जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन्।
उनले प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो कार्यक्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए। गाउँ, नगर, वडालगायत पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
‘प्रत्येक केन्द्रीय सदस्यहरू एउटा पालिकामा, नगर–महानगरमा निर्वाचन अभियन्ताको रूपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरू, प्रदेशका साथीहरू, जिल्लाका साथीहरू, गाउँ, नगर, वडालगायतका पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरूसँग समन्वय गरेर अभियान चलाऔँ। यसरी गयौँ भने मलाई के लाग्छ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौँ,’ यादवले भने, ‘चुनाव आएको र पार्टीलाई स्थापित गर्न स्थानीय निर्वाचन महत्वपूर्ण भएकाले यसलाई हामीले अधिक से अधिक पालिकामा, पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ।’