चिनियाँ विदेशमन्त्री वाङले काठमाडौंमा यसरी बिताउँदै छन् ४६ घन्टा

शनिबार, १२ चैत, २०७८
डिजिटल संस्करण
चिनियाँ विदेशमन्त्री वाङले काठमाडौंमा यसरी बिताउँदै छन् ४६ घन्टा

अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विदेशमन्त्रीलाई स्वागत गर्दै परराष्ट्र मन्त्रालयको टोली ।

द्विपक्षीय समझदारीका लागि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच करिब एक दर्जन एजेन्डामा छलफल जारी

चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार साँझ पौने ५ बजे काठमाडौं आइपुगेका छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग आधा घन्टा शिष्टाचार भेट र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग डेढ घन्टा द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् । वाङको भ्रमणका क्रममा केही द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि छ । तर, के–कस्ता समझदारी भन्ने शुक्रबार रातिसम्म सार्वजनिक गरिएको छैन ।

चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित परराष्ट्रका उच्च अधिकारीले स्वागत गरेका छन् । विमानस्थलबाट सोझै होटेल द्वारिकाज पुगेका वाङको शुक्रबार औपचारिक कार्यक्रम थिएन । चिनियाँ राजदूत होउ यान्छीसहित चिनियाँ राजदूतावासका अधिकारीले उनलाई नेपालको पछिल्लो अवस्था र शनिबारको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङको प्रतिनिधिमण्डल द्वारिकाज होटेलमा बसेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल र चीनबीच शनिबार परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुनेछ । स्रोतका अनुसार वाङले बिहान शिवपुरी भ्रमण गर्ने कार्यक्रमबारे पनि छलफल भएको थियो, तर परराष्ट्रको विज्ञप्तिमा केही उल्लेख छैन । 

शनिबार अपराह्न साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच १५ मिनेट बेग्लै भेटवार्ता हुनेछ । त्यसलगत्तै पौने ४ बजेदेखि सवा ५ बजेसम्म परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुनेछ । वार्तामा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रसचिव भरतराज पौड्याल, गृह, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, पर्यटन मन्त्रालयका सचिवलगायत हुनेछन् । चिनियाँ प्रतिनिधिमण्डलमा वाङसहित नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, चिनियाँ विदेश मन्त्रालय, वाणिज्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

भेटवार्तापछि सवा ५ देखि साढे ५ बजेसम्म नेपाल र चीनबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ । तर, के–कस्ता समझदारीमा हस्ताक्षर हुने भन्ने शुक्रबार रातिसम्म सार्वजनिक गरिएको छैन । दुई देशबीच सम्भावित सम्झौताका करिब एक दर्जनजति एजेन्डाबारे परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी डिभिजन र काठमाडौंस्थित चिनियाँ दूतावासबीच समन्वय भइरहेको एक अधिकारीले बताए । 

विदेशमन्त्री वाङले शनिबारै पौने ६ देखि सवा ६ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । सवा ६ बजेदेखि साढे ६ बजेसम्म भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समापन समारोह हुनेछ । प्रधानमन्त्री देउवाको उपस्थितिमा विमानस्थल समापन समारोह आयोजना हुने कार्यक्रम छ । 

प्रशोधित घाँस चीन निर्यात गर्न प्रोटोकलमा हस्ताक्षरको सम्भावना
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा प्रशोधित घाँस चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । गाईवस्तुको आहाराका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न दुवै देशले प्रोटोकल स्वीकृत गरिसकेका छन् । नेपालले गत मंसिरमा स्वीकृत गरी पठाएको प्रोटोकल चीनले पनि केही बुँदा हेरफेर गरेर स्वीकृत गरिसकेको छ । 

