झापा गोल्डकप : रेडपान्डाविरुद्ध झापाको फराकिलो जित

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबविरुद्ध ५–१ को फराकिलो जित निकाल्दै घरेलु टोली झापा–११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार सम्पन्न खेलमा झापाका लागि विमल घर्र्तीमगर, विशाल राई बी र विश्वास श्रेष्ठले गोल गरे । झापाले एक गोल आत्मघातीका रूपमा पाएको थियो । ५५औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले डिबक्समा बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्न पुगे । तीनजना राष्ट्रिय टोलीका खेलाडीसहित मैदानमा उत्रिएको झापाले खेलमा सुरुवाती अग्रता लियो । 

झापाका लागि विमलले खेलको ३१औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए । सिक्किमका सागर गुरुङले झापाका रूपेश बर्तौलालाई डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा विमलले गोल गरेका हुन् । 

५८औँ मिनेटमा कप्तान विशालले तेस्रो गोल गरे । सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिबाउन्ड भएको बललाई उनले सहजै गोलपोस्टको दिशा दिए । झापाले खेलको ७७औँ मिनेट पेनाल्टीको अर्को अवसर पायो । सिक्किमका पिन्सोले डिबक्समा ह्यान्ड गरेपछि विमलले नै पेनाल्टी गोल गरे । खेलको ८९औँ मिनेटमा झापाका विश्वास श्रेष्ठ मध्यभागबाट एकल प्रयासमा उत्कृष्ट गोल गरे । 

झापाका विशाल बस्नेतले अमन रसाइलीलाई डिबक्समा लडाएपछि सिक्किमले पेनाल्टी पायो । जसलाई योगेश मगरले गोल गरे । तुलनात्मक रूपमा सिक्किम निकै कमजोर देखियो । सिक्किमले ‘मुभ’ नै बनाउन सकेन । सिक्किमले थोरै मात्र मुभ बनायो । झापाले ए डिभिजन लिग विजेता मच्छिन्द्रका चार खेलाडी मैदानमा उतारेको थियो । खेल हुने अघिल्लो दिन मात्र खेलाडीको टुंगो लागेका कारण झापाका खेलाडीबीच समन्वय अभाव देखिन्थ्यो ।

 झापाका प्रशिक्षक सन्तोष गुरुङले सेमिफाइनलमा संकटाविरुद्ध जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । ‘टिम सेट नभएर केही समस्या भएको हो, खप्तडको खेल जुधेर समयमा टिम बनाउन सकेनौँ,’ गुरुङले भने, ‘चारजना खेलाडी बिहीबार मात्र नै आएका हुन् ।’ उनले सेमिफाइनलमा संकटालाई जित्ने दाबी गरे । 

यसैगरी रेडपान्डाका प्रशिक्षक निकोलस राईले खेलाडी घाइते भएका कारण खेल सोचेजस्तो नभएको बताए । ‘खेलाडीहरू घाइते थिए, जसका कारण सोचेजस्तो भएन,’ उनले भने, ‘केही गल्तीका कारण पेनाल्टी र अन गोल भयो ।’ 

See More On

सुझावित समाचार