६ महानगर र ११ उपमहानगरको भागबन्डामै सकस

यसअघि जितेका स्थानीय तह सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका सिट मतभारका आधारमा बाँडफाँड गर्ने निर्णय गरेको पाँचदलीय सत्तागठबन्धनलाई महानगर र उपमहानगरमै भागबन्डा मिलाउन महाभारत

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय निर्वाचनमा तालमेलको निर्णय गरेका सत्तागठबन्धनमा आबद्ध दलहरूका दाबीले महानगर र उपमहानगरपालिका बाँडफाँडमै शीर्ष नेतृत्वलाई सकस भएको छ । उम्मेदवार चयनका सात आधार र सिट बाँडफाँडका चार प्रक्रिया टुंग्याए पनि पाँच दलबीच जिल्लादेखि केन्द्रसम्मै धेरै ठाउँमा जटिलता देखिएको छ ।गठबन्धनले यसअघि ‘महानगर र उपमहानगरपालिकाका प्रमुख–उपप्रमुख केन्द्रीय संयन्त्रबाट’ टुंग्याउने सहमति गरेको भए पनि दलहरूका आ–आफ्नै दाबीका कारण आइतबार सहमति जुट्न सकेन । एक–अर्काका दाबी स्वीकार गर्ने अवस्था नभएपछि सोमबार पुनः बस्ने गरी गठबन्धनको बैठक सकिएको थियो ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख–उपप्रमुखलाई लिएर दलहरूका भिन्दाभिन्दै दाबी छन् । महानगर, उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखको सिट बाँडफाँडका लागि बसेको बैठकमा कांग्रेस र जनमोर्चाबाहेक गठबन्धनका अन्य तीन दलले दाबी पेस गरेका थिए ।रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धन दलको निर्वाचन तयारी र अनुगमन समिति बैठकमा सहमति नजुटेपछि शीर्ष नेतामार्फत टुंग्याउने तयारी भएको छ । सहमति जुट्न नसकेपछि सोमबारका लागि अर्को बैठक बोलाइएको छ । 

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँड टुंग्याउन अझै छलफलको खाँचो रहेको बताए । ‘सहमतिअनुसार स्थानीय तहमा गठबन्धनका तर्फबाट उम्मेदवार छान्ने विषयमा छलफल भइरहेको छ । निष्कर्षमा पुग्न अझै एक दिन बढी लाग्न सक्छ,’ उनले भने । जनमोर्चाका महासचिव हिमाल पुरीले दलहरूले आ–आफ्नो शक्तिको रिपोर्टिङ गरेको र सोमबारको बैठकमा दाबी पेस हुने बताए । ‘महानगर र उपमहानगरपालिकाको विषयमा सबैको रिपोर्टिङ भयो । तालमेलका लागि भइरहेको वार्ताबारे आ–आफ्नो दलको तर्फबाट र समग्र अवस्थाबारे रिपोर्टिङ आएको छ,’ उनले भने, ‘बैठकमा यो वा त्यो हामीलाई चाहियो भन्ने दाबी भएन । यसबारे सोमबारको बैठकमा दाबी आउला ।’ 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धन दलका नेताहरूबीच बालुवाटारमा भएको बैठकले सोमबारसम्म सिट बाँडफाँड टुंग्याउने सहमति गरेका थियो । बालुवाटार जानुअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रचण्डले छलफल गरेका थिए । बालुवाटारको भेटपछि आइतबार नै प्रचण्ड र जसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच सिंहदरबारमा छलफल भएको थियो । 

गठबन्धनले २९ चैतमै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखको सिट बाँडफाँडको निर्णय केन्द्रीय संयन्त्रबाट टुंग्याउने निर्णय गरेको थियो । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुईजना प्रतिनिधि रहने र सबै तहको बैठकको संयोजन सम्बन्धित तहका कांग्रेसका सभापतिले गर्ने निर्णय छ ।गठबन्धनमा रहेका दलहरूले १७ चैतमा सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गरेका छन् । चुनावी तालमेलसम्बन्धी काम यिनै ती संयन्त्र गर्नेछन् । गठबन्धनले केन्द्रमा भने रामचन्द्र पौडेल नेतृत्वमा स्थानीय तह तयारी र अनुगमन समिति बनाएका छन् ।

२९ चैतमै सत्तागठबन्धनका पाँच दलले आफूले जितेका स्थान सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका पदमा मतभारका आधारमा भागबन्डा गर्ने गरी तालमेलको आधार टुंगो लगाएका थिए । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीलाई प्रमुख राजनीतिक शक्तिका रूपमा स्वीकार गर्दै चुनावी तालमेलका सात आधार तय गरेको थियो । 

गठबन्धनमा रहेका दलहरूबीच उम्मेदवार चयनमा ०७४ को निर्वाचनमा दलका उम्मेदवारले प्राप्त गरेको मतभार हेर्ने, ०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभए पनि स्थानीय तहको उपस्थिति हेरी गठबन्धनभित्र अन्य दल पनि सहभागी गराउने र ०७४ को निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरूले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने, साथै उक्त तहमा दलका उम्मेदवारले प्राप्त गरेको मतभार पनि आधार मान्ने सहमति छ । 