वाङको भ्रमणका क्रममा प्रोटोकलमा हस्ताक्षरका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्ताव परराष्ट्र मन्त्रालयमा पु¥याइसकेको छ । ‘चीनले प्रोटोकलमा केही हेरफेर गरे पनि सारमा उही छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक सहसचिवले भने, ‘यही भ्रमणका क्रममा शनिबार प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी छ । तर, सचिव वा मन्त्री कुन स्तरमा हस्ताक्षर हुने यकिन भइसकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले नेपालले चीनको सिगात्सेलाई लक्षित गरी प्रशोधित घाँस निर्यात गर्न लागेको बताए । मन्त्रालयले प्रोटोकल प्रस्ताव अगाडि बढाए पनि हस्ताक्षरको यकिन माथिल्लो स्तरबाट हुने बताए । 

प्रोटोकलमा हस्ताक्षर भए पनि तत्कालै घाँस निर्यातको सम्भावना छैन
चीनले खोरेतसहित जीवाणु नभएको भनी नेपालका आधिकारिक निकायले प्रमाणित गरेको हेलेज मात्र आयात गर्ने सर्त राखेको छ । खोरेतसहित जीवाणु नभएको प्रमाणित गरेर नेपालले अनुमति दिनुपर्ने, भेटेरिनरी सर्टिफिकेट दिँदा घाँसको ट्रिटमेन्ट भएको प्रमाणित नेपालले गर्नुपर्ने र प्याकिङ गरिएको हेलेज खोल्दा ८० डिग्री सेल्सियस तापक्रम हुनुपर्ने सर्त राखेको छ । यस्तै, हेलेज निर्यातको चार महिनाअघि नै ट्रिटमेन्ट गरेर प्याकिङ गरिएको प्रमाणित हुनुपर्ने भनिएको छ । 

त्यसकारण प्रोटोकलमा हस्ताक्षरपश्चात् नेपालले क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्नेछ भने सर्टिफिकेट नमुना चीनलाई पठाउन बाँकी नै छ । यसका लागि नेपालले चीनसँग प्रविधि सहायता मागेको छ ।

चीनले नेपालबाट हेलेज आयातका लागि चासो देखाएपछि नेपालले डेढ वर्षअघि मात्र प्राविधिक कार्यदल गठन गरेर अध्ययन गरेको थियो । अध्ययन समितिले नेपालमा मकै, नेपियर र जौको व्यावसायिक घाँसखेती प्रवद्र्धन गरेर आन्तरिक खपतसँगै बाह्य निर्यात गर्न सकिने निष्कर्ष निकालेपछि सरकारले प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलका सदस्यसचिव माधव भट्टका अनुसार मकैको ढोडलाई एकदेखि तीन सेन्टिमिटर र पातलाई तीनदेखि ६ सेन्टिमिटरमा टुक्रा पारेर कम्प्रेस प्याकिङ गरिन्छ । काटिएको घाँसलाई प्लास्टिकको झोलामा हावा नछिर्ने गरी प्याकिङ गरेर थिचेर राखिन्छ, जसलाई साइलेज भनिन्छ । झोलामा घाँससँगै पौष्टिक तŒव राखिएको हुन्छ । नेटकम्प्रेस प्याकिङ मेसिनमार्फत दुई सय ८० देखि चार सय ५० केजीसम्मको साइलेज बन्डल बनाइन्छ, जुन बेलनाकार हुन्छ । 

‘दानाकै रिप्लेसमेन्ट होइन । तर, बुझ्नका लागि गुन्द्रुकजस्तो भन्दा पनि हुन्छ,’ भट्टले भने, ‘यो आहारामा ४० प्रतिशत पानीको मात्रा हुने र पोषिलो पनि हुने भएकाले चीनमा प्रचलित छ ।’ चीनले दुधिलो मकै घोगासहित डाँठ र पातको हेलेजमा रुचि देखाएको छ । त्यसबाहेक नेपियर नामक विकासे घाँस र जौ पनि हेलेज बनाएर चीन निर्यात गर्ने सरकारी योजना छ । 

मकैको हेलेज चितवनमा परीक्षण उत्पादन भइरहेको छ । नेपाल ग्रिनल्यान्ड मल्टिप्रपोज प्रालिले प्रेमबस्तीमा २० बिघामा मकै लगाएर गत वैशाखबाट हेलेज बजार पठाउन थालेको हो । चितवनमा मकैको हेलेज प्रविधिमा नेपाली र चिनियाँको संयुक्त लगानी छ । टियानु इन्टरनेसनल नामक चिनियाँ कम्पनीले पनि घाँस उत्पादन, प्रशोधन र खरिदमा लगानी गरेको थियो ।

भारतीय समकक्षीसँगको भेटवार्ता भएन उपलब्धिमूलक
पाकिस्तान, अफगानिस्तान र भारत हुँदै विदेशमन्त्री वाङ चिनियाँ विशेष विमान बी ८४१५ बाट काठमाडौं ओर्लिएका हुन् । बिहीबार साँझ दिल्ली ओर्लेका विदेशमन्त्री वाङले शुक्रबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गरेका थिए । जयशंकरले शुक्रबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भेटवार्ता उपलब्धिमूलक नभएको सन्देश दिएका छन् । 

भारतीय विदेशमन्त्री जयशंकरले दुई देशबीच सामान्य सम्बन्ध नभएको र सीमा समस्या समाधान नभएसम्म सम्बन्ध सामान्य नहुने बताए । पाकिस्तानमा आयोजित अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को कार्यक्रममा वाङले प्यालेस्टाइन र कास्मिरका जनताको संघर्षलाई समर्थन गर्ने अभिव्यक्ति दिएका थिए । त्यसप्रति त्रूmद्ध रहेको भारतसँग चीनको सहज सम्बन्धको सम्भावना नदेखिएको अवस्थाबीच उनी काठमाडौं आइपुगेका छन् । 

दुई वर्षअघि २५ असोज ०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि भारत हुँदै नेपाल आएका थिए । राष्ट्रपति सी मोदीसँग सहज संवादको माहोलमा काठमाडौं आएका थिए भने वाङ असहज संवादबीच नेपाल आइपुगेका छन् ।

आज प्रधानमन्त्री देउवासँग भेटवार्तादेखि द्विपक्षीय छलफलसम्म

- दिउँसो ३ देखि ३:१५ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चिनियाँ समकक्षी वाङको छुट्टै भेटवार्ता ।
- दिउँसो ३:४५ देखि ५:१५ बजेसम्म सिंहदरबारमै परराष्ट्रमन्त्रीस्तरीय वार्ता ।
- साँझ ५:१५ देखि ५:३० बजेसम्म सिंहदरबारमै द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर ।
- साँझ ५:४५ देखि ६:१५ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता ।
- साँझ ६:१५ देखि ६:३० बजेसम्म प्रधानमन्त्री देउवाको उपस्थितिमा बालुवाटारबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोह । 

एमाले र माओवादी नेता एकैसाथ चीन भ्रमणमा 

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणमा नेपाल आएकै वेला दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीका नेता चीन पुगेका छन् । भिन्दाभिन्दै प्रयोजन र मितिमा दुई पार्टीका नेताहरू चीन भ्रमणमा गएका हुन् । माओवादी नेता देव गुरुङ नेतृत्वको टोली शुक्रबार चीन पुगेको छ भने एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वको टोली पाँच दिनदेखि चीनमै छ ।

राष्ट्रपतिसँग ४५ मिनेट, प्रधानमन्त्री देउवा, ओली र प्रचण्डसँग आधा–आधा घन्टा भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बिहान १० देखि पौने ११ बजेसम्म शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग उनको शिष्टाचार भेट तय भएको छ ।

