रोल्पाको रुन्टीगढी गाउँपालिकाले गीत सार्वजनिक गरेको छ। सोमबार गाउँपालिकाले परिचयात्मक गीत ‘कुहिरोको घुम्टो ओढी’ सार्वजनिक गरेको हो। गाउँपालिकाको परिचय समेटिएको उक्त गीतको भिडियोलाई गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले विमोचन गरेका हुन्।
गाउँपालिका धार्मिक तथा पर्यटकीय हिसाबले भरिपूर्ण भएको भन्दै यसलाई चिनाउन गीत सार्वजनिक गरिएको अध्यक्ष बुढाले बताए। गीतमा यहाँको खानपान, परिवेश, भूगोल, धार्मिक पर्यटकीय स्थल समेटिएको छ। गीतको भिडियोमा यहाँको गुराँस, डाँडापाखा, जाँड, शिवपार्वती गुफा, मुरुले लेक, सहिद मार्गलगायत समेटिएको छ।
गीतमा प्रवीण वेडवाल र रचना रिमालको स्वर रहेको छ। गाउँपालिकाका पर्यटन फोकल पर्सन ध्रुव प्रकाश मल्लको शब्द रहेको गीतमा बिबी अनुरागीले संगीत भरेका छन्। भिडियोमा आरुसी मगर, लक्ष्मी थापालगायतले अभिनय गरेका छन्।
यसअघि सोही गीतको अडियो विमोचन गरिएको थियो भने अहिले उक्त गीतको भिडियो विमोचन गरिएको हो। नवौँ गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरी उक्त म्युजिक भिडियो बनाइएको हो। भिडियो निर्माणमा मात्रै पाँच लाख खर्च गरिएको छ।