सत्तारूढ गठबन्धनमा उम्मेदवारको साझा मापदण्डबारे छलफल सुरु भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धन दलको निर्वाचन तयारी र अनुगमन समितिले मापदण्डबारे छलफल सुरु गरेको हो । सबै जिल्लाबाट स्थानीय शक्तिसन्तुलनसम्बन्धी प्रतिवेदन आएपछि मात्रै मापदण्डबारे निर्णय हुने नेताहरूले बताएका छन् । गठबन्धनभित्र कुन मापदण्डको आधारमा सिट र उम्मेदवार चयन हुन्छन् भन्ने चासो छ ।
बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको समितिको बैठकमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नेको साझा मापदण्ड तय गर्नेबारे प्रारम्भिक छलफल सुरु भएको संयोजक पौडेलले बताए । उनका अनुसार समिति बैठकले २६ चैतभित्र गठबन्धनको शक्ति र अवस्थाबारे प्रतिवेदन पेस गर्न स्थानीय संयन्त्रलाई निर्देशन दिएको छ ।
रामचन्द्र पौडेल कांग्रेस नेता
गठबन्धनका तर्फबाट तय हुने उम्मेदवारको मापदण्ड बनाउनेबारे प्रारम्भिक छलफल भएको छ । २६ चैतभित्र सबै जिल्लाको गठबन्धनको अवस्थाबारे प्रतिवेदन पेस गर्न भनिएको छ । यसपछि बैठक बसेर छलफल गरेर आवश्यक निर्णय लिनेछौँ ।
सबै जिल्लाको रिपोर्ट संकलन गरेर आवश्यक निर्णय गर्ने सहमति भएको पौडेलले बताए । ‘गठबन्धनका तर्फबाट तय हुने उम्मेदवारको मापदण्ड बनाउनेबारे प्रारम्भिक छलफल भएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘२६ चैतभित्र सबै जिल्लाको गठबन्धनको अवस्थाबारे प्रतिवेदन पेस गर्न भनिएको छ । यसपछि बैठक बसेर छलफल गरेर आवश्यक निर्णय लिनेछौँ ।’
गठबन्धनको १७ चैतमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णयसहित शक्तिसन्तुलनबारे प्रतिवेदन पेस गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा सबै दलका प्रतिनिधि रहने संयन्त्र बनाउने निर्णय गरेको थियो । ती संयन्त्रलाई २२ चैतभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, ती संयन्त्रले काम नसकेपछि अब २६ चैतसम्म प्रतिवेदन बुझाउन भनिएको छ ।
समिति सदस्य एवं एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जिल्लाबाट प्रतिवेदन आएपछि २७ चैतमा बस्ने बैठकमा थप निर्णय हुने बताए । ‘कुन मोडालिटीमा गठबन्धन गर्ने भन्ने बैठकमा छलफल सुरु भएको हो । जिल्लाबाट रिपोर्ट आइनसकेकाले के गर्ने भन्ने निर्णय भएन । २६ चैतसम्म रिपोर्ट आएपछि २७ चैतमा बैठक बसेर थप छलफल गर्छौँ,’ उनले भने, ‘अहिले मोडालिटी र मापदण्डलगायत विषयमा छलफल सुरु मात्रै भएको हो । छलफल जारी छ । रिपोर्ट आएपछि के गर्ने भन्ने टुंगो लाग्छ ।’
समिति सदस्य एवं माओवादी नेता देवप्रसाद गुरुङले सबै जिल्लाको प्रतिवेदन संकलन भइनसकेकाले संकलन गरी अध्ययन गरेर थप निर्णय गर्नेबारे छलफल भएको बताए । ‘बैठकमा चुनावी तयारीबारे छलफल भयो,’ उनले भने, ‘त्यसका लागि २६ चैतभित्र जिल्लाका प्रतिवेदन संकलन गर्न गठबन्धनका संयन्त्रलाई निर्देशन दिइएको छ ।’
गुरुङका अनुसार समितिले आवश्यकताअनुसार उम्मेदवार चयनमा साझा मापदण्ड बनाउने र उम्मेदवारसम्बन्धी विवाद देखिए समाधान गर्नेलगायत कामसमेत गर्ने जानकारी दिए । ‘आवश्यक परेमा शीर्ष नेताको निर्देशनअनुसार समितिले निर्णय लिनेछ,’ नेता गुरुङले भने ।
मंगलबार बसेको गठबन्धन दलको बैठकले पौडेलको संयोजकत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गठनको निर्णय गरेको थियो । बुधबार समिति पहिलो बैठक बसेको थियो । समिति सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीबाट नेता वर्षमान पुन र गुरुङ, एकीकृत समाजवादीबाट महासचिव भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी रहेका छन् ।
१७ चैतमा बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको थियो । तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्तिसन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन दिने सहमति गरेका थिए । प्रतिवेदनका आधारमा केन्द्रीय नेतृत्वले समग्र परिस्थितिको विश्लेषण गर्ने र थप निष्कर्षमा पुग्ने तयारी गरेको छ ।