वाङले ओली र प्रचण्डसँग हायात होटेलमा भेटवार्ता गर्नेछन् । सुरुमा ओलीसँग ११:१० बजेदेखि ११:४० सम्म भेटवार्ता गर्नेछन् । त्यस्तै, दिउँसो पौने १२ देखि सवा १२ बजेसम्म माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै, शनिबार प्रधानमन्त्री देउवासँग आधा घन्टा भेटवार्ता गर्ने कार्यक्रम छ । उनी आइतबार दिउँसो ३ बजे स्वदेश फर्किनेछन् ।

चिनियाँ असन्तोषमाझ अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि चीनले परियोजना चीनविरोधी नभएको भनेर आश्वस्त हुन चाहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र एमाले तथा माओवादीका शीर्ष नेतामार्फत नेपालले एमसिसीबाट चीनलाई कुनै पनि सुरक्षा खतरा उत्पन्न नहुने भन्दै चीनलाई आश्वस्त पार्नेछ । चीनले नेपालमा कम्युनिस्ट पार्टीहरूसँग मात्रै नभएर कांग्रेससँग पनि सम्बन्ध र सम्पर्क बढाउन चाहेको छ । 

द्विपक्षीय छलफल र सम्झौताको यस्तो छ तयारी

परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल गर्ने नेपालको तयारी छ । बिआरआई कार्यान्वयन सम्झौताबारे छलफल हुनेछ, तर त्यसमा हस्ताक्षर हुने अझै यकिन नभएको कूटनीतिक अधिकारीहरूको भनाइ छ । वार्तामा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका विषयमा पनि छलफल हुनेछ । 

चीनका राष्ट्रपति सी जिनपिङ काठमाडौं आएका वेला दुई वर्षअघि नेपाललाई ५६ अर्ब रुपैयाँबराबरको सहायता घोषणा गरेका थिए । त्यसको कार्यान्वयनबारे सम्झौता हुन सक्ने सम्बद्ध अधिकारीहरूको भनाइ छ । यसैगरी चिनियाँ सहयोगमा हेटौँडामा मदन भण्डारी प्राविधिक विश्वविद्यालय, भक्तपुर र मकवानपुरमा नयाँ अस्पताल निर्माणलगायत विषयमा पनि छलफल हुनेछ । मन्त्रिपरिषद्ले यसअघि नै नेपालबाट चीनमा हाइब्रिड घाँस निर्यात गर्ने विषयमा सम्झौता गर्न कृषि मन्त्रालयलाई स्वीकृति दिइसकेको छ । 

द्विपक्षीय वार्तामा रसुवाको टिमुरे र हुम्लाको हिल्सामा सुक्खा बन्दरगाह निर्माण भएको ठाउँमा बहुउपयोगी क्वारेन्टिन निर्माणबारे छलफल हुनेछ । त्यस्तै, नेपालले तातोपानी र रसुवागढी नाकाबाट तिब्बततर्फ नेपाली गाडी प्रवेशका लागि पनि आग्रह गर्न लागेको छ । चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरू कोरोना महामारीपछि फर्किन नपाएको विषयमा पनि नेपालले विदेशमन्त्रीसँग चासो राख्नेछ । उनीहरूलाई चीनको विद्यमान स्वास्थ्य प्रोटोकल पूरा गरेर अध्ययनका लागि जान दिन आग्रह गर्ने तयारी रहेको एक अधिकारीले बताए । 

नेपालले तीन वर्षअघि नै पठाएका नौ परियोजनामध्ये एउटा पनि बिआरआईअन्तर्गत कार्यान्वयन भएको छैन । नेपाल–चीन सीमापार रेलमार्ग, दमकको औद्योगिक पार्कको प्रगति शून्यप्रायजस्तो छ । सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि आउनुपर्ने चिनियाँ प्राविधिक टोली आइसकेको छैन । विदेशमन्त्री वाङ र चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा परराष्ट्रमन्त्री डा. खड्काले शनिबार दिवाभोज आयोजना गरेका छन् । गत २ कात्तिकमा टेलिफोन संवाद हुँदा वाङले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्ता दिएका थिए । 
 

See More On

सुझावित समाचार