धामीझाँक्रीको कुटाइबाट रन्जुला साउदको मृत्यु प्रकरण : शव सडेकाले विज्ञबाट परीक्षण गरिने

धामीझाँक्रीसहित सातविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण
धामीझाँक्रीको कुटाइबाट रन्जुला साउदको मृत्यु प्रकरण : शव सडेकाले विज्ञबाट परीक्षण गरिने

मृतक रन्जुलाका छोरीहरू सरिता र निरा आफन्तहरूसँग महाकाली प्रादेशिक अस्पतालमा परिसरमा

बोक्सी धपाउने भन्दै धामीझाँक्रीले निर्घात कुट्दा ज्यान गुमाएकी कञ्चनपुरको बेदकोट नगरपालिका– ६ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउदको शवको दुई दिनसम्म पोस्टमार्टम हुन सकेको छैन । शनिबार महाकाली प्रादेशिक अस्पतालमा लगिएको शव कुहिएको र अस्पतालमा फरेन्सिकविज्ञ नभएकाले परीक्षण हुन नसकेको हो । अस्पतालले कैलालीस्थित सेती प्रादेशिक अस्पतालबाट विज्ञ मगाएको छ । 

नाताले जेठानी पर्ने कमला साउदको घरमा भीमदत्त नगरपालिकाबाट आएका धामीझाँक्रीद्वय नारायणप्रसाद भट्ट र धर्मानन्द भट्टले तताएको फलामे रडले कुट्दा गत बिहीबार रन्जुलाको मृत्यु भएको थियो । तर, घटना गुपचुप पार्न शनिबारसम्म पनि शवमा झारफुक गरेका थिए । मृत्युको लामो समय भएकाले शव कुहिएको हो । 

‘मृत्यु भएको तीन–चार दिनपछि मात्रै शव अस्पताल ल्याएकाले गर्मीका कारण कुहिएको छ । त्यसैले फरेन्सिकविज्ञबाटै परीक्षण गर्नुपर्छ । हामीकहाँ नभएकाले विज्ञ माग गरेर सेती प्रादेशिक अस्पतालमा पत्राचार गरेका छौँ,’ महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुनकुमार भट्टले भने, ‘सोमबारसम्म विज्ञ आएपछि पोस्टमार्टम हुन्छ ।’ मृतकका परिवार तथा आफन्तले घटनाको सत्य–तथ्य छानबिन गरेर दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने बताउँदै आएका छन् । 

दुई धामीझाँक्रीसहित सातविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी
तताएको फलामे रडले कुट्ने दुई धामीझाँक्रीसहित घटनामा संलग्न सातजनाविरुद्ध मृतक रन्जुलाकी छोरी सरिता साउदले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी छिन् । आइतबार किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । ‘मृतक पक्षबाट कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान जारी छ ।’ किटानी जाहेरी परेका धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणप्रसाद भट्ट, रन्जुलाकी जेठानी पर्ने कमला साउद, जानकी घटाल, गौरी साउद, कुवेर साउद र चक्र साउदलाई प्रहरीले भने शनिबार नै पक्राउ गरेको थियो । 

यस्तो छ रन्जुला मृत्युको घटना 
बेदकोट– ६ का वडासदस्य धनसिंह पुजाराका अनुसार रन्जुलाकी जेठानी पर्ने कमलाको घरमा भीमदत्त नगरपालिकाबाट धामीझाँक्रीद्वय नारायणप्रसाद भट्ट र धर्मानन्द भट्ट आएका थिए । उनीहरूले आँगनमा आगोको धुनी लगाएर फलामको रड तताउँथे । कमला साउदको परिवारका मान्छेहरू जप गर्थे । छोरी सरिताका अनुसार रन्जुला २७ चैतमा कमलाको घरमा गएकी थिइन् । सुरुमा बिरामी नभएकी उनी त्यहाँ जान थालेपछि बिरामी परिन् । अस्पताल जाँदा पनि निको भएन । धामीझाँक्रीले नै आमालाई बिरामी पारिदिएको सरिताले बताइन् । 

‘तेरो ममीले समाजमा मेरो कुरा काटेकाले बिरामी बनाएको भनेर धामीझाँक्रीले नै मलाई भनेका थिए । त्यसपछि ३० चैतमा हामी महाकाली अस्पताल गए पनि आमालाई सन्चो भएन,’ उनले भनिन्, ‘फर्काएर धामीझाँक्रीकहाँ नै ल्याएपछि दिनमा ६ पटक मन्त्र पढ्नुपर्छ, अलग कोठामा मसँग एक्लै बस्नुपर्छ भन्यो । धामीझाँक्रीको यातनाबाट आमाको मृत्यु भयो ।’ धामीझाँक्रीले आँगनमा धुनी लगाएर फलामका रड तताउँदै रन्जुलाको शरीरमा डामेका थिए । उनको मुख, टाउको र शरीरमा रडले हिर्काएर हत्या गरेको वडासदस्य पुजाराको आरोप छ । 

 दुई छोरीको बिचल्ली : पाँच वर्षअघि बुबा गुमाए, अहिले आमा
रन्जुलाले पाँच वर्षअघि श्रीमान् गुमाएकी थिइन् । दुई छोरी सरिता र निरा (निर्मला)को सम्पूर्ण जिम्मा उनकै काँधमा आइपुग्यो । एक कट्ठा जमिन मात्र भएकी उनलाई छोरीहरूको भविष्यको चिन्ता थियो । सारा दुःख सहँदै दैनिक मजदुरी गरेर छोरीहरू हुर्काउँदै र पढाउँदै थिइन् । पछिल्लो समय प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत वडामा मजदुरी गर्थिन् । तर, पाँच वर्षअघि बुबा गुमाएका सरिता र निराको अहिले आमाको समेत मृत्युपछि बिचल्ली भएको छ ।

१९ वर्षीया सरिता सुडास्थित घटाल माविमा १२ कक्षा र १४ वर्षीया निरा मुसेपानीस्थित जनता माविमा ७ कक्षामा पढ्छन् । आफन्तले दुई बालिकाको लालनपालन, लेखपढ र बिरामी पर्दा उपचारको व्यवस्था हुनुपर्ने माग गरेका छन् । ‘सरिता र निराले बुबा गुमाएको पाँच वर्षपछि आमाको पनि हत्या भयो,’ आफन्त सुरेन्द्र साउदले भने, ‘नाबालिकाहरूको लालनपालन र लेखपढको व्यवस्था गरिनुपर्छ ।’ रन्जुलाको परिवार बैतडीको शिवनाथबाट केही वर्षअघि मात्रै कञ्चनपुर झरेको हो । अन्य सबै आफन्त परिवार अहिले पनि पहाडमै छन् । 

सुझावित समाचार