चोरी मुद्दामा दोषी ठहर सन्तबहादुर नौ वर्षपछि पक्राउ

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

लमजुङ प्रहरीले जबर्जस्ती चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एकजनालाई नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले गोरखाको साबिक सौरपानी गाविस– ९ घर भई लमजुङको बेँसीसहर नगरपालिका– ६ चनौटे बस्ने २७ वर्षीय सन्तबहादुर गुरुङलाई पक्राउ गरेको हो । 

१७ मंसिर ०६९मा सोलुखुम्बु घर भएका सोनाम शेर्पालाई राति बस्नको लागि बास मिलाइदिन्छु भनी एकान्त ठाउँमा लगेर कुटपिट गरी नगदसमेत चोरी गरी गुरुङ फरार भएका थिए । गुरुङलाई ३ वर्ष ४ महिना १३ दिन कैद सजाय हुने गरी १८ चैत ०६९ मा लमजुङ जिल्ला अदालतले फैसला भएको थियो । 

गुरुङलाई बिहीबार जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले खोजतलास गर्दा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका गुरुङलाई शुक्रबार जिल्ला अदालत लमजुङमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।                                                                                                    
 

See More On

सुझावित समाचार