म्यादी प्रहरीका लागि रामेछापमा १६ सयभन्दा बढी आवेदन

शनिबार, १२ चैत, २०७८
डिजिटल संस्करण

सरकारले आगामी वैशाख ३० गते एकै चरणमा हुने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरेकाे छ । उक्त निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरीमा भर्ना हुन रामेछापका एक हजार ६ सय ७५ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले स्थानीय तहको निर्वाचनका लागि रामेछापबाट सात सय ८४ जना म्यादी प्रहरी माग गरेकोमा १६७५ जनाले आवेदन दिएका हुन् ।  म्यादी प्रहरीका लागि  ६ देखि ११ चैतसम्म आवेदन खुला गरिएको थियो । आवेदन दिनेमध्ये १३०६ जना पुरुष तथा ३६९ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

म्यादी प्रहरीमा आवेदन पेस गर्नेहरूको छनाेट प्रक्रिया १३ चैतदेखि सुरु गरिनेछ । २२ चैतसम्ममा अन्तिम नतिजा प्रकाशन गरिसक्ने गरी काम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । कार्यालयका अनुसार म्यादी प्रहरीमा उत्तीर्ण भएकाहरूको तालिम २८ चैतबाट सुरु हुनेछ । म्यादीमा भर्ना भएका प्रहरीले निर्वाचनमा खटिँदा एकमुष्ठ रूपमा ४३ हजार चार सय ४० रुपैयाँ तलबभत्ताबापतको रकम पाउनेछन् । 
 

सुझावित समाचार