बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

सर्लाहीमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। सोमबार मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका– १० सलेमपुरमा प्रदेश २–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर मोटरसाइकल चालक मलंगवा नगरपालिका– ३ निवासी २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते मिकरानीलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल  मलंगवा पुर्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २६ वर्षका मकबुल लहरिसफी गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

सुझावित समाचार