कैलालीको मोहन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पूजादेवी बुढामगर माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । उनी एकीकृत समाजवादी त्यागेर माओवादी प्रवेश गरेकी हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार धनगढीमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बुढामगरलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरे।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट मोहन्यालको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । एमाले विभाजनपछि उनले समाजवादी रोजेकी थिइन् । गाउँपालिका अध्यक्ष नवलसिंह रावलको गत वर्ष निधन भएपछि बुढामगर कार्यबाहक अध्यक्षको जिम्मेवारीमा छिन् ।
प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमाले, कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका ३० जनाभन्दा बढीलाई पार्टीमा स्वागत गरेको माओवादी केन्द्रले जनाएको छ ।