धनगढी : उम्मेदवारका आकांक्षी धेरै हुँदा दलहरूलाई तनाव
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयर बन्नका लागि दलहरूभित्र हानथाप छ । आकांक्षी धेरै भएपछि उम्मेदवारको टुंगो लगाउन दलहरूलाई सकस परिरहेको छ ।
कांग्रेसमा सातजनाले मेयरमा आकांक्षा राखेका छन् । नेकपा एमालेले तीनजनाको नाम सिफारिस गरेको छ । उपमहानगरको भागबन्डा केन्द्रीय गठबन्धनले गर्ने र धनगढी कांग्रेसको भागमा पर्ने पूर्ववत अनुमान गर्दै सत्तारूढ गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारमा आकांक्षी देखिएका थिएनन् । मंगलबार अबेरसम्म चलेको गठबन्धनको बैठकले धनगढीको नेतृत्व कांग्रेसलाई नै दिने सहमति गरेको छ । अब मेयरको टिकटका लागि कांग्रेसका आकांक्षीहरूबीच थप घमासान देखिनेछ ।
कांग्रेसमा वर्तमान मेयर नृपबहादुर वड दोहोरिने दाउमा छन् । महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, महासमिति सदस्य हरिश खड्का र निवर्तमान जिल्ला सचिव पूर्ण कुँवरले पनि दाबी पेस गरेका छन् । कांग्रेस भ्रातृ संगठन नेपाल महिला संघका धनगढी नगर अध्यक्ष जागृति बोगटी, नगर सभापति यज्ञराज उपाध्याय र नेता लक्ष्मीदत्त भट्टले पनि मेयरको उम्मेदवारका लागि नगर कमिटीमा दाबी पेस गरेको कांग्रेस नगर सचिव डण्डीराज सुवेदीले जानकारी दिए । कांग्रेसले उम्मेदवारका आकांक्षीसँग आवेदन माग गरेको थियो । सोही क्रममा वड, महरा, खड्का, कुँवर, बोगटी, उपाध्याय र भट्टले दावी पेश गरेका हुन् । कांग्रेसबाट वड नै उम्मेदवार बन्ने सम्भावना बलियो रहेको कांग्रेस वृत्तमा चर्चा छ । महाधिवेशन प्रतिनिधि महराले अघिल्लो चुनावमा पनि मेयरमा दाबी गरेका थिए ।
उपमहानगरमा मेयरको उम्मेदवार केन्द्रबाटै तोकिने भएकाले आकांक्षीको नाम क्षेत्रीय कमिटी हुँदै केन्द्रमा पठाइने मेयरका आकांक्षीसमेत रहेका नगर सभापति उपाध्यायले बताए । ‘मेयरको उम्मेदवारका लागि लिखित रूपमै सातजनाको दाबी छ । कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय केन्द्रले गर्ला,’ उनले भने ।
एमालेमा आठजनाभन्दा बढीले मेयरको उम्मेदवारमा दाबी गरे पनि नगर कमिटीले तीनजनाको नाम जिल्लामा सिफारिस गरेको छ । रणबहादुर रावल, जीवन बम र दुर्गाप्रसाद जोशीको नाम सिफारिस गरिएको एमाले धनगढी नगर कमिटी अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए । रावल एमालेको केन्द्रीय निर्वाचन विभागका सदस्य र बम प्रदेश कमिटी सदस्य हुन् । एमाले कैलालीका उपाध्यक्ष जोशी गत निर्वाचनमा पनि एमालेबाट मेयरको उम्मेदवार बनेर चौथो भएका थिए ।

उपमेयरका उम्मेदवार छान्न पनि हम्मेहम्मे
उपमेयरमा कांग्रेसबाट पुष्पा भट्ट, डम्बरी महरा, निपा चोखाल, सुनीता राना र प्रमिला लम्सालले दाबी गरेका छन् । त्यस्तै, एमालेले जानकी चौधरी, कन्दकला राना र दिप्ती शाही, माओवादीले कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐर तथा समाजवादीले रोजी बस्नेतको नाम उपमेयरमा सिफारिस गरेका छन् । उम्मेदवारको टुंगो नलागे पनि दलहरूले धनगढीमा चुनावी अभियान तीव्र पारेका छन् । घरघरमा गएर मतदाता भेटघाट, आन्तरिक भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू भइरहेका छन् । मेयरमा दोहोरिने दाउमा रहेका वडले केन्द्रले आफूलाई तयारी गर्न भनिसकेको दाबी गरेका छन् । कोरोनालगायत विभिन्न कारणले पाँच वर्षमा सोचेअनुसार काम गर्न नपाएकाले नगरवासीलाई पुनः एकपटक मौका दिन आग्रह गरिरहेको उनले बताएका छन् । जिल्लामा सत्तारूढ दलबीच सिट बाँडफाँटमा कुरा मिल्न नसक्दा गठबन्धन हुनेमा अन्योल छ । यद्यपि, उपमहानगरपालिकामा केन्द्रबाटै गठबन्धन हुनेछ । अघिल्लो निर्वाचनमा जितेको तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको निर्वाचन क्षेत्र भएकाले गठबन्धनको भागबन्डामा धनगढीको नेतृत्व कांग्रेसले पाउने बुझाइ छ ।
