आजको ऊर्जा संकट नौलो होइन । युक्रेनमा रुसको आक्रमणपछि ऊर्जा आपूर्तिमा ह्रास आएको छ र मूल्य चुलिएको छ । अमेरिकीले महँगो पेट्रोल खरिद गरिरहेका छन् र युरोपमा प्राकृतिक ग्यासको मूल्य पाँच गुणा बढेको छ, नतिजा विद्युत्को मूल्य बढ्दो छ र ग्यासमा आधारित उद्योग टाट पल्टिने खतरामा छन् ।
पश्चिमा राष्ट्रले रुसविरुद्ध आक्रामक प्रतिबन्ध लगाइरहेका छन् र ती प्रतिबन्धमा रुसी तेल र ग्यास निर्यातलाई कडाइ गरिएको छ किनभने युरोप र अन्य आयातकर्ताले आपूर्ति प्रतिस्थापन गर्न सक्ने विश्वास राखेका छन् । तर, दिगो रूपमा हेर्ने हो भने पश्चिमले रुसी निर्यातमा मात्र नभई जीवाश्म इन्धनमा नै निर्भरता कम गर्न सक्छन् ।
यसका लागि कम्पनी र लगानीकर्ताले नयाँ प्रदूषणरहित प्रविधिका लागि जोखिम उठाउनुपर्छ, तर सरकारले प्रोत्साहन नगरून्जेल धेरैले जोखिम लिने देखिँदैन ।
हालको ऊर्जा संकटमा नयाँ के छ भने युरोपियन युनियनले लगानीकर्तालाई प्रदूषणरहित प्रविधिका लागि हरियो झन्डा देखाइरहेको छ । युनियनले पहिलेदेखि नै सन् २०३० सम्ममा कार्बन उत्सर्जन ५५ प्रतिशतले घटाउने योजना बनाएको थियो । युक्रेनमा रुसको आक्रमणपछि युरोपले रुसी ग्यास कम आयात गरेर र अमेरिकालगायत देशबाट थप ग्यास आयात गर्ने नयाँ योजनासाथ एक कदम अगाडि बढेको छ । यी योजनाका विवरण अर्को महिनासम्ममा आउने अपेक्षा गरिएको छ । दीर्घकालमा युरोपले अब तेल र ग्यासको निर्भरताबाट बाहिर निस्कने गरी काम गरिरहेको छ ।
युरोपका योजना बाध्यकारी कानुनअनुसार चल्छन् जहाँ पूर्वाधार, अनुसन्धान र विकासमा ठूलो धनराशि लगानी हुन्छ । यो विश्वसनीयता महत्वपूर्ण छ किनभने यसले पुँजी प्रवाहलाई निर्धारण गर्छ र जीवाश्म इन्धन एवं उत्सर्जनमा ठूलो कटौती गर्ने काम पु्ँजी सञ्चयका लागि पनि लाभदायक छ । सुखद समाचार के हो भने पर्याप्त निजी पुँजी भएकाहरू जोखिमपूर्ण नयाँ प्रविधिमा लगानी गर्न इच्छुक छन् । युरोपमा स्टिल, सिमेन्ट, विमान, विद्युत् प्रणालीलगायत औद्योगिक अर्थतन्त्रका लगभग हरेक क्षेत्रमा उत्सर्जन घटाउने योजनाका कारण नयाँ प्रविधिका लागि बजार निर्माण भइरहेको छ । सँगसँगै योजनाले तेल र ग्यास कम्पनीजस्ता ठूला व्यवसायलाई कि नयाँ बाटो अपनाउनतिर डो¥याउँदै छ वा बाटोबाट पन्छाउँदै छ ।
प्रयोग परम्परागत जीवाश्म ग्यासमा निर्भरता घटाउने एक अग्रणी विचार हो । आधुनिक ऊर्जा प्रणाली मूलतः प्राकृतिक ग्यासमा निर्भर छ, किनभने प्राकृतिक ग्यास भण्डारण गर्न र आवश्यक पर्दा प्रयोग गर्न सजिलो छ । कोइलालाई विस्थापन गरेको प्राकृतिक ग्यासले उत्सर्जन घटाउनमा ठूलो भूमिका खेलेको छ । प्रदूषणरहित हाइड्रोजन प्रयोग गर्दा उत्सर्जन अनिवार्य रूपमा शून्यमा घट्न सक्छ र आजको धेरै मूल्यवान् ग्यास पूर्वाधारलाई पुनः प्रयोग गर्न सम्भव बनाउँछ ।
जीवाश्म ग्यासमा निर्भरता घटाउने युरोपेली योजनाको केन्द्रबिन्दु हाइड्रोजन र परम्परागत ग्यासका अन्य विकल्पमा लगानी गर्नु हो । निजी परियोजनाले हाइड्रोजन उत्पादनलाई कसरी नवीकरणीय विद्युतीय पावर जेनेरेटरमा जोड्ने भनेर अन्वेषण गरिरहेका छन् । हाइड्रोजन विद्युत्को तुलनामा भण्डारण गर्न सजिलो छ र यसकारण अनियमित वायु र सौर्य ऊर्जामा निर्भर विद्युतीय ग्रिडलाई विश्वसनीय बनाउन हाइड्रोजन भण्डारणले मद्दत गर्न सक्छ ।
हाइड्रोजन क्रान्तिमा केही समय लाग्न सक्छ । यदि अत्यधिक प्रतिबद्धताका साथ काम गरिन्छ भने सम्भवतः दुई दशकमा हाइड्रोजनले परम्परागत प्राकृतिक ग्यास र तेललाई प्रतिस्थापन गर्नेछ । तर, हाइड्रोजनबाहेकका पुँजी आकर्षित गर्ने आणविक, वायु, सौर्यलगायत नयाँ विकल्प पनि छन् । यी मामिलामा युरोप नेतृत्वमा छ, किनभने युरोपसँग राजनीतिक आह्वानलाई थप विश्वसनीय बनाउने उपाय छन् । प्रविधि विश्वव्यापी रूपमा व्यापार गरिने भएकाले यो नेतृत्व महत्वपूर्ण छ र यसले युरोपेली लगानीको सफलतालाई पुनः परिभाषित गर्दै छ । यी सबैको प्रभावले क्रान्तिका शृंखला निम्त्याउनेछ । जसले रुस र जीवाश्म इन्धनमाथिको निर्भरता घटाउनेछ र यो पृथ्वी ग्रहलाई निको पार्न सहयोगी हुनेछ । न्युयोर्क टाइम्सबाट