निर्वाचन आचारसंहिता : सामाजिक सञ्जाल प्रयोग गर्न पाइने तर, दुरुपयोग गर्न नपाइने

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाइने तर त्यसको दुरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएको छ । 

शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै उनीहरूमाथि निर्वाचन कसुर कानुनबमोजिम कारबाही हुने बताएका हुन् ।

 निर्वाचनको आचारसंहिता उल्लंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि उनले स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन । यदि कसैले आयोगसमक्ष र विभिन्न गोष्ठी र कार्यक्रममा अनि तपाईंहरूसँग चाहिँ कार्यान्वयन गर्छ भन्यो । तर भित्रभित्रै उल्लंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ । निर्वाचन कसुरमा कानुनबमोजिम कारबाही गर्न आयोग तयार छ । त्यो कसैलाई छुट हुँदैन । कसैलाई क्षम्य हुँदैन ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।

निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ ।

सुझावित समाचार