सेवाग्राहीलाई अड्डा–अड्डामा सास्ती

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण

पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य, तर सेवा व्यवस्थित नहुँदा कार्यालयपिच्छे नागरिक घन्टौँ लाइन बस्न बाध्य

राष्ट्रिय परिचयपत्र बनाउन मध्यरातिदेखि नै लाइनमा सेवाग्राही

पुरानो राहदानी विभाग

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार राष्ट्रिय परिचयपत्रका लागि विवरण भराउनेको लामो लाइन थियो । त्यही लाइनमा थिए, सिन्धुली घ्याङलेब गाउँपालिका– ४ का सूर्य वाइबा । अनुहारमा अनिद्रा र थकान प्रस्ट देखिन्थ्यो । राष्ट्रिय परिचयपत्रका लागि उनले जिप्रका काठमाडौं धाएको तीन दिन भइसकेको थियो । विवरण भराउने लाइनका लागि कुपन दिन सोमबार मध्यरात जिप्रका पुगेका उनले रातभर संघर्ष गरेपछि मंगलबार बिहान ८ बजे कुपन पाएका थिए । त्यो कुपन लिएर उनी बुधबार जिप्रकास्थित फोटो तथा ‘बायोमेट्रिक (आँखाको रेटिनामार्फत विवरण लिने प्रविधि)’ लिन फेरि अर्को लाइनमा बसे । त्यो लाइन पनि निकै लामो थियो । दिनभरको प्रयासपछि उनले बुधबार विवरण भरे । विवरण भरेपछि बुधबार साँझ नयाँ पत्रिकासँग उनले भने, ‘स्वदेशमा रोजगारी पाइएन । विदेश जान खोजेको राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने रहेछ । रातदिन गरेर तीन दिन धाएपछि बल्ल कागजात बुझाउन पाइयो ।’

तीर्थराज भट्टराई महानिर्देशक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
हामीले अनलाइनबाटै सेवा सुरु गरेका छौँ । बायोमेट्रिक र डिजिटल हस्ताक्षरबाहेकको काम अनलाइनबाटै गर्न सकिन्छ, टोकन लिनै पर्दैन । तर, केही जिल्ला प्रशासन कार्यालयले टोकन बाँडेको सुनियो । यस्तो किन भयो बुझ्न सकिएन ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका– २ की नीता तामाङ पनि जिप्रका काठमाडौं धाएको तीन दिन भयो । ‘राष्ट्रिय परिचयपत्रको विवरण भर्ने प्रक्रियामा सहभागी हुन कुपन चाहिने रहेछ, त्यो लिन मंगलबार बिहान २ बजे आइपुगेँ । बिहान ४ बजेतिर कुपन पाएँ,’ बुधबार ‘बायोमेट्रिक’ लाइनमा भेटिएकी उनले भनिन्, ‘धाएको तीन दिन भयो । कहिले सर्भर बिग्रियो भन्छन्, कहिले हाकिम छैनन् भन्छन् । हैरान पार्ने रहेछन् ।’

नुवाकोट शिवपुरी गाउँपालिका– ७ की रश्मि तामाङको पीडा पनि सूर्य र नीताभन्दा फरक छैन । कुपन लिन उनी सोमबार बिहान २ बजे नै जिप्रका पुगेकी थिइन् । मंगलबार बिहान ५ बजे कुपन पाइन् । बुधबार परिचयपत्रका लागि फारम लिइन् । डिजिटल हस्ताक्षर पेस गरिन् । तर, ‘बायोमेट्रिक’ परीक्षणको समयमा सर्भर डाउन भयो । कर्मचारीले आज काम हुँदैन, सबैजना भोलि सबेरै आउनुहोला भन्ने सूचना सुनाए । ग्रिनल्यान्डस्थित आफन्तको घरमा बसेकी रश्मिले बुधबार साँझ नयाँ पत्रिकासँग भनिन्, ‘भोलि बिहीबार होलीको बिदा छ । प्राविधिक समस्या समाधान नगर्दा सास्ती व्यहोर्नुपर्‍यो ।’

सरकारले पछिल्लो समय राष्ट्रिय परिचयपत्रका लागि आवश्यक विवरण संकलन अभियान तीव्र पारेको छ । तर, संकलन प्रणालीलाई व्यवस्थित बनाउन नसक्दा सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको छ । जिप्रका काठमाडौंले अहिले बागमती प्रदेशभित्रका नागरिकको विवरण संकलन गर्ने जिम्मा पाएको छ । कार्यालय परिसरमा विवरण पेस गर्न आउने नागरिकको भिड थामिनसक्नु देखिन्छ । तर, संकलन बुथ जम्मा आठवटा छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख गोविन्दप्रसाद रिजालले पछिल्ला केही दिनदेखि सर्भर बिग्रिएको तथा बागमती प्रदेशका विभिन्न जिल्लाबाट यहीँ कार्यालयमा विवरण भर्न आउनेको संख्या बढी रहेकाले परिसरमै भिड देखिने गरेको बताए । 

