राजर्षि जनक कप : आजको पहिलोे सेमिफाइनलमा पिप्ले र आयोजक बागमती भिड्दै

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

जारी छैटाैँ राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा पिप्ले युवा क्लब हेटौँडा र आयोजक बागमती युवा क्लब भिड्ने भएका छन्। सर्लाहीको बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुन लागेको पहिलो सेमिफाइनल खेलमा यी दुई टोली प्रतिस्पर्धा गर्न लागेका हुन्।

आज भेट गर्न लागेको पिप्ले युवा क्लब साबिक विजेता हो भने आयोजक बागमती साबिक उपविजेता टोली हो। यस अर्थमा पनि आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

आजको विजेता टोलीले कम्तीमा उपविजेताको उपाधिसमेत रक्षा गर्नेछ। सेमिफाइनल प्रवेशका लागि पिप्लेले क्वार्टरफाइनलमा हिमालयन शेर्पालाई पराजित गरेको थियो। बागमतीले सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानको न्युरोड टिम एनआरटीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

बुधबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई सडनडेथमा पराजित गर्दै सहिद स्मारक एडिभिजन लिग च्याम्पियन मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ। चैत १३ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार, राजर्षि रनिङ सिल्ड र उपविजेताले पाँच लाख पाँच सय रुपैयाँ प्राप्त गर्नेछ।

सुझावित समाचार