तीन वर्षअघि बुढानीलकण्ठमा सानो दुईकोठे जस्ताको छाना भएको घर भाडामा लिएर जुत्ता बनाउने सानो उद्योग खोलेकी थिइन्, आनन्दलक्ष्मी राईले । असनबाट कच्चा सामग्री ल्याएर घरमै कपडाको जुत्ता बनाउने काम राईका लागि दैनिक रोजगार मात्र नभएर जीवन जिउने आधारसमेत बनेको छ । पछिल्लो समय कपडाको जुत्ता महिलाहरूका लागि लोकप्रिय बन्दै गएपछि उनले अहिले चारजनालाई रोजगारीसमेत दिएकी छिन् । जुत्ता उत्पादन गरेर अहिले मासिक ४० देखि ४५ हजारसम्म आम्दानी भइरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अहिले त अफ सिजन हो, सिजनमा भात खाने फुर्सदसम्म पनि हुँदैन ।’
राईको दैनिकी असनबाट जुत्ताका लागि चाहिने ढाकालगायतका कपडा ल्याउने, साइजअनुसार काट्ने र अन्य सहयोगीसँग मिलेर जुत्ता बनाउनेमै बित्छ । जुत्ता बनिसकेपछि महाराजगन्ज र असन पुर्याएर बिक्री गर्ने गर्छिन् । जुत्ता उद्योग सञ्चालन गर्नमा उनलाई आर्थिक भरथेग भने मानुषी लघुवित्तले गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘मेरा लागि मानुषी लघुवित्त सहारा बनेर आयो, संस्थाले लगाएको गुन, आडभरोसाले यहाँसम्म आइपुगेकी छु ।’
वेला–वेलामा हुने विभिन्न स्वदेशी उत्पादनको प्रदर्शनीमा पनि उनले भाग लिएकी छिन् । आफ्नो आँटमा व्यवसाय खोलेर चारजनालाई रोजगारी दिएकी राईको विगत भने सजिलो थिएन । गर्भवती अवस्थामा श्रीमान्को मृत्यु भएपछि बच्चासँगै जिन्दगी चलाउन कम सकस थिएन । व्यवसायबाट तीनजनाको परिवार पालेर अरूलाई रोजगारी दिइरहेकी राई विगत सम्झेर भक्कानिन्छिन् । उनी भन्छिन्, ‘श्रीमान् बितेपछि सानो बच्चासंँग रहेर आफ्नै व्यवसाय गर्नु चुनौतीपूर्ण थियो, भनेका वेला आफ्ना पनि टाढा हुने रहेछन् ।’
०५७ सालमा काठमाडौं आएपछि उनले अरूको पसलमा काम गर्नेदेखि लिएर बंगुर पालनसम्म गरिन् । कहिले झोला बुन्ने आफ्नो मन तुनिन् भने कहिले बंगुर व्यवसायबाट आर्थिक अवस्था उकास्न खोजिन् । तर, भाग्यले वेला–वेला उनलाई ठगिरहन्थ्यो । ऋण लिएर बंगुरपालन थाले पनि बंगुर मर्न थालेपछि उनलाई ऋणको भार झन् थपियो । पालेका बंगुर रोगले मर्न थालेपछि व्यवसाय नै छोड्न बाध्य हुनुपरेको उनले बताइन् ।
त्यसपछि हुर्कंदै गएका बच्चाहरूको पालनपोषण र शिक्षाका लागि काम खोज्न भौँतारिइन् । काम खोज्ने क्रममा नै एकजना आफन्तको सहयोगमा लघुवित्तबाट ऋण लिएर व्यवसाय गर्ने योजना बनाइन् । मानुुषी लघुवित्त वित्तीय संस्थाले ऋणसँगै आवश्यक सुविधा पनि दिने भएपछि उनले नयाँ व्यवसाय चलाउने आँट गरिन् । उनी भन्छिन्, ‘लघुवित्तको समूहमा सुरुवातीमा १० जना अन्य महिला पनि संलग्न गराउनुपर्ने थियो ।
बिस्तारै व्यवसायमा रुचि भएका महिलाहरू बढ्दै गएकाले समूहले पनि ठूलो रूप लियो । सुरुवातमा साधारण ऋण १० हजार र मौसमी ऋण पाँच हजार लिएर उनले व्यवसाय सुरु गरेकी थिइन् । ब्युटिपार्लर, हाँस, कुखुरा र बंगुरको व्यवसायपछि उनले जुत्ता बनाउने उद्योगमा लगानी गरिन् । उनी भन्छिन्, ‘व्यवसाय सुरु गरे पनि चलाउन नसक्ने भन्दै लघुवित्तले ऋण दिन मान्दैनन् । कतिपयले लगानीका आधारमा ऋण दिन खोज्छन् । सुरुवात गर्न खोज्नेहरूका लागि पैसा नहुँदा समस्या हुन्छ । मानुषीको सहज ऋणले मलाई पुनः अर्को व्यवसायमा लगानी गर्न हौसला दियो । अहिले म यही व्यवसायबाट ऋणको किस्तासँगै दैनिक खर्च चलाउन सफल भएकी छु ।’
कपडाको जुत्ता व्यवसाय पनि उनले सानो लगानीबाट सुरु गरेकी थिइन् । उनले यसबीचमा मानुषी लघुवित्तबाट पटक–पटक गरी एक लाख १९ हजार पाँच सय ऋण लिइसकेकी छिन् । अहिले व्यवसाय पनि बढ्दै गएको उनको भनाइ छ । उनी भन्छिन्, ‘व्यवसायमा सफल हुन आँट मात्रै होइन, लगानीमा सहयोग पनि चाहिँदो रहेछ ।’
महिलाको स्तरोन्नति नै हाम्रो मुख्य जिम्मेवारी हो
गैरसहकारी संस्थालाई मानुषी लघुवित्त वित्तीय संस्थामा परिणत गर्ने सोच कसरी आयो ?
मानुषी लघुवित्त वित्तीय संस्था हुनुअघि हामीले गैरसरकारी संस्थाका रूपमा सेवा प्रदान गर्दै आइरहेका थियौँ । राष्ट्र बैंकले २०७५ मा ल्याएको ऐनअनुसार लघुवित्तमा परिणत भएका हौँ । ०४८ मा स्थापना भएको संस्थाले ग्रामीण क्षेत्रमा महिलालाई तालिम दिने सामाजिक क्रियाकलापमै केन्द्रित भएर सेवा दिइरहेका थियौँ । ०५९ असोज १ बाट भने संस्थाले लघुवित्तका कार्यक्रमहरू सुरु गरेपछि हाम्रो धारणामा परिवर्तन आयो । महिलालाई तालिम मात्र होइन, उद्यमी बनाउनुपर्छ भन्ने सोचका साथ हामी अघि बढिरहेका छौँ ।
लघुवित्तमा रूपान्तरण भएको १५ वर्षभन्दा बढी भएको छ, यहाँसम्म आइपुग्दा कस्तो परिवर्तन पाउनुहुन्छ ?
हामीले गैरसंस्थाबाट पनि महिलाको स्तरोन्नति र सशक्तीकरणका लागि काम गरिरहेका थियौँ । लघुवित्तमा परिणत भएपछि तालिमले मात्र नहुने रहेछ, वित्तीय सारक्षता पनि आवश्यक छ भन्ने बुझ्याैँ । महिलाको आर्थिक स्तरोन्नति गर्न भए पनि लघुवित्तको क्षेत्र अलि फराकिलो माध्यम बनेको छ । महिलालाई गैरसरकारी संस्थाबाट भन्दा लघुवित्तबाट स्तरोन्नति गर्न सहयोगी र सशक्त भूमिका खेल्न सहयोग पुगेको छ । तर, एउटा के फरक छ भने त्यतिवेला लघुवित्तहरू कम थिए, ऋण लिएर उद्यम गर्नका लागि महिलालाई गाह्रो थियो, अहिले महिला वर्गले मौका पाउँदै आउनुभएको छ ।
बजारमा लघुवित्त वित्तीय संस्थाहरू धेरै छन्, लघुवित्तको भिडमा मानुषीको के फरक विशेषता छ ?
मानुषी लघुवित्त वित्तीय संस्था महिलाहरूको सारथि हो । मानुषीलाई चिन्ने भनेको मानुषीले गरेको कामलाई हेरेर हो । हामीले विगतदेखि नै विपन्न महिलाको हकहितका लागि कार्य गर्दै आइरहेका छौँ । महिला सशक्तीकरणका लागि गरेको योगदान नै हाम्रो पहिचान हो । हामी उद्यमशीलतालाई अरूभन्दा बढी फोकस गर्छौँ र त्यसबाट केही–केही नतिजा निकाल्ने गरी काम गर्छौँ । नाफामुखीभन्दा पनि सेवामुखी ढंगले सेवा प्रदान गरिरहेको हुनाले हामी फरक छौँ । ऋण दिँदा सानोबाट सुरु गरेर महिलाको जीवनस्तर बिस्तारै उकासिँदै गएपछि सोहीअनुसार थप ऋण प्रवाह गर्छौँ । बजारमा मानुषी भनेपछि महिलाकै लागि बनेको संस्था भन्ने पहिचान बनेको छ ।
लघुवित्तले महिलाको स्तरोन्नतिका लागि कस्ता–कस्ता योजनाहरू अघि सारेका छन् ?
हाम्रो संस्था १२ वटा जिल्लामा फैलिएको छ । ३३ हजार सदस्य रहेका छन् । काठमाडौं उपत्यकासँगै जोडिएका जिल्लाहरूलाई शाखा विस्तार गर्दै लैजाने तयारीमा छौँ । एउटै जिल्लामा धेरैवटा शाखा विस्तार गर्ने योजनामा छौँ । अहिले हाम्रा ३४ वटा शाखा छन् । हामीले महिलालाई हरेक वर्ष विभिन्न तालिम, गोष्ठीलगायतका कार्य हामी राख्छौँ । उहाँहरूलाई परेको समस्या भोगाइका कुराहरू सुन्ने र समस्यालाई समाधान गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ । हरेक शाखाहरूमा सीपमूलक तालिमहरूको आयोजना गर्छौँ । महिलाको स्तरोन्नति नै हाम्रो मुख्य जिम्मेवार हो । त्यस्तै, वित्तीय सारक्षरताको तालिम, उद्यमशीलताको बजारीकरणलगायतका काम हाम्रो योजनाभित्र पर्छन् ।
अहिले पनि सारक्षता अभावले ऋणका बारेमा जानकारी लिने, ऋण दिने र तिर्ने वेलामा समस्या हुने र ऋणको सही सदुपयोग नहुने समस्या छ । त्यस्तो अवस्थामा हामी सहजीकरण गर्छौँ । बिस्तारै इ–बैंकिङ सेवालगायतका कुरालाई हामीले ल्याउन खोजेका छौँ । अहिले पासबुकलाई हटाएर इ–बुक सिस्टम बनाएर लैजाने योजनामा छौँ ।
हामी कस्तो क्षेत्रमा लगानी गर्दै छौँ ?
हाम्रो मुख्य लगानी भनेको ग्रामीण क्षेत्रमा आधारित कृषि क्षेत्रमा हो । तरकारी खेती, पशुपालन, घरेलु उद्योगहरू नै मुख्य लगानीका क्षेत्र हुन् । कृषिपछिको घरेलु उद्योगहरूमा लगानी गरेका छौँ । विशेष गरी दोलखा, रामेछाम, काठमाडौं, काभ्रे, नुवाकोट, नवलपुर, परासी, धादिङमा सानो ऋण सानो किस्ताको माध्यमबाट महिलालाई उद्यमशील बनाउने क्रम जारी छ । गरिबी न्यूनीकरणलाई पनि केही हदसम्म सहयोग पु¥याएका छौँ । अझै पनि कतिपय स्थानहरूमा लघुवित्त पुगेका छैनन् । नपुगेका ठाउँहरूमा कार्यक्रमहरू लैजाने हाम्रो प्रयास जारी छ ।