‘राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका आठवटा नगरपालिका, दुईवटा इलाका प्रशासन कार्यालय र जिप्रका काठमाडौंबाट विवरण संकलन हुँदै आएको छ । त्यसबाहेक धनुषा र पर्साको पनि हामीकहाँ नै संकलन हुन्छन् । संकलन गर्ने बुथ आठवटा मात्रै छन् । त्यसैले भिड देखिएको हो,’ प्रजिअ रिजालले भने ।

जिप्रका काठमाडौंले गत कात्तिकबाट सेवा सुरु गरेको हो । प्रजिअ रिजालका अनुसार एउटा बुथले बढीमा दैनिक ४० जनालाई सेवा दिन सक्छ । कार्यालय परिसरमा आठवटा बुथ छन् । यस आधारमा दैनिक सवा तीन सयभन्दा बढीलाई सेवा दिन सकिँदैन । तर, सेवाग्राहीको संख्या दैनिक पाँच सयभन्दा बढी हुन्छ । घन्टौँ लाइन बसेका सेवाग्राही त्यसै फर्किनुपर्छ ।

लैनचौरस्थित राहदानी विभागबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुँदै आएको छ । विभाग परिसरमा पनि आठवटा बुथ छन् । तर, सेवा लिन आउनेको संख्या बढी रहेकाले त्यहाँ पनि दैनिक सयौँ नागरिक निराश हुँदै फर्किने गरेका छन् । 

फारमका लागि बिहानैदेखि लाइन लागेका बाग्लुङ ढोरपाटन– १ बुर्तीबाङका रेसम रसाइलीले भने, ‘बिहानैदेखि आइयो । बल्ल–बल्ल फारम पाइयो । आधा दिन बितिसक्यो, विवरण बुझाउन पालो आएको छैन । नभ्याएर त्यसै फर्कनुपर्ने पो हो कि ?’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राहदानी विभाग परिसरमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाइ कार्यालय राखेको छ । सोही कार्यालयस्थित बुथले आवश्यक विवरण संकलन गर्दै आएको छ । वेलावेला हुने सर्भर डाउनको समस्याले यहाँ आउने सेवाग्राहीलाई पनि सास्ती दिएको छ । लाइनमा भेटिएका भोजपुर रामप्रसाद राई गाउँपालिका– २ का धीरेन लामाले पनि त्यस्तै गुनासो पोखे । ‘सर्भर डाउन हुने समस्याले हैरान पारेको छ । हामी हिजै आएको । फाराम भरेर बुझाउन लाग्दा सर्भर डाउन भयो । काम अधुरै रह्यो । आज पुनः आएको छु । अब कति सयम लाग्छ । ठेगान छैन,’ लामाले भने । 

‘बायोमेट्रिक’ र डिजिटल हस्ताक्षरबाहेकका विवरण सेवाग्राहीले अनलाइनबाटै भर्न सकिने व्यवस्था राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको छ । तर, विभागको यो सेवा प्रभावकारी रूपमा कार्यान्वयनमा आएको छैन । सोही कारण सेवाग्राही आधारातदेखि प्रशासन कार्यालय र विभाग धाउनुपरिरहेको छ ।

विभागका महानिर्देशक तीर्थराज भट्टराईले आधारातमा उठेर सेवाग्राहीले जिप्रका धाउनुपर्ने अवस्थाप्रति आश्चर्य व्यक्त गरे । उनले भने, ‘हामीले अनलाइनबाटै सेवा सुचारु गरेका छौँ । बायोमेट्रिक र डिजिटल हस्ताक्षरबाहेकको काम अनलाइनबाटै गर्न सकिन्छ । यसका लागि टोकन लिनै पर्दैन । तर, केही जिप्रकाले टोकन बाँडेको सुनियो । यस्तो किन भयो बुझ्न सकिएन ।’

विभागका अनुसार पछिल्ला महिना धनकुटा, सुनसरी, मोरङ, सप्तरी, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, मुस्ताङ, स्याङ्जा, बर्दिया, कपिलवस्तु र रुकुम (पश्चिम)मा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान चलिरहेको छ । विभागको तथ्यांकअनुसार इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, कास्की, पाल्पा, नवलपरासी, नवलपुर, गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेल्धुरा, अछाम, कञ्चनपुर, डोटी, कैलाली र भक्तपुरमा भने विवरण संकलन अभियान पूरा भइसकेको छ । 

विभागका अनुसार हालसम्म ६२ लाख ८५ हजार पाँच सय ४३ सेवाग्राहीको विवरण संकलन भइसकेको छ । अभियान चलेका जिल्लाका तीन सय २० स्थानीय तहका दुई हजार आठ सय ९३ वडाबाट ती विवरण संकलन भएका हुन् । विभागले परिचयपत्र भने बाँड्न सकेको छैन । विभागका महानिर्देशक भट्टराईले परिचयपत्र विवरणको काम केही अवधिपछि मात्रै हुने जानकारी दिए । 

राहदानी विभागमा पनि सास्ती सकिँदैन, त्यहाँ पनि बिहानैदेखि लाइन

त्रिपुरेश्वरस्थित राहदानी विभागमा पनि बिहानैदेखि विद्युतीय राहदानी लिनेको घुइँचो लाग्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा नै अथाह सास्ती खेपिसकेका सेवाग्राहीले राहदानी विभागमा थप हैरानी व्यहोर्नुपर्छ । विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरिएको छ । वैदेशिक अध्ययनमा जान राहदानी बनाइरहेका विद्यार्थीले त एनओसी लिन, राष्ट्रिय परिचयपत्र र पासपोर्ट बनाउन लाइन बस्नुपर्छ ।

राहदानी विभागले भने सेवाग्राहीहरू तोकिएको समयभन्दा अगाडि नै आउने भएकाले भिड बढेको दाबी गरेको छ । विभागले अहिले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको महानिर्देशक डोरनाथ अर्यालले बताए । उनका अनुसार पहिला मासिक ३५ हजार पासपोर्ट जारी हुने गरेकोमा अहिले संख्या बढाइएको छ । पछिल्लो चार महिनामा एक लाख १५ हजार राहदानी वितरण गरिएको छ । हाल दैनिक औसत २४ सय ५० जनाले विद्युतीय राहदानी बनाउन सक्ने गरी अनलाइन बुकिङ खोलिएको महानिर्देशक अर्यालले बताए । 

डोरनाथ अर्याल महानिर्देशक, राहदानी विभाग
एक सातादेखि आफैँ फिल्डमा खटिएको छु, बुकिङ गरेकाहरू दिएको समयभन्दा तलमाथि पारेर आउनुहुन्छ, त्यसकारण भिड बढेको छ । अपराह्न ४ बजे समय दिएको सेवाग्राही बिहान ९ बजे नै आइपुग्छन् । तोकिएको दिन र समयमा मात्रै सेवाग्राही आउने हो भने भिड हुँदैन । 

एनओसी लिन केशरमहलमा दैनिक हजार विद्यार्थीको लाइन

कोरोना महामारी घटेसँगै गत जनवरीबाट अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थीलाई पनि भर्ना लिन थालेपछि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको भिड लाग्न थालेको छ । शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमति शाखामा दैनिक करिब हजार विद्यार्थी एनओसीका लागि पुग्ने गरेका छन् । सेवा व्यवस्थित नबनाइँदा विद्यार्थीले सास्ती पनि खेप्नुपरेको छ ।

अहिले दैनिक औसत आठ सयले एनओसी लिइरहेको शाखा प्रमुख हरि निरौलाले बताए । यस वर्ष अस्ट्रेलियाका लागि सबैभन्दा बढीले आवेदन दिएका छन् । केही सातायता जापान अध्ययनका लागि सेवा लिनेको संख्या धेरै छ । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष धेरै विद्यार्थी वैदेशिक अध्ययनमा जान पाएका थिएनन् । महामारीअघि दैनिक औसत तीन सयले एनओसी लिने गरेका थिए । ०७५/७६ मा ६३ हजार २५९ विद्यार्थीले एनओसी लिएका थिए भने ०७६/७७ मा ३३ हजार ३७ र ०७७/७८ मा २७ हजार ९७८ ले लगेका थिए । 

हरि निरौला प्रमुख वैदेशिक अध्ययन अनुमति शाखा 
अघिल्लो साता एक दिनमै एक हजार दुई सय विद्यार्थीले एनओसीका लागि आवेदन दिएका थिए । अहिले पनि एनओसी लिन आउनेको उत्तिकै भिड छ । जनवरीयता औसत दैनिक आठ सयभन्दा बढी विद्यार्थी सेवा लिन आइरहेका छन् । 

सुझावित समाचार