स्वतन्त्र उम्मेदवार पनि चर्चामा
दलहरू उम्मेदवार चयनमै अलमलिँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले भने चुनावी अभियान आक्रामक रूपमा सञ्चालन गरिरहेका छन् । निर्वाचनको प्रचार र सामाजिक सञ्जालमा हमालको पक्षमा देखिएको जनमतले उनी बलियो उम्मेदवारका रूपमा देखा परेका छन् ।
धनगढीमा गठबन्धनका उम्मेदवार र हमालबीच कडा प्रतिस्पर्धा हुने नगरवासीको आकलन छ । सत्तारूढ गठबन्धनलाई पनि एमालेभन्दा स्वतन्त्र उम्मेदवारको डर देखिन्छ । ‘एमालेभन्दा स्वतन्त्र उम्मेदवार हमालले टक्कर दिने देखिन्छ,’ गठबन्धनका एक नेताले भने, ‘त्यही आकलन गरेर कांग्रेसले पनि धनगढीमा गठबन्धनमा जोड दिइरहेको छ ।’
०७४ को चुनावमा पनि मेयरमा उम्मेदवारी दिएका हमाल दोस्रो बनेका थिए । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा वड १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमालले ११ हजार ५२७ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी बनेका थिए । माओवादीका उम्मेदवार रामसमझ रानाले १० हजार २०९ र एमालेका दुर्गादत्त जोशीले नौ हजार ९४६ मत पाएर क्रमशः तेस्रो र चौथो भएका थिए ।
मेयरमा निर्वाचित भएपछि उपमहानगरबाट कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हमालले धनगढी विकासको मोडेल बनाउने बताएका छन् । ‘म धनगढीका लागि केही गर्न चाहन्छु । जसरी केजरीवालले दिल्ली मोडेल बनाए, मोदीले गुजरात मोडेल बनाए, म धनगढी मोडेल बनाउन चाहन्छु,’ उनले भने, ‘एउटा मात्रै लक्ष्य धनगढीलाई कसरी बनाउने भन्ने रहनेछ ।’
नेपालगन्ज : मध्यरातसम्म गठबन्धनले भागबन्डा टुंग्याएन
स्थानीय तह निर्वाचनको मनोनयन गर्ने दिन नजिक आइसक्दा ठूला दल उम्मेदवार चयनको अन्तिम कसरतमा छन् । सत्तागठबन्धन दलबीच मंगलबार मध्यरातसम्म नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व कुन दलले गर्ने भन्ने सहमति जुट्न सकेन । नेपालगन्जमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दाबी छोडेका छैनन् । जसपाले केही दिनअघि गठबन्धनसँग सहमति नजुट्ने भन्दै नेपालगन्जसहित बाँकेका चार पालिकामा उम्मेदवार चयन गरिसकेको छ । जसपाले नेपालगन्जको मेयरमा कमरुद्दिन राई र उमेयरमा रमारानी वैश्यलाई उम्मेदवार बनाउने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले मेयरमा मोहमुद आलम सिद्धिकी र उपमेयरमा ममता बनियालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
एमाले बाँकेले २९ चैतमै पशुपतिदयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उपमेयर बनाउने गरी प्रदेश कमिटीसमक्ष सिफारिस गरिसकेको छ । जिल्ला कमिटीको पदाधिकारी बैठकले मिश्र र ढकालको नाम सर्वसम्मत रूपमा निर्णय गरेको हो ।
