साविक विजेता पिप्ले युवा क्लब हेटौँडाले टाइब्रेकरमा बागमतीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजक बागमती र पिप्ले युवाबीच निर्धारित समयमा कुनै गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइबे्रकरमा पिप्लेका गोलरक्षक अनिस देउजा चम्किए । उनले बागमतीका अमर श्रेष्ठको प्रहारलाई विफल पार्दै आफ्नो टोलीलाई अन्तिम दुई स्थानमा पुर्याउन सफल भए ।
टाइब्रेकरमा बागमतीका कुलदीप कार्की र रोशन दोङले गोल गर्न सकेनन् । कुलदीपको प्रहार पिप्लेका गोलरक्षक अनिशले पन्च गर्दै बाहिर बल पठाए । रोशनले प्रहार गरेको बल क्रसबारभन्दा माथि गयो । १९औँ मिनेटमा पिप्लेका मार्टिनले डिबक्सबाट प्रहार गरेको बल क्रसबार माथि गयो । खेलको ३७औँ मिनेटमा पिप्लेका अमिर श्रेष्ठले डिबक्सभित्रबाट गरेको सशक्त प्रहार बागमतीका गोलरक्षक मनोज प्रधानले सुन्दर बचाउ गरे । खेलको ४३औँ मिनेटमा समिराज थोकरको राम्रो गोल प्रयासलाई बागमतीका गोेलरक्षक मनोजले विफल पारे ।
खेलको ६७औँ मिनेटमा पिप्लेका रितिक खड्काले गरेको प्रहारलाई बागमतीका अमर श्रेष्ठले क्लियर गरे । खेलको अन्तिम २५ मिनेट पिप्ले निकै आक्रामक देखिएको थियो । तर, फिनिसिङ राम्रो नहुँदा पिप्लेका खेलाडीले गोल गर्न सकेनन् । खेलको ५१औँ मिनेटमा बागमतीका अमर श्रेष्ठले पिप्लेका गोलरक्षक अनिशविरुद्ध वान भर्सेज वानको अवस्थामा गोल गर्न चुके । टाइब्रेकरमा चम्किएका पिप्लेका गोलरक्षक अनिश म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ हात पारे । पिप्लेले उपाधिका लागि शुक्रबार दोस्रो सेमिफाइनलमा ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल र सुदूरपश्चिम–११ धनगढीबीचको विजेताविरुद्ध खेल्नेछ ।
कमजोर फिनिसिङ भयो : सुमितराज भण्डारी प्रशिक्षक, पिप्ले
मध्य र अग्रभागका खेलाडीबीच तालमेल नहुँदा खेलको नतिजाका लागि टाइबे्रकरको सहारा लिनुपरेको प्रशिक्षक भण्डारीले बताएका छन् । ‘आयोजकविरुद्धको खेलमा हामीलाई चुनौती नै थियो, ९० मिनेटभित्र नैे गोल हुनुपर्ने थियो,’ भण्डारीले भने, ‘खेलाडीहरूको तालमेल नमिलेका कारण खेल टाइब्रेकरसम्म पुगेको हो ।’ उनले गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । ‘हाम्रा गोलरक्षकले निकै राम्रो प्रदर्शन गरेका थिए, साथसाथै बागमतीका खेलाडीले पनि त्यत्तिकै राम्रो खेल देखाए,’ उनले भने ।
खेलाडी थकित थिए : रोजित केसी प्रशिक्षक, बागमती
खेलाडीहरू थकित भएका कारण पिप्लेविरुद्ध सोचेजस्तो प्रदर्शन गर्न नसकेको बागमतीका प्रशिक्षक केसीले प्रतिक्रिया दिएका छन् । ‘लगातार खेलका कारण खेलाडी निकै थाकेका थिए, यसैले नै उनीहरूले राम्रो खेल्न नसकेका हुन्,’ केसीले भने, ‘हामीले दुई दिनको अन्तरमा दुई खेल खेल्यौँ,’ उनले भने, ‘शुक्रबार सिमरामा खेल्दै छौँ ।’ प्रशिक्षक केसीले लगातार खेल खेलेका खेलाडीले प्रतियोगितामा सोचेभन्दा राम्रो खेलेको प्रतिक्रिया दिएका छन् । ‘खेल सबैजनाले उत्कृष्ट प्रदर्शन गरेका हुन् । सबै स्थानीय खेलाडी हुन्,’ उनले भने ।