सत्तारुढ पाँच दल तालमेल गरेर स्थानीय निर्वाचनमा जाने निर्णयसँँगै सिट बाँडफाँडको मापदण्ड बनाउन जुटेपछि दबाबमा आएको एमालेले दुवै राप्रपासहितका शक्तिहरूसँग सहकार्य गृहकार्य गर्दै छ, तालमेलको राजनीतिसँगै दलहरू आगामी चुनावलाई ध्रुवीकरणतिर लैजाँदै छन्
अंकगणितको विश्लेषणसहित तालमेलको मापदण्ड खोज्दै गठबन्धन

स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका पाँच दल गठबन्धनको मापदण्ड बनाउने गृहकार्यमा, संयन्त्रले पठाएका रिपोर्टमाथि छलफल गर्न आज बैठक
स्थानीय तहको निर्वाचनमा तालमेलमा जाने नीतिगत निर्णय लिएको पाँचदलीय गठबन्धनमा मंगलबारबाट तालमेलको मापदण्डबारे छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आइतबार सकिएलगत्तै मंगलबार गठबन्धनको बैठक तय भएको छ । तालमेलको मापदण्डलाई लिएर गठबन्धनमा रहेका दलहरूबीच मतभिन्नता छन् ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार बिहान नौ बजे गठबन्धनको बैठक बस्न लागेको र स्थानीयबाट आएका रिपोर्टिङमाथि प्रारम्भिक छलफल हुने बताइन् । ‘मापदण्ड बनाउन स्थानीय संयन्त्रमार्फत मगाइएका रिपोर्टको मंगलबारको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुन्छ र यसको विश्लेषणका आधारमा गठबन्धनको मोडालिटीलगायतका विषयमा छलफल हुन्छ,’ पौडेलले भनिन् ।
१७ चैतमा बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको थियो । तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्ति–सन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन दिने सहमति गरेका थिए । संयन्त्रलाई २२ चैत (मंगलबार)भित्र प्रतिवेदन दिन भनिएको थियो ।
दलहरूका प्रदेशस्तरीय प्रमुख रहेको प्रदेशस्तरीय समिति, जिल्लास्तरमा जिल्लाका प्रमुखहरूको समिति र गाउँपालिकास्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्रले काम गरिरहेका छन् । ती संयन्त्रलाई सम्बन्धित प्रदेश, जिल्ला र गाउँपालिकामा पाँँच दलको अवस्था कस्तो छ, त्यसबारे केन्द्रलाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
ती प्रतिवेदनका आधारमा केन्द्रीय नेतृत्वले समग्र परिस्थितिको विश्लेषण गर्ने र थप निष्कर्षमा पुग्ने तयारी गरेको छ । गठबन्धनको मंगलबार बस्ने बैठकमा संयन्त्रमार्फत आएका रिपोर्टमाथि अध्ययन–विश्लेषण हुने नेताहरूले बताएका छन् । ‘जिल्लाहरूबाट सकारात्मक रिपोर्टिङ भएको छ, तालमेलको विश्वासिलो आधार बनेको छ । केन्द्रले आवश्यक समन्वय गर्छ,’ जनमोर्चा उपाध्यक्ष पौडेलले भनिन् ।
पालिका, जिल्ला र प्रदेश तहमा संयन्त्रका बैठक बसेका र समस्या देखिएको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए । ‘गठबन्धन बैठकपछि प्रदेश, जिल्ला र स्थानीय तहमा संयन्त्रको बैठक बसिरहेको छ । धेरै स्थानीय तहमा गठबन्धनको विषयमा कुरा मिलिरहेको छैन, जटिलता आएका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘एमालेले जितेको ठाउँमा कम्प्रोमाइज गरौँ र सहकार्य गरेर जाऔँ जहाँ जो बलियो छ, त्यस–त्यस ठाउँमा कुनै गठबन्धन नगरी लडौँ भन्ने हाम्रो प्रस्ताव छ । तर, अन्य दलले सहमति जनाएको अवस्था छैन ।’
तालमेलका लागि दुवै राप्रपासँग एमालेको समानान्तर संवाद

एमाले अध्यक्ष केपी ओली चुनावी तालमेल गर्न दुवै राप्रपासँग निरन्तर संवादमा छन्, आइतबार राति मात्रै उनले कमल थापासँग छलफल गरेका छन्
प्रमुख प्रतिपक्ष दल एमालेले चुनावी तालमेलका लागि दुवै राप्रपासँग संवाद अगाडि बढाएको छ । कतिपय वार्तामा अध्यक्ष केपी ओली आफैँ सहभागी छन् भने कतिपय वार्तामा उनले निकट नेतालाई खटाएका छन् ।
चुनावी गठबन्धनलाई लिएर कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एमाले नेताहरूले वार्ता जारी राखेका छन् । चुनावी गठबन्धनकै विषयमा छलफल गर्न आइतबार बेलुकी एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच छलफल भएको छ ।
राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले गठबन्धनका लागि एमालेसँग निरन्तर संवाद भइरहेको बताए । ‘स्थानीय चुनावमा गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ । हाम्रो पार्टीले पनि विभिन्न दलसँग गठबन्धन गरेर जाने निर्णय गरेको छ । त्यसका लागि सबै दलसँग छलफल गर्ने बाटो खुला राखेका छौँ,’ उनले भने, ‘एमाले राष्ट्रवादी शक्ति भएको नाताले उससँग हाम्रो संवाद बढी छ । अध्यक्षहरूको स्तरमा औपचारिक÷अनौपचारिक छलफल चलिरहेकै छ । तर, सबै टुंगो लागेको छैन ।’
स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट गरिसकेको छ । राप्रपाबाहेकका दलहरूसँग पनि वार्ता हुन सक्ने एमाले उपमहामन्त्री एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । ‘केन्द्रीय कमिटीको निर्णयबमोजिम केन्द्रमा बाहेक स्थानीय तहमा गठबन्धनका लागि सबै पक्षसँग छलफल हुन्छ । स्थानीय तहका लागि सम्बन्धित कमिटीले निर्णय गर्छ,’ गुरुङले भने, ‘परिस्थितिअनुसार गठबन्धन हुन सक्छ । गठबन्धनका लागि राप्रपासँग मात्र होइन, एकीकृत समाजवादीबाहेक सबै पक्षसँग छलफल हुन सक्छ ।’
लिङ्देन नेतृत्वको राप्रपाका महामन्त्री धवलशमशेर राणाले एमालेसँगको वार्तामा ‘आइसब्रेक’ भएको र चाँडै निष्कर्षमा पुग्ने बताए । ‘चुनावी गठबन्धनको विषयमा एमालेसँग प्रारम्भिक छलफल भएको छ । वार्तामा आइसब्रेक भएको छ, हाम्रो पार्टी र उहाँहरूको पार्टीमा पनि थप छलफल हुँदै छ, छिट्टै निष्कर्षमा पुग्छौँ ।’