मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र पालिकास्तरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। बिहीबार एक कार्यक्रमबीच सदरमुकामस्थित जिल्ला अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

त्यसैगरी, सोरु गाउँपालिकाको सोरुकोट, खत्याड गाउँपालिकाको राम्तडी  र मुगुम कार्मारोङ गाउँपालिकाको पुलुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मीलगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

तोकिएकै समयमा निर्वाचन गर्न जिल्लाका चारवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश पुण्यप्रसाद सापकोटाले बताए। प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा नौजनाका दरले कर्मचारी खटाइएको छ।

लोकतन्त्रको मुख्य खम्बा मानिएको निर्वाचनलाई मर्यादित र भयरहित बनाउन दलहरूको मुख्य भूमिका रहने उनको भनाइ छ। स्थानीय निर्वाचनका लागि मतदान केन्द्रमा दुई सय ९७ कर्मचारी खटाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सुझावित समाचार