ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

सोमबार, २१ चैत, २०७८
डिजिटल संस्करण
ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा क्षतिग्रस्त सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ८ का मीनबहादुर तामाङको घर । आगो प्रहरी र स्थानीयले तीन घन्टा लगाएर निभाएका थिए ।

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामाटोलका मीनबहादुर तामाङको घरमा आइतबार साँझ ६ः३० बजे खाना पकाउने क्रममा सिलिन्डर पड्केको हो । घटनामा मीनबहादुरका १० वर्षीय छोरा इसाक तामाङ, उनका भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी अढाई वर्षीया छोरी दिव्या तामाङको मृत्यु भएको छ ।

सिलिन्डर पड्किँदा तीनैजना घरभित्रै खेल्दै थिए ।  बालबालिकालाई उद्धार गर्न घरभित्र छिरेका मीनबहादुर सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि खाडीचौर अस्पताल लगिएको छ । हात र खुट्टा जलेको भए पनि उनी खतरामुक्त रहेको स्थानीय चिनबहादुर तामाङले बताए । 

खाना पकाउने क्रममा आइतबार साँझ ६ः३० बजे सिलिन्डर पड्केर दुर्घटना भएको हो । तीन दिनदेखि नै सिलिन्डरबाट ग्यास लिक भएको रहेछ । तर, गाउँघरमा त्यससम्बन्धी सचेतना दिने कोही नहुँदा दुर्घटना निम्तियो,’ घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर देवेन्द्र शाहले भने । विस्फोटपछि घर पूरै जलेको छ । अन्नपात र लत्ताकपडामा पूर्ण क्षति भएको छ । प्रहरी र स्थानीयले तीन घन्टा लगाएर आगो निभाएका छन् ।

सुझावित समाचार