आकर्षक नारासहित दलहरूका घोषणापत्र
जनता समाजवादी पार्टीले दुई सय रुपैयाँसम्मको खानेपानी बिल मिनाहा गर्ने घोषणा गरेको छ । जसपाले बुधबार स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै सेवा प्रवाह र विकासका कैयौँ प्रतिबद्धता व्यक्त गरेको छ ।
जसपाले स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । प्रत्येक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोलिने उसको योजना छ । गाउँपालिका र नगरपालिकाका प्रत्येक वार्डमा एकजना चिकित्सक सेवासहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने उल्लेख छ ।
प्रत्येक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था, ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा, एकल, असहाय वा परिवारबाट उपेक्षित ज्येष्ठ नागरिकका लागि स्याहारसुसार गर्ने व्यवस्थासहितको विशेष आवासगृह
जसपाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिने बताएको छ । त्यस्तै, एकल, असहाय वा परिवारबाट उपेक्षित ज्येष्ठ नागरिकका लागि स्याहारसुसार गर्ने व्यवस्थासहितको विशेष आवासगृहको निर्माण गर्ने उल्लेख छ ।
गर्भवती महिला, १० वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने कुनै पनि यातायात सेवामा भाडा नलिने जसपाको प्रतिबद्धता छ । शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गरिने जसपाको भनाइ छ । ‘शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गरिनेछ । त्यसका लागि श्रम, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न जोड गरिनेछ । माद्यमिक विद्यालय तहसम्मको शिक्षालाई व्यावहारिक रूपमा निःशुल्क र गुणस्तरीय बनाइनेछ,’ घोषणापत्रमा छ, ‘प्रारम्भमा ‘एक पालिका एक मोडेल स्कुल’को अवधारणालाई कार्यान्वयन गरिनेछ । सबै विद्यालयमा कम्प्युटर शिक्षा दिइनेछ ।’
विद्यालय र घरबस्तीको दूरी एक घन्टाभन्दा बढी भएका विद्यार्थीका लागि विद्यालय हाताभित्रै होस्टेल निर्माण अभियान प्रारम्भ गरिने जसपाले जनाएको छ । खेलकुदको क्षेत्रमा जसपाले प्रत्येक गाउँपालिकामा कम्तीमा एक खेल विधाको ग्रामीण स्तरको एक–एक खेलमैदान र रंगशाला निर्माण गरिने बताएको छ ।
कृषिमा लाग्नेहरूलाई तलब दिने पनि जसपाले प्रतिबद्धता व्यक्त गरेको छ । ‘सन् २०३० सम्म लागू हुने गरी व्यावसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने, कामदारको तलब तथा उद्यमीहरूको खुद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गरिनेछ,’ घोषणापत्रमा छ । महिला हिंसाको अन्त्यका लागि जसपाले ‘फास्ट ट्र्याक महिला न्याय युनिट’को व्यवस्था हुने बताएको छ । महिलालाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि एक करोडसम्म ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र गरिने योजनासमेत प्रस्तुत गरिएको छ ।
घोषणापत्रमा छ, ‘पालिकाहरूको स्थानीय विशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिनेछ । पालिकाको केन्द्र र वार्ड केन्द्रहरू जोड्ने सडकहरू बनाइनेछ । चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, बस्ती तथा टोल लिंक रोड बनाइनेछ ।’ सबै पालिकामा एक बसपार्क बनाइने र महानगरमा नगर रेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने जसपाको लक्ष्य छ । त्यस्तै, आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजारको अनुदान दिइनेसमेत बताइएको छ ।
जसपाले चुनावलक्षित विभिन्न नारासमेत तयार गरेको छ । ‘गाउँ–गाउँ सहर–सहर जाऊँ, जसपा नेपाललाई जिताउँ’, ‘समावेशी नेतृत्व समृद्ध देश, जसपाले जोड्छ, हिमाल, पहाड मधेस’, ‘समावेशी लोकतन्त्र सबैको विकास, जसपाले दिन्छ देशको निकास’ लगायतका नारासहित चुनावमा जाने जसपाको भनाइ छ ।