जुम्लाको गडीगाउँमा ४२ किलोवाट विद्युत् उत्पादन

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका– १ गडीगाउँमा ४२ किलोवाट विद्युत् उत्पादन गरिएको छ । यहाँको सदरमुकाम खलंगाबजार र कर्णाली राजमार्ग आसपासका गाउँबस्तीमा राष्ट्रिय प्रसारण लाइन जडान भए पनि दुर्गम गडीगाउँसम्म बिजुली पुग्न सकेको थिएन । सबै गाउँबस्तीमा राष्ट्रिय प्रसारण लाइन नपुगेकाले गडीगाउँमा ४२ किलोवाट बिजुली उत्पादन गरिएको हो । 

उत्पादित विद्युतले गडीगाउँ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभान्वित भएको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले बताए । अहिले दुई समयमा विद्युत् आपूर्ति भइरहेको उनले जानकारी दिए । उनका अनुसार बिहान ५ बजेदेखि ८ र बेलुका ५ बजेदेखि ११ बजेसम्म बिजुली आपूर्ति गरिएको हो । 

गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले गडीगाउँमा उत्पादित ४२ किलोवाटको अदली खोला लघुजलविद्युत् आयोजनाको निर्माणस्थल अवलोकन गरेका छन् । लघुजलविद्युत् आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अवलोकनका क्रममा आगामी वैशाख १५ भित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्न अध्यक्ष भण्डारीले निर्देशनसमेत दिएका छन् । 

गाउँपालिकाले उक्त जलविद्युत् आयोजनाका लागि एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ । दुर्गम र विकासका पूर्वाधारबाट पछाडि परेको बस्तीका उपभोक्तालाई विकासको मूलधारमा ल्याउने र उज्यालोतर्फ डोर्याउने प्रमुख उद्देश्यका साथ बजेट लगानी गरिएको  गाउँपालिका अध्यक्ष भण्डारीले बताए । ‘निर्वाचनका वेला घोषणापत्रमा समेटिएका र स्थानीय जनतालाई दिएका आश्वासअनुसार काम गरेको हो,’ अध्यक्ष भण्डारीले भने ।  

सुझावित समाचार