भरतपुर महानगरमा गठबन्धन नमान्ने कांग्रेसका वडा सभापतिहरूको चेतावनी

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरूले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । मंगलबार कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा सम्पन्न वडा सभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने माग गरेको हो । 

कुनै पदमा तालमेल गरी अरू दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी उनीहरूले दिएका छन् । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसअघि नेपाली कांग्रेस चितवन जिल्लाको आह्वानमा भएको संयुक्त बैठकमा महानगरमा मेयर नभए गठबन्धन नगर्ने निर्णय गरिएकोमा त्यसको केही दिनमा नै जिल्ला सभापति र महानगर सभापतिहरूले गठबन्धन गर्ने भन्दै अन्य दलसँग भएको सहमतिप्रति हामी सम्पूर्ण वडा सभापतिको ध्यानकर्षण गराउँछौँ । सबै वडा सभापतिहरूले अब नेपाली कांग्रेसले  केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरू कुनै पनि गठबन्धन नगर्ने निर्णय गछौँ ।’ 

गठबन्धन गरिए भरतपुर महानगरपालिकामा मेयर, उपमेयर र सबै वडाहरूमा कांग्रेसको उम्मेदवारी दिने र गठबन्धन बहिष्कार गर्ने वडा सभापतिहरूको चेतावनी छ । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार