जुम्लामा ४१ मतदानस्थल अति संवेदनशील

मंगलबार, ६ बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा ७९ मतदानस्थल र एक सय दुई मतदान केन्द्र कायम गरिएको छ। ७९ मध्ये ४१ मतदानस्थललाई अति संवेदनशील, १५ मतदानस्थललाई संवेदनशील र २३ मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।

जुम्लामा कुल ६७ हजार सात सय ४४ मतदाता रहेका छन्। त्यसमध्ये पुरुष ३५ हजार दुई सय ७३ र महिला ३२ हजार चार सय ७१ जना रहेका निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईंले जानकारी दिए।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामध्ये सबैभन्दा बढी मतदाता संख्या चन्दननाथ नगरपालिकामा ११ हजार आठ सय २० रहेको छ। जसमा पुरुष ५ हजार आठ सय ४७ जना र महिला पाँच हजार नाै सय ७३ रहेका छन्। चन्दननाथमा १० मतदानस्थल र १६ मतदान केन्द्र कायम गरिएको छ।

सबैभन्दा कम मतदाता संख्या हिमा गाउँपालिकामा ६ हजार दुई सय ८७ रहेको छ। जसमा पुरुष तीन हजार दुई ८२ जना र महिला तीन हजार पाँचजना रहेका छन्। यहाँ मतदानस्थल नाै र मतदान केन्द्र ११ वटा कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

कनकासुन्दरी गाउँपालिकामा कुल नाै हजार एक सय ३२ मतदातामध्ये चार हजार आठ सय ५० पुरुष र चार हजार दुई ८२ महिला रहेका छन्। यहाँ १४ मतदानस्थल र १५ मतदान केन्द्र रहेको छ। गुठीचौर गाउँपालिकामा कुल ६ हजार पाँच सय २४ मतदाता छन्। त्यसमध्ये पुरुष तीन हजार तीन सय ९३ जना र महिला तीन हजार एक सय २८ तथा मतदानस्थल आठ र मतदान केन्द्र नाैवटा रहेको छ।

तातोपानी गाउँपालिकामा ४ हजार आठ सय ८३ पुरुष र चार हजार चार सय ३७ महिला गरी कुल नाै हजार तीन सय २० मतदाता रहेका छन्। मतदानस्थल नाै र मतदान केन्द्र १३ वटा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। तिला गाउँपालिकामा जम्मा मतदाता संख्या सात हजार नाै सय ५२ रहेको छ। पुरुष चार हजार एक सय ८६ र महिला तीन हजार सात सय ६६ जना मतदाता छन् भने १२ मतदानस्थल र १३ मतदान केन्द्र रहेको जनाइएको छ।

पातारासी गाउँपालिकामा कुल आठ हजार पाँच सय ४८ मतदाता रहेका छन्। त्यसमध्ये पुरुष चार हजार पाँच सय १३ जना र महिला चार हजार ३५ जना रहेका छन्। यहाँ मतदानस्थल १० वटा र मतदान केन्द्र १३ वटा रहेका छन्। सिँजा गाउँपालिकामा चार हजार तीन सय १६ पुरुष र तीन हजार आठ सय ४५ महिला गरी कुल आठ हजार एक सय ६१ मतदाता रहेका छन्। यहाँ सात मतदानस्थल र १३ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। 

सम्पादकको रोजाइ

सुझावित समाचार