राजधानीवासीले आफ्नो व्यस्त जागिरे दैनिकीबाट कमै फुर्सद पाउँछन्। मुस्किलले मिलेको फुर्सदमा ‘मुड फ्रेस’ गर्न चाहने सहरवासीको संख्या बढ्दो छ। तर, समय थोरै हुने हुँदा टाढा जान सक्ने अवस्था हुन्न। राजधानीनजिक कहाँ घुम्न जाने, धेरैलाई थाहा नहुन सक्छ। यद्यपि, काठमाडौनजिक घुम्ने ठाउँको कमी भने छैन।
शुक्रबार ‘हाफ डे’ सकाएर आइतबार फर्किने गरी घुम्ने गन्तव्यहरू राजधानीआसपासमा धेरै छन्। त्यस्ता गन्तव्यहरुलाई ‘विकेन्ड प्लान’मा समावेश गर्न सकिन्छ। साथीसँग, पार्टनरसँग वा परिवारसँग समय बिताउन र ‘एडभेन्चर’को आनन्द लिन यी स्थान उपयुक्त हुन सक्छन्।
१.धुलिखेल जिपलाइन
काठमाडौंनजिक जिपलाइनको मजा लिने हो भने धुलिखेल जिपलाइन उपयुक्त विकल्प हुन सक्छ । यो ठाउँ काठमाडौंबाट ३२ किलोमिटर दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर पनि यहाँ सहजै पुग्न सकिन्छ। जिपलाइनसँगै धुलिखेलकै कुनै होटेलमा बस्न र नजिकैका पर्यटकीयस्थल पनि घुम्न सकिन्छ। ११ सय मिटर लम्बाई रहेको जिपलाइनको आनन्द जाडो र गर्मीयाममा लिन सकिन्छ।
एक मिनेट २० सेकेन्डसम्म दुई डाँडाकाे बीचमा जिपलाइन यात्रा गर्दा दुई हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म शुल्क तिर्नुपर्छ। त्यस्तै, दिनभर धुलिखेल वरपरका गाउँ, मन्दिर र गुम्बा नियाल्दै सोही दिन वा भोलिपल्ट बिहानै राजधानी फर्किन पनि सकिन्छ। धुलिखेलकैआसपासमा कैलाशनाथ महादेव, नमोबुद्ध, हजार सिँढीजस्ता स्थानमा घुम्न र तस्बिर खिचाउन सकिन्छ।
२.त्रिशूलीछेउका रिसोर्ट
धादिङस्थित त्रिशूली नदीको र्याप्टिङ पनि राजधानीनजिकको एउटा गन्तव्य हो। त्रिशूली नदी–किनारमा कैयौँ रिर्सोट खुलेका छन्। काठमाडौंबाट ६५–७० किलोमिटरको दूरीमा रहेका रिसोर्टमा शुक्रबार अबेर पुग्ने र शनिबार बिताएर सोही दिन वा आइतबार काठमाडौं फर्किन पनि सकिन्छ।
यहाँको यात्राका लागि आफैँ बाइक राइड गरी पुग्न सकिन्छ। राजधानीबाट एकाबिहानै छुट्ने सार्वजनिक यातायात पनि विकल्प हुन सक्छ। त्रिशूली किनारका केही रिसोर्टमा लाइभ म्युजिकको व्यवस्था छ भने कतै साताको अन्तिम दिन डिजे र डान्स पनि हुन्छ।
यहाँ शनिबार दिनभर दैनिक बसाइले मानसिक शान्ति त दिन्छ नै, र्याफ्टिङ र जिपलाइनको आनन्द पनि लिन सकिन्छ। यो ठाउँ सडकसँग सीधै जोडिएकाले राजधानीबाट आएका वा राजधानी पस्नुअघि निजी सवारीसाधन चलाउनेहरू पनि पुग्ने गरेका त्रिशूली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेल बताउँछन्। ‘मुख्यगरी र्याफ्टिङ र जिपलाइन हेरेर प्राइभेट गाडी भएकाहरू पनि रोकिएर यहाँ केही समय बिताएर जान्छन्,’ उनी भन्छन्, ‘नदी–किनार भएकाले यहाँको वातावरणले जो–कोहीलाई पनि तान्छ।’
सामान्यतया, एक दिन बसाइ र खानासमेत गरी १६ सयदेखि ३५ सयसम्म प्रतिदिन खर्च हुन सक्छ। मार्चदेखि जुन र सेप्टेम्बरदेखि नोभेम्बरसम्म पानीको बहावका हिसाबले उपयुक्त भएकाले र्याफ्टिङका लागि धेरै मानिस आउँछन्। त्रिशूलीमा २४ किलोमिटरसम्म र्याफ्टिङको आनन्द लिन सकिन्छ।
३.भोटेकोसी र्याफ्टिङ, सुकुटे विच
त्रिशूलीबाहेक र्याफ्टिङका लागि अर्को उपयुक्त गन्तव्य हो, भोटेकोसी । भोटेकोसीको किनारमा वास बस्न पर्याप्त रिसोर्ट छन्। यहाँ घुम्नका लागि दुई हजार पाँच सयदेखि पाँच हजारसम्मका प्याकेज उपलब्ध छन् । र्याफ्टिङका लागि भने बेग्लै रकम तिर्नुपर्ने हुन्छ।
भोटेकोसीछेउ अर्थात् सुकुटे विचमा आधा दर्जनभन्दा बढी रिसोर्ट सञ्चालनमा छन्, जहाँ साताभरको थकाइ मार्न सकिन्छ।
४.राजधानीनजिकका तीन पाराग्लाइडिङ
पाराग्लाइडिङ भन्नेबित्तिकै धेरैले पोखरा नै सम्झिन्छन्। तर, काठमाडौंसँगैका डाँडाबाट पनि पाराग्लाइडिङको मज्जा लिन सकिन्छ भन्ने कमैलाई थाहा होला।
यहाँ दर्ता भएका तीनवटा पाराग्लाइडिङ कम्पनी छन्। ललितपुरको गोदावरी, नुवाकोट र काठमाडौंको सिमाना सूर्यचौरमा पाराग्लाइडिङ गर्न सकिन्छ। काठमाडौंकै जहरसिंह पौवामा पनि पाराग्लाइडिङ छ। गोदावरीमा ल्यान्डिङ गराउन पाइलटहरूलाई केही समस्या हुने गरेकाले पाराग्लाइडिङ बन्द छ। सूर्यचौरमा पनि केही मानिस पुग्ने गरेका छन्। शंकरापुर नगरपालिकाको वडा नम्बर २ मा भने पाराग्लाइडिङ नियमित सञ्चालनमा छ।
पाराग्लाइडिङका पाइलट विजय चौलागाईंका अनुसार पाराग्लाइडिङ गर्न आउनेको संख्या पनि बढ्न थालेको छ। ‘कोभिडभन्दा पहिलेसम्म विदेशीहरूको आगमन बढी हुन्थ्यो, अहिले कम भएको छ,’ उनी भन्छन्, ‘पाराग्लाइडिङको लागि फोटो, भिडियो, बिमासहित गरेर पाँच हजार रुपैयाँसम्म शुल्क लाग्छ।’ २०–२५ मिनेटसम्म पाराग्लाइडिङ गरी उड्न पाइने उनले बताए।
हाल त्यहाँ पुग्ने सडक बनिरहेकाले पाराग्लाइडिङ गर्न आउनेको संख्या घटेको छ। वरपर होटेलहरू पनि भएकाले त्यहीँ शान्त ठाउँमा रात बिताउने गरी राजधानीबाटै आउने आन्तरिक पर्यटकहरूको संख्या बढिरहेको चौलागाईँ बताउँछन्। यहाँका होटेलमा दुईदेखि तीन हजार रुपैयाँसम्म खर्च पर्छ।