चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउँदै

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी आगामी शुक्रबार तीनदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदै छन् । चिनियाँ उच्च नेतृत्वकै अग्रसरतामा चिनियाँ कम्युनिस्ट पार्टी तथा विदेश मन्त्रालयको प्रतिनिधिमण्डलसहित वाङ नेपाल आउन लागेका हुन् । उनी आइतबार स्वदेश फर्किनेछन् ।

वाङले २ कात्तिकमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग टेलिफोन संवाद हुँदा चीन भ्रमणको निम्ता दिएका थिए । खड्का चीन जानुअघि नै वाङ आफैँ नेपाल आउने भएका हुन् । परराष्ट्र मन्त्रालयले सोमबार मात्रै भ्रमण तालिका सार्वजनिक गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वाङको भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी दलको शीर्ष नेतृत्वलाई अघिल्लो साता जानकारी गराएकी थिइन् । 

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा ‘हाइलेज एक्सपोर्ट फ्रम नेपाल टु चाइना’ नामक समझदारीपत्रमा हस्ताक्षर हुनेछ । १२ चैतमा हुने यो सम्झौतामा हस्ताक्षरका लागि मन्त्रिपरिषद्ले कृषि तथा पशुपक्षी मन्त्रालयलाई स्वीकृति दिइसकेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

विदेशमन्त्री वाङले १२ चैतमै परराष्ट्रमन्त्री डा. खड्कासँग प्रतिनिधिमण्डलस्तरीय दुईपक्षीय वार्ता गर्ने तय भएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । 

स्रोतका अनुसार नेपालले एमसिसीबाट चीनलाई कुनै सुरक्षा खतरा नहुनेमा आश्वस्त पार्ने गरी तयारी गरेको छ । यसबाहेक अहिलेसम्म कार्यान्वनय हुन नसकेको बिआरआई सहकार्यका विषयमा पनि छलफल हुनेछ । बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने गरी छलफल चलिरहेको भए पनि सोमबार साँझसम्म तय भइनसकेको परराष्ट्रका एक अधिकारीले बताए । 

नेपालले तीन वर्षअघि नै पठाएका नौ परियोजनामध्ये एउटा पनि बिआरआईअन्तर्गत कार्यान्वयन भएको छैन । नेपाल–चीन सीमापार रेलमार्ग, दमकको औद्योगिक पार्कको प्रगति शून्यप्रायः छ । सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि आउनुपर्ने चिनियाँ प्राविधिक टोली आइसकेको छैन । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा नेपालले दुई वर्षदेखि बन्द रहेको चीनतर्फ निर्यात सुरु गर्नुपर्ने विषय उठाउनेछ । 

नेपालले चीनमा अध्ययनरत नेपाली विद्यार्थी कोरोनापछि चीन जान नपाएको विषयमा पनि विदेशमन्त्रीसँग चासो राख्नेछ । उनीहरूलाई चीनको विद्यमान स्वास्थ्य प्रोटोकल पूरा गरेर अध्ययनका लागि जान दिन आग्रह गर्ने तयारी सरकारको छ । 

परराष्ट्र स्रोतका अनुसार रसुवागढी र तातोपानी नाकाबाट नेपालतर्फ आयातमा चिनियाँ कन्टेनर संख्याको सीमा हटाउन पनि नेपालले आग्रह गर्नेछ । कोरोनाको अवस्था सामान्य भएकाले अब विगतमा लगाइएका प्रतिबन्ध खुकुलो पार्न चीनसँग आग्रह गरिनेछ । यीबाहेक नेपालले उठाउनुपर्ने एजेन्डाबारे सुझाव लिन परराष्ट्रमन्त्री डा. खड्काले मंगलबार चीनका लागि पूर्वराजदूतसहितका विज्ञहरूसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका वाङ पहिलो उच्चस्तरीय चिनियाँ अधिकारी हुन् । कोरोना महामारी सुरु भएपछि नेपाल आउने वाङ दोस्रा उच्च अधिकारी हुन् । उनीअघि रक्षामन्त्री वेई फङ्गेले १४ मंसिर ०७७ मा नेपाल भ्रमण गरेका थिए । 

नेपालले चिनियाँ असन्तोषबीच एमसिसी पारित गरेपछि चीनले परियोजना चीनविरोधी नभएको भनेर आश्वस्त हुन चाहेको जानकारहरूको भनाइ छ । अर्कातिर नेपालमा कम्युनिस्ट पार्टीहरूसँग मात्रै सम्बन्ध र सम्पर्क बढाउँदै आएकोमा चीनले कांग्रेससँगको सम्बन्धलाई पनि उत्तिकै प्राथमिकतामा राखेको सन्देश दिन चाहेको छ । 

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले तटस्थ र असंलग्न परराष्ट्र नीतिबाट दायाँ–बायाँ नभएर नेपालले छलफल गर्नुपर्ने बताए । ‘नेपालले एमसिसी अनुदान सम्झौता पास गरेपछि चिनियाँ विदेशमन्त्री आउन लागेको संयोगबाहेक यो भ्रमण कुनै असाधारण प्रकारको हो जस्तो लाग्दैन । नेपाल आफ्नो तटस्थ र असंलग्न परराष्ट्र नीतिबाट दायाँ–बायाँ भएको छैन । विदेशनीतिको यही ट्र्याकबाट नेपालले चिनियाँ पक्षसँग कुराकानी गर्नुपर्छ,’ उनले भने, ‘भूराजनीतिक परिवेशलाई मध्यनजर गर्दै साँढेको जुधाइ बाच्छाको मिचाइ नहोस् भन्नेतर्फ सोच्नुपर्छ ।’ 

त्यस्तै, पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले छिमेकबाट प्राथमिकताका साथ भ्रमण हुन लागेको बताए । ‘नेपालले एमसिसीपछिको परिस्थितिबारे स्पष्ट पारिदिनुपर्छ, किनभने छिमेकीलाई हामीले आश्वस्त पार्नुपर्ने दायित्व हो । चीनसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनले भने । 

रणनीतिक मामिलाविज्ञ विनोज बस्न्यातले चिनियाँ विदेशमन्त्रीको भ्रमण विकास, राजनीति र सुरक्षासँग सम्बन्धित सन्देश हुने बताए । ‘बिआरआईअन्तर्गतका विकास परियोजना तय गर्ने सन्दर्भमा राष्ट्रपति सीको यो फलोअप भ्रमण हो । निर्वाचन आउन लागेका सन्दर्भमा कम्युनिस्ट पार्टीहरूबीच सहकार्यमा जोड दिने र कांग्रेससँगको सम्बन्ध सुदृढ गर्ने उनको उद्देश्य पनि हुन सक्छ,’ उनले भने, ‘एमसिसीका सन्दर्भमा रेडलाइन नै तय गरेर चीनको चासोविपरीत कुनै गतिविधि नहुनेमा चीन आश्वस्त हुन चाहन्छ । यस हिसाबले यो भ्रमण महत्वपूर्ण छ ।’ 

चिनियाँ विदेशमन्त्री वाङ यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीका क्रममा २२ भदौ ०७६ मा काठमाडौं आएका थिए । राष्ट्रपति सीले २७ असोज ०७६ मा नेपाल भ्रमण गरेका थिए । ‘स्टेट काउन्सिलर वाङको यो भ्रमणलाई राष्ट्रपति सीको दुई वर्षअघिको भ्रमणको फलोअपका रूपमा लिनुपर्छ,’ एक कूटनीतिक अधिकारीले भने । 

सुझावित समाचार