क्रेडिट रेटिङ व्यवसाय गर्न आवेदन दिएर प्रतीक्षाको सूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले अन्ततः हिंजो क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्रदान गरेको छ । धितोपत्र बोर्डले अनुमति प्रदान गरेसँगै नेपालको तेस्रो रेटिङ एजेन्सीका रूपमा सञ्चालनमा आएको छ ।
भारतको रेटिङ एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एन्ड रेटिङ प्रालिको सहायक कम्पनीका रूपमा स्थापित उक्त कम्पनीको कुल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको जनाइएको छ । क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना गर्न विदेशमा रेटिङसम्बन्धी काम गरेको संस्थाको साझेदारी अनिवार्य गरिएको छ । सोहीबमोजिम कम्पनीको ५१ प्रतिशत सेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एन्ड रेटिङ प्रालिको रहेको छ भने नियमअनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको कम्पनीले जनाएको छ ।
सूचीकृत हुने कम्पनीहरू बढ्दै गएको तथा नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋणका लागि समेत रेटिङ गराउनुपर्ने व्यवस्था गरेसँगै नेपालमा थप नयाँ रेटिङ कम्पनीको आवश्यकता महसुस गरी कम्पनी सञ्चालनमा ल्याएको जनाइएको छ । कम्पनीको कार्यालय बानेश्वर हाइट्सको टंकप्रसाद मार्गमा रहेको कम्पनीका प्र्रमुख कार्यकारी अधिकृत रविन पुडासैनीले जानकारी दिए । नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धा विस्तार हुने र सेवाग्राहीले सहज एवं गुणस्तरीय सेवा पाउने उनको भनाइ छ ।
कम्पनीले विभिन्न संगठित संस्थाहरूले जारी गर्ने प्राथमिक निष्कासन, फर्दर पब्लिक इस्यु, हकप्रद सेयर निष्कासन, अग्राधिकार सेयर निष्कासन, डिबेन्चर तथा अन्य ऋणपत्र निष्कासनका साथै अन्य उपकरणहरूको क्रेडिट रेटिङ गर्ने उल्लेख गरिएको छ ।