साउनदेखि माघसम्म १२२८ माथि कारबाही हुँदा सइदेखि कार्यालय सहयोगीसम्म १२०७ जना, इन्स्पेक्टरदेखि एसपीसम्म २१ मात्रै
पछिल्लो सात महिनाको अवधिमा नेपाल प्रहरीमा १,१७८ जनामाथि कारबाही भएको छ । उनीहरू निलम्बनदेखि तलब वृद्धि रोक्का, प्रतिकूल राय, चेतावनी/सचेत, तलब वृद्धि घटुवा, पदोन्नति रोक्का, तहमा घटुवा र स्केलमा घटुवा कारबाहीमा परेका हुन् । कारबाही भोग्नेमा सबैभन्दा धेरै जवान ७२५, हवल्दार ३१९, असइ ८४, सइ ५३ र कार्यालय सहयोगी २६ छन् । यी तीन तल्लो तहका मात्रै कुल कारबाहीमा परेकाको ९८ प्रतिशतभन्दा बढी हो । इन्स्पेक्टर १४, डिएसपी ४ र एसपी ३ जना परेका छन् ।
... ...
लागुऔषधका अभियुक्तलाई चलखेलमा जोगाएको आरोपमा धनुषाबाट एसपी प्रकाश रानाभाटलाई गत कात्तिकमा प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटायो । प्रहरी प्रधान कार्यालयले उनीमाथि विस्तृत छानबिन गर्यो । छानबिनमा लागुऔषधका एक अभियुक्तलाई जोगाएको देखियो, तर त्यसमा एसपीको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै उनलाई ‘सचेत’ गराएर विभागीय कारबाहीबाट जोगाइयो ।
एसपी ओमबहादुर राना बाँकेमा कार्यरत रहँदा काठ तस्करी गर्ने गिरोहसँग प्रहरीको मिलेमतो देखियो । एसपीका घुमुवाका रूपमा कार्यरत एक असइले काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गराएर भगाएको खुलेको थियो । जसमा प्रदेश प्रहरी कार्यालय लुम्बिनीले छानबिन समिति बनाएर एसपी रानामाथि कारबाहीको सिफारिस गरेको थियो । उनको कारबाही पनि सचेतमै टुंगियो ।
प्रहरीमा तल्ला तहका कर्मचारीले कुनै गल्ती गरे तत्कालै बर्खास्तीसम्मको कारबाही हुन्छ, तर उच्च तहका प्रहरी भने आर्थिक अनियमिततामा संलग्न भएको पुष्टि हुँदा पनि कारबाही हुँदैन, भए पनि सामान्य मात्र हुने गरेको छ । पछिल्लो समय उच्च अधिकारीमाथि समिति नै गठन गरेर छानबिन भए पनि सामान्य कारबाही गरेर उन्मुक्ति दिँदा खराब आचरणका प्रहरीको मनोबल बढेको छ ।
बदमासी पुष्टि, तर कारबाहीबाट उन्मुक्ति
८ फागुन ०७७ मा धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको थियो । जसमा एकजनालाई जोगाउन अनुसन्धान प्रतिवेदन मात्र कमजोर बनाइएन मुचुल्का नै किर्ते बनाइयो । बदनियतपूर्वक अनुसन्धान गरेको देखिएपछि सरकारी वकिल कार्यालयले नै त्यसमा छानबिन गरेर कारबाही गर्न सिफारिस गरेको थियो । जसमा प्रदेश प्रहरी तथा प्रहरी प्रधान कार्यालयबाट भएको छानबिनमा प्रहरीले आर्थिक चलखेलका आधारमा नियतवश नै अनुसन्धानमा बदमासी गरेको पुष्टि भएको थियो । जसमा एसपीको समेत संलग्नता देखियो । तर, तल्लो तहका प्रहरीलाई मात्र कारबाही गरेर एसपी रानाभाटलाई जोगाइएको छ । राजनीतिक दबाबकै आधारमा उनलाई विभागीय कारबाहीबाट समेत जोगाइएको स्रोत बताउँछ ।
‘अनुसन्धानमा बदनियत राख्ने प्रहरी अधिकारीमाथि फौजदारी मुद्दा नै चल्ने कानुनी प्रावधान छ,’ महान्यायाधिवक्ता कार्यालयका एक अधिकारी भन्छन्, ‘यो त्यस्तै प्रकारको घटना हो, तर प्रहरीविरुद्ध मुद्दा त चलेन नै कारबाही पनि भएन भन्ने सुनिन्छ ।’
गत वैशाखमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले डुडुवा– ६ हिलमिनियाबाट सालको काठसहित निसार खाँलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी हत्कडीसहित भागेको भनेर माथिल्लो निकायलाई खबर गरिएको थियो । तर, प्रहरीले बरामद गरेको उनको मोटरसाइकल तथा मोबाइल पनि फिर्ता भएपछि घटना शंकास्पद बन्यो । खाँलाई प्रहरीले भगाएको सूचनाका आधारमा प्रदेश प्रहरीले समिति नै बनाएर छानबिन थालेको थियो ।
खाँले नियमित रूपमा प्रहरीलाई बुझाएको डेढ लाख र आफ्नो मोटरसाइकल तथा मोबाइल फिर्ता दिए मात्र हत्कडी दिने भन्दै भारतमा पुगेर बार्गेनिङ गरेका थिए । त्यसपछि प्रहरीले पैसा दिएर हत्कडी फिर्ता लिएको थियो । काठ बरामद गरी पक्राउमा संलग्न प्रहरीसँग पनि छानबिन समितिले सोधपुछ गरेको थियो । सुरुमा उनीहरूले खाँ भागेको बताए पनि पछि एसपीकै आदेशमा छाडेको बताएका थिए । छानबिनमा आबद्ध एक अधिकारीका अनुसार प्रहरीले सो घटनामा डेढ लाख घुस लिएको बयानबाट पुष्टि भएको थियो । ‘यो अख्तियारले नै हेर्नुपर्ने किसिमको मुद्दा थियो,’ ती अधिकारी भन्छन्, ‘तर, सचेत गराएर जोगाइदिएको देख्दा अचम्म लाग्यो ।’ यो घटनामा पनि असइलाई मात्र कारबाही भएको छ । एसपी राना हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । यसअघि पनि उनी पटक–पटक कारबाहीमा परेका थिए ।
पत्रकारलाई लागुऔषध मुद्दामा फसाउने प्रयासको घटनामा पनि कारबाही हुन सकेको छैन । जसमा रौतहटका तत्कालीन एसपी सिद्धिविक्रम शाहलाई हटाइएको थियो । सात महिनासम्म पनि सो घटनाको छानबिन सकिएको छैन । ३२ साउनमा रौतहट प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई गौरस्थित एक होटेलबाहिरबाट पक्राउ गरेको थियो । प्रहरीकै योजनामा उनको मोटरसाइकलमा लागुऔषध राखिएको थियो । स्थानीय सञ्जय सहनीले प्रहरीसँग मिलेर मोजिबुल्लालाई फसाएका थिए । छानबिनमा सहनीले प्रहरीलाई प्रयोग गरी पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेर फसाइएको खुलेको थियो । जुन घटनाको छानबिनमा एसएसपी नेतृत्वमा छानबिन समिति बनेपछि अझैसम्म टुंगिएको छैन । छानबिनको टुंगो नलाग्दै एसपी शाहलाई ललितपुर परिसरमा खटाइएको छ ।
प्रहरीले गर्ने बदमासीको आन्तरिक छानबिन गर्न प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत प्रहरी उजुरी छानबिन इकाइ छ । जुन इकाइ नै कमजोर हुँदा प्रहरीभित्र हुने अनियमितता नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।
हुन त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत वर्ष अनियमिततामा संलग्न दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन गरेर संगठनमा गल्ती गर्नेलाई दण्ड हुने सन्देश दिन खोजेका थिए । तर, उनीहरूलाई पनि सामान्य विभागीय कारबाही मात्र गरