सिराहा प्रहरीले चेकजाँचको क्रममा धनगढीमाई- ११ धनगढीबाट आधुनिक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति पूर्व-पश्चिम सडकको आँपगाछी चोकमा चेकजाँच गर्दा स्थानीय ४२ वर्षीय ब्रम्हदेव यादवलाई मेड इन इटाली लेखिएको पेस्तोल, पाँच राउन्ड गोली र एक थान म्याग्जिनसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बी आर ३२ एबी ०४४९ नम्बरको भारतीय मोटरसाइकल चढेका यादवको साथबाट पेस्तोल, गोली र म्याग्जिन बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढोथोकीले बताए ।
मोटरसाइकल रोक्नेबित्तिकै आत्तिएका यादवलाई तत्काल नियन्त्रणमा लिएर खानतलासी गर्दा पेस्तोल, गोली र म्याग्जिन बरामद भएपछि नियन्त्रणमा लिई लहानस्थित इलाका प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।