यसबाहेक एकीकृत समाजवादी मुख्य शक्ति रहेको यथार्थतालाई मनन गर्ने, गठबन्धनमा रहेका दलहरूमा सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि आधार मान्ने तथा गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्न पाइने सहमति छ । 

 एमालेबाट सबै महानगर र उपमहानगरमा उम्मेदवार सिफारिस

एघार उपमहानगरमध्ये जनकपुर र नेपालगन्जमा एमालेले मेयरको उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । इटहरी उपमहानगरमा मेयरको उम्मेदवारमा एमालेले हालका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, यामकुमार सुब्बा, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरेको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । त्यस्तै, उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेलको नाम सिफारिस भएको छ ।

धरानको मेयरमा एमालेले उपमहानगर कमिटीको बैठकबाट मञ्जु भण्डारी, मनोजकुमार मेयाङ्बो, विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस गरेको छ । त्यस्तै, उपमेयरमा सुशीला पहाडी, लहरू जिमी, पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस भएको छ ।उता, जनकपुरमा शिवशंकर साह (हिरा)लाई एमालेले सर्वसम्मत रूपमा मेयरको उम्मेदवारका रूपमा अगाडि सारेर चुनावी प्रचार अगाडि बढाएको छ । साह एमाले सचिव रघुवीर महासेठनिकट मानिन्छन् ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिकामा उपमहानगर कमिटीको बैठकबाट एमालेले वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय सदस्य गणेशकुमारी प्रधानको नाम सिफारिस गरेको छ । उपमेयरमा न्यायिक समिति सदस्य इन्द्र नेपाल, सुमित्रा काफ्ले र आरती पाठकको नाम सिफारिस भएको छ । 

त्यस्तै, कलैयामा विनोद शाह, रविन्दा श्रेष्ठ, कलाम उदिन, भवानी दुलालको नाम मेयरमा सिफारिसका लागि सुझाव आएको पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाहले जानकारी दिइन् । जितपुर–सिमरामा काशीसन हुसेन, सरस्वती चौधरी, राधेश्याम सिवाकोटी, मनोज पौडेल, भरत घले, विश्वनाथ लामिछाने, अनिल मैनाली, प्रह्लाद शाह, माधव चौधरीको नाम मेयर र उपमेयरमा सुझावमा आएको पनि साहले जानकारी दिइन् । उनले दुवै उपमहानगरमा दुई दिन सहमतिको कोसिस गरेर सकभर सर्वसम्मत उम्मेदवार टुंग्याउने गरी गृहकार्य चलिरहेको पनि बताइन् ।

बुटवल उपमहानगरपालिकामा उपमहानगर कमिटीको बैठकले तीनजना केन्द्रीय सदस्यसहित आठजनाको नाम मेयरमा सिफारिस गरेको छ । जसअनुसार अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई छन् । त्यस्तै, उपमेयरमा टंक पराजुली, खेम लुइँटेल, ज्ञानु केसी, मधुकला कुँवर र कल्पना थापाको नाम सिफारिस भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

घोराही उपमहानगरको मेयरमा पोलिटब्युरो सदस्य नरुलाल चौधरी र केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेको नाम सिफारिस भएको छ । न्यौपाने अहिलेकी उपमेयर तथा एमाले केन्द्रीय सदस्य छिन् । त्यस्तै, उपमेयरमा हिरा पुन र हुमा डिसीको नाम सिफारिस भएको छ । तुलसीपुर उपमहानगरपालिकामा एमालेको उपमहानगर कमिटीको बैठकले मेयरमा एमाले दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्का, पार्टी जिल्ला उपसचिव कृष्णप्रसाद भुसाल र अर्की उपसचिव माया आचार्यको नाम सिफारिस गरेको छ । त्यस्तै, उपमेयरमा युवा करारा, स्यानी चौधरीको नाम सिफारिस भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट दुई महिनाअघि एमाले प्रवेश गरेका पशुपति दयाल मिश्रलाई एमाले उपमहानगर कमिटीले सर्वसम्मत उम्मेदवारका रूपमा अगाडि सारेको छ । उपमेयरमा शान्ति ढकालको नाम सिफारिस भएको छ । धनगढी उपमहानगरमा एमालेबाट चारजनाको नाम मेयर र तीनजनाको नाम उपमेयरमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ । एमालेका उपमहानगर कमिटी अध्यक्ष रामचन्द्र जोशीले छलफल जारी रहेको भन्दै उम्मेदवारहरूको नाम खुलाउन चाहेनन् ।

 काठमाडौं महानगर
मेयर : संघीय सांसद रामवीर मानन्धर, मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त
उपमेयर : सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्ले

 ललितपुर महानगर
मेयर : हरिकृष्ण व्यञ्जनकार
उपमेयर : मञ्जली शाक्य

 पोखरा महानगर
मेयर : दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारी
उपमेयर : विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना

 चितवन महानगर
मेयर  : विजय सुवेदी
उपमेयर :  टुंगिन बाँकी

 वीरगन्ज महानगर
मेयर :  विजय सराबगी
उपमेयर : टुंगिन बाँकी 

विराटनगर महानगर
मेयर : रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराई
उपमेयर : शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’

सुझावित समाचार