नयाँ रुसका लागि वर्तमान रुसको अवसान

रुसी जनताका लागि निहत्था मानिसको मृत्यु निम्त्याउने पुटिनको निर्दयी युद्ध अभियानको साक्षी बस्नु भयावह एवं लाचारीपनको अनुभव हो

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

सोभियत संघमा सन् १९९० मा पहिलोपटक म्याकडोनाल्डको रेस्टुराँ खुल्यो । म, मेरी नौ वर्षकी बहिनी र आमाबुबा त्यतिवेलाको रुसको कठ्यांग्रिँदो जाडोमा पहिलोपटक म्याकडोनाल्ड चिकेनबर्गर र चर्चित फ्रेन्च फ्राईको स्वाद लिन लाइन लागेका थियौँ । म्याकडोनाल्डको सेवा लिन मस्कोको ऐतिहासिक पुस्किन स्क्वायरमा ठूलो घुइँचो लागेको थियो । केही रिपोर्टअनुसार त्यो दिन करिब ३० हजार मानिस लामबद्ध थिए । दिन निकै उत्साहपूर्ण थियो । जहाँ हामीले स्वतन्त्रताको स्वाद चाख्न पाएका थियौँ । यही स्वादले सोभियत किल्लाबाट मुक्तिको संकेत दिन्थ्यो । र, दुई वर्ष नपुग्दै सोभियत संघको विघटन भयो र सबै स्वतन्त्रताका लागि मार्गप्रशस्त भयो । हामीले विद्यालय जाँदा लेनिनको तस्बिर अंकित पाँचचुच्चे तारा भएको ब्याज लगाउनुपरेको थिएन ।   

निश्चय नै स्वतन्त्रतासँगै गहिरो आर्थिक संकट, चरम असमानता, विस्फोटक संगठित अपराधलगायतका नयाँ चुनौती थपिएका थिए । कस्तो घरमा बस्ने, कस्ता चलचित्र हेर्ने वा कस्ता संगीत सुन्नेलगायत छनोटमा पनि राज्य नियन्त्रण भएको एक दशकपछि नयाँ युगमा पनि अनिश्चितता र अराजकता निम्तिएको थियो । तैपनि, म आफूलाई एक जीवन्त र अघि बढिरहेको समाजमा हुर्केकामा भाग्यमानी ठान्छु अर्थात् म कुनै हालतमा सोभियतकालमा फर्किन चाहन्नथेँ । आमाबुबाले सुनाउने सोभियतकालका कथा सुन्दै विरक्त लाग्थे । ती कथामा साहित्यमा प्रतिबन्ध, यात्रामा अप्ठ्यारा, खाद्यान्न र अन्य दैनिक वस्तुलगायतका अभाव झल्कन्थे । यसबाहेक अनेक दुःख एवं नियमनका किस्सा पनि सुनिन्थे ।

यी कथा सुन्दा रोमाञ्चक लाग्थ्यो र राहतको महसुस पनि हुन्थ्यो किनभने सोभियतकालीन अवस्थालाई मैले खासै झेल्नुपरेन । मलाई सोभियत संघका जनताका दैनिक जीवन निर्वाहसँग सम्बन्धित ससाना अवयव बटुल्न रुचि लाग्थ्यो जुन इतिहासका पुस्तकमा अटेका थिएनन् । यी अवयवमा बिर्सिएका घरेलु म्युजिक भिडियो, बेढंगे विवाहका तस्बिर, फेसन आदि इत्यादि पर्थे । अन्ततः मैले आफ्नो रुचिलाई यथार्थमा परिणत गरेँ । सन् २०१६ मा सिंगापुरमा रहँदा मैले जम्मा गरेको सोभियत अभिलेख सबैलाई देखाउने उद्देश्यले ‘सोभियत भिजुअल्स’ नामक ट्विटर ह्यान्डल खोलेकी थिएँ । सो ट्विटर ह्यान्डलमा अन्य धेरैले फोटो, भिडियो र व्यक्तिगत वृत्तान्त योगदान दिन थाले र फलस्वरूप यो ह्यान्डल हाम्रो साझा विगत साँच्ने अभिलेख बन्न पुग्यो । यो अभिलेखले सोभियतकालको विचार निर्माण र दमनकारी अभ्यासका क्रुरतालाई स्विकार्दै त्यस समयको सामाजिक एवं सांस्कृतिक मान्यतालाई आलोचनात्मक ढंगबाट नियाल्ने मौका पनि प्रदान गर्यो ।

भ्लादिमिर पुटिनको युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ नाम दिइएको कारबाहीले मेरो देशलाई एकलकाटे स्थितिमा धकेल्यो र यो अवस्था निम्तिनु अस्वाभाविक होइन, अर्थात् रुसले अत्याचार, मानवअधिकार उल्लंघन र सार्वभौमसत्ताको निर्लज्ज बेवास्ता गर्दै युक्रेनमा आक्रमण जारी राखेकै छ । असम्भव लाग्ने गरी केही सातायता हामीलाई सोभियत युगमा फर्काइएको महसुस भएको छ । वास्तवमा अहिलेको समयमा परिस्थिति थप डरलाग्दो अर्थात् हामीले कल्पना गरेभन्दा बढी दमनकारी भएको छ । रुसले कडा प्रतिबन्धका कारण पश्चिमा पुँजीवादले दिएको सुविधा मात्रै नगुमाई पुटिन महाशयले कुनै पनि किसिमको फरक मतलाई दबाउन कुनै कसर बाँकी राखेका छैनन् ।  

युक्रेनी जनताका लागि युद्धले विश्वलाई नै नर्क बनाइदिएको छ । असंख्य मानिसका जीवन चकनाचुर भएको छ । मेरा साथी बमबाट जोगिन बंकरमा लुकिरहेका दृश्य हेर्नु निकै त्रासदीपूर्ण भएको छ । विद्यालय, अस्पताल, आवासीय भवन बमले ध्वस्त भइरहेका वेला ज्यान जोगाउन पलायन भइरहेका निर्दोष मानिसलाई सडकमा गोली दागिँदै छ । यी हर्कत अत्यधिक क्रुर, अनुचित र विनाशकारी छन् । रुसी जनताका लागि निहत्था मानिसहरूको मृत्यु निम्त्याउने पुटिन महाशयको निर्दयी युद्ध अभियानको साक्षी बस्नु भयावह एवं लाचारीको अनुभव हो । यति मात्रै नभई रुसी जनता युद्ध रोक्न नसकेको लाचारी र आक्रमणकारी मुलुकको नागरिक हुनुको लज्जा आफूसँग बोकिरहेका छन् ।

स्वभावतः रुस अहिले अँध्यारो गर्तमा फसेको छ । कपडा र क्रेडिट, कार निर्माता, प्रविधि कर्पोरेसन, फास्ट फुड र खुद्रा कम्पनीलगायत धेरै विदेशी कम्पनीले अर्थव्यवस्थाको हरेक आयामलाई असर गर्ने गरी रुसमा काम ठप्प पारिरहेका छन् । पश्चिमा राष्ट्रको प्रतिबन्धले रुसी नागरिकलाई विश्वव्यापी अर्थतन्त्रबाट टाढा पुर्याएको छ ।  

यसैबीच, पुटिन महाशयले रुसी आक्रमणको विरोध व्यक्त गर्ने रुसी जनतालाई प्रताडित गर्नेमा कुनै सन्देह छैन अर्थात् एक नयाँ कानुनमा युद्धबारे ‘झुटो जानकारी’ फैलाउनेलाई १५ वर्षको जेल सजायको प्रावधान राखिएको छ । स्वतन्त्रतामाथिको दमन रुसी जनताका लागि नयाँ कुरो होइन, तर अहिले अवस्था अत्यधिक असंगत भएको छ । सडकमा पुष्पगुच्छा वा खाली प्लेकार्ड बोकेकै कारण तपाईं पक्राउ पर्न सक्नुहुन्छ । मैले चिनेको रुसको अस्तित्व मेटिएको छ । जे हुनेवाला छ त्यसले राम्रो संकेत दिँदैन । तर, सोभियतकाललाई सम्झिँदा त्यसवेला पनि छिटपुट रूपमा आशाका किरण बाँकी नै थिए । सोभियतकालमा अधिकांश सोभियत जनताले विशाल सामाजिक प्रयोगबाट मुक्तिको बाटो पहिल्याएका थिए । के सन् १९९० मा पहिलोपटक चिजबर्गरका लागि लाइनमा उभिएका मानिसमध्ये कसैले पनि आजको दिनको कल्पना गरेका थिए ? पक्कै थिएनन् । हामी बिस्तारै र धैर्यपूर्वक रुसको पुनर्निर्माण गर्नेछौँ जसरी हामीभन्दा अगाडिका पुस्ताले गरेका थिए । तर, यसका लागि अहिलेको रुसको अवसान हुनैपर्छ । न्युयोर्क टाइम्सबाट
 

सुझावित समाचार