तर, एमाले नेपालगन्जका अध्यक्ष दत्तप्रसाद आचार्यले मिश्र र ढकाललाई उम्मेदवार बनाउने निर्णयको विरोध गरेका छन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जिल्लाको सिफारिसअनुसार केन्द्रीय सदस्यद्वय पशुपति दयाल मिश्र र शान्तिदेवी ढकालको नाम सिफारिस गरी केन्द्रमा पठाएको जानकारी दिए । त्यसैले मिश्र नै उम्मेदवार बन्ने पक्का भएको छ । एमालेबाट मेयरमा कृष्णप्रसाद श्रेष्ठ, रविन्द्र लम्साल र दत्तप्रसाद आचार्य आकांक्षी थिए । तर, पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले मेयरको टिकट दिने सहमति गर्दै मिश्रलाई पार्टी प्रवेश गराएकाले अरू पछि हटे । उपमेयरमा शान्ति ढकाल, मीना ढकाल, कृष्णा पाठक, सरस्वती मल्ल र रचना श्रेष्ठ आकांक्षी थिए । रचना र पाठकले समर्थन गरेपछि शान्तिको नाम सर्वसम्मत रूपमा पठाएको एमालेले जनाएको छ ।
कांग्रेसबाट मेयरमा १४ आकांक्षीको नाम सिफारिस
नेपालगन्जको मेयरमा कांग्रेसबाट १४ आकांक्षी छन् । सबैको नाम सिफारिस गरी केन्द्रमा पठाइएको जिल्ला सभापति नारायणप्रसाद गौडेलले जानकारी दिए । धेरैजनाले दाबी गरेपछि मेयर र उपमेयरको उम्मेदवार छान्न सकस परेको उनले बताए । उपमहानगरको मेयरका लागि उमा थापामगर, रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, सुनीलनरसिंह राणा, निरञ्जनसिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुन, अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह, अच्युतप्रसाद प्रसाईं, ललितकुमार रौनियार, मोहम्मद कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस भएको छ । उपमेयरमा रेणुसिंह ठाकुर, दीक्षा कोइराला, रत्न राणा, शिवकुमार बर्मा, पुरनसिंह ठकुरी, मीनाकुमारी बोहरा, नारायणी रुपाखेती, मोहम्मद कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुलकुमार गुप्ताको नाम सिफारिस भएको छ ।
हेटौँडा : उम्मेदवार बन्न केन्द्रसम्म दौड
०७४ को निर्वाचनमा एमालेका हरिबहादुर महत २३,१२४ मत ल्याई विजयी हुँदा कांग्रेस र माओवादीका साझा उम्मेदवार पराजुली ६१५ मतान्तरले पराजित भएका थिए
हेटौँडा बागमती प्रदेशको एक मात्र उपमहानगर हो । यसको आगामी नेतृत्वका लागि दलहरूबीच मात्र होइन, दलहरूभित्रै पनि तीव्र होड चलिरहेको छ । टिकटका लागि स्थानीयदेखि केन्द्रीय नेतासम्म आकांक्षीहरूको दौड चलिरहेको छ ।
हेटौँडा उपमहानगरपालिकाको आसन्न निर्वाचनमा सत्तागठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । एमालेको नगर कमिटी हुँदै जिल्लाले तीनजनाको नाम प्रदेश कमिटीसमक्ष पेस गरिसकेको छ । एमालेले वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति सदस्य गणेशकुमारी प्रधानको नाम प्रदेशलाई सिफारिस गरिसकेको छ । यी नेता पनि टिकटका लागि केन्द्रीय नेतासँग निरन्तर भेटघाटमा जुटेका छन् । उपमेयरमा इन्द्र नेपाल, सुमित्रा काफ्ले र आरती पाठकको नाम सिफरिस भएको छ । राप्रपाबाट मधु अधिकारी मेयरका एक्लो दाबेदार देखिएका छन् ।
एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले केही दिनभित्र उम्मेदवार टुंगो लाग्ने बताए । उनले हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि प्रदेश कमिटीमा जिल्लाबाट नाम सिफारिस गरिएको जानकारी दिए । प्रदेशले केन्द्रमा सिफारिस गरेपछि उम्मेदवार तय हुने भएकाले दाबेदारबीच कसरत जारी रहेको उनले बताए ।
सत्तागठबन्धनभित्र टिकटको मारामार छ । गठबन्धनमा सबैभन्दा बलियो दल कांग्रेस हो । तर, मंगलबार राति सत्तागठबन्धनबीच भएको सहमतिअनुसार हेटौंडा उपमहानगरपालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने भनिएको छ । तर, कांग्रेसका स्थानीय नेताले मेयरको दाबी छाडेका छैनन् ।
एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी अन्य जिल्लाभन्दा मकवानपुरमा बलियो छ । तर, अघिल्लो निर्वाचनमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल हुँदा कांग्रेसका उम्मेदवार थोरै मतले मात्र पराजित भएका थिए । ०७४ को निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार एक सय २४ मत ल्याई विजयी हुँदा कांग्रेस र माओवादीका साझा उम्मेदवार पराजुली ६ सय १५ मतान्तरले पराजित भएका थिए ।
यस्ता छन्, आकांक्षी
कांग्रेस हेटौँडा उपमहानगर समितिले आइतबार उपमहानगर सभापति उत्सव इटेनी, आनन्दराम पराजुली र लक्ष्मी श्रेष्ठको नाम जिल्ला कार्यसमितिसमक्ष सिफरिस गरेको छ । नेविसंघका पूर्वमहामन्त्री प्रभात दाहाल पनि आकांक्षी छन् । उनको नाम जिल्लामा सिफारिस भएको छैन । तर, जिल्लाले आफ्नो नाम पनि थपेर प्रदेशसमक्ष सिफारिस गर्ने उनले दाबी गरेका छन् ।
कांग्रेसले उपमेयरमा अमृता थापा, तारा राई कार्की र इन्दिरा न्यौपानेको नाम नगरबाट जिल्लामा सिफारिस गरेको छ । पराजुली र दाहाल निरन्तर केन्द्रीय नेतालाई प्रभावमा पार्न प्रयासरत थिए । कांग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले केही दिनअघि पराजुलीलाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गराएकी थिइन् । पराजुलीले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग पनि भेट गरी आफूलाई उम्मेदवार बनाउन आग्रह गरेका थिए । प्रकाशमान सिंहनिकट दाहालले पनि बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको माध्यमबाट प्रधानमन्त्री देउवासँग भेट गरी टिकटका लागि आग्रह गरेका थिए । तर, एकीकृत समाजवादीलाई उपमहानगरको नेतृत्व दिने भएपछि उपमेयरको उम्मेदवार बन्न तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।
एकीकृत समाजवादीले भने मेयरका लागि वर्तमान उपमेयर मीनाकुमारी लामा र जिल्ला अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको छ । दुवै नेता स्वास्थ्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य विरोध खतिवडा र केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेसँग निरन्तर सम्पर्कमा छन् । एकीकृत समाजवादीले उपमेयरमा तिलक अधिकारी, धु्रव भुजेल, कविन पन्त र तारा ढुंगानाको नाम सिफारिस गरेको छ । गठबन्धनभित्रको जनता समाजवादी पार्टीबाट मेयर र उपमेयर दुवैमा दाबेदार देखिएको छैन ।
केन्द्रीय निर्देशन अवज्ञा हुँदैन : कांग्रेस जिल्ला सभापति
गठबन्धनको मुख्य दल कांग्रेसका केही नेता मेयर छाड्न तयार नदेखिए पनि गठबन्धनको जिल्ला संयोजक रहेका कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा केन्द्रमा हुने निर्णय कार्यान्वयन हुने बताउँछन् । ‘केन्द्रको निर्देशनअनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिएको छ । सोहीअनुसार उम्मेदवार छनोट गरिनेछ,’ उनले भने, ‘केन्द्रीय निर्देशनअनुसार हामी अगाडि बढ्नेछौँ । गठबन्धनमा कुनै समस्या हुनेछैन ।’
तर, कांग्रेसका वडा सभापतिहरूले मंगलबार नगर समितिको बैठक राखेर मेयर छाड्न नसक्ने बताएका थिए । बैठक चलिरहँदा तरुण दलका केही नेताको नेतृत्वमा पार्टी कार्यालयमा तालाबन्दीसमेत भएको थियो । दुई घन्टापछि प्रहरीले ताला खोलेपछि नेताहरू बाहिर निस्किएका थिए । पार्टी सभापति लामाले ताालबन्दी गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने बताएर गठबन्धनको निर्णय कार्यान्वयनमा दृढता देखाएका छन् ।