदवार छिट्टै टुंगो लगाउने बताएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार र चुनावी विषयमा छलफल तथा आवश्यक निर्णय गरेको हो।
बैठकमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्ने, त्यसलगत्तै स्थानीय तह निर्वाचनको लागि तयार पारिएको चुनावी घोषणा-पत्र सार्वजनिक गर्ने र कम्युनिस्ट योद्धाको सम्मान गर्ने निर्णय भएको पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी गराए।
केही स्थानीय तहमा उम्मेदवार चयन भइसकेको भए पनि त्यसबारेमा पार्टीले ठोस निर्णय नगरेको उनले बताए। चयन भइसकेका र बाँकी रहेका स्थानीय तहमा उम्मेदवारको ठोस टुंगो लगाउने विषयमा पनि बैठकमा छलफल भएको छ। यस सन्दर्भमा पार्टीका शीर्ष नेताबीच छलफल भइरहेको उनले बताए। ‘उम्मेदवारको सिफारिसमाथि छलफल भइरहेको छ,’ उनले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा तल्लो तहबाट आएको सिफारिसबारेको जानकारी पार्टी अध्यक्षलाई गराइसकेका छौँ।’ उनले कुनै पनि उम्मेदवारको सन्दर्भमा ठोस निर्णय भने भइनसकेको बताए।
गुरुङका अनुसार पोखरा महानगरमा पार्टीको तल्लो तहले १२ जनाको नाम सिफारिस गरेको छ। ललितपुर र वीरगन्जमा भने एमालेका तर्फबाट उम्मेदवार चयन भइसकेका छन्। तर, त्यसबारेमा पनि ठोस छलफल हुने उनले जानकारी दिए। गुरुङले अन्य पार्टीसँग तालमेलको विषयमा पनि आजको बैठकमा छलफल भएको जानकारी दिए। छलफलअनुसार महानगर र उपमहानगरमा अन्य पार्टीसँग तालमेल गर्ने सम्भावमा कम देखिएको उनको भनाइ छ। तल्लो तहमा भने आवश्यकताअनुसार तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको उनले बताए।