हुन्डाईको आयोनिक फाइभ वल्र्ड कार अफ द इयर अवार्ड–२०२२ मा तीन विभिन्न विधामा विजेता बनेको छ । यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वल्र्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको वल्र्ड कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको हो ।
डिजाइन अफ द इयर क्याटागोरीमा यो कारको फरक शैली र नौलो डिजाइनले अन्य कारलाई पछि पारेको कम्पनीले जनाएको छ । आयतकार हेड र टेल ल्याम्पसहितको आयोनिक फाइभको रेट्रो डिजाइन जोकोहीलाई मोहित पार्ने खालको रहेको कम्पनीको दाबी छ । त्यस्तै, यो कारले विश्व कार अवार्डमा पहिलोपटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि अन्य प्रतिस्पर्धीलाई पछि पार्न सफल रहेको छ । स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको यो क्याटागोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाउने कम्पनीले जनाएको छ ।
यो कारले विश्वकै सबैभन्दा ठूलो अवार्ड वल्र्ड कार अफ द इयर २०२२ पनि हात पारेको जनाइएको छ । इन्टरनल कम्बसन इन्जिन कारसहित अन्य सबै कारहरूमध्ये छानिने यो जितले बिजुलीका गाडीहरूले पछिल्लो समयमा मारेको फड्कोलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ । विश्वका ३३ विभिन्न देशका एक सय दुई पत्रकारहरूको प्यानलको भोटले छानिने यो प्रतिस्पर्धामा ६ मध्ये तीन विधामा विजेता रहनुले आयोनिक फाइभको विशिष्टता स्पष्ट पार्ने कम्पनीको भनाइ छ ।