नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एकसाथ शव–ए–बारात पर्व मनाइरहेका छन्। यस पर्वमा मुस्लिम समुदायका व्यक्ति दुई दिन रोजा (व्रत) बस्ने गर्दछन्। मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेका मौलान मसहुद खान नेपालीले बताए।
मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन्। शव–ए–बारात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तर रूपमा एकपछि अर्को आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो। अबका १५ दिनपछि मुस्लिमको एकमहिने रमजान पर्व सुरु हुन्छ। त्यसपछि इद, बकर इद आउँछ।
गत वर्ष गरेको कामको लेखाजोखा र आउने वर्षका लागि योजना तय गर्ने गरिन्छ। यस पर्वमा अल्लाहको इबादत नमाज (प्रार्थना) मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान (चिहान)मा प्रार्थना र गरिब दुःखीलाई दान दिने चलन रहिआएको मुस्लिम अगुवा असलमले जानकारी दिए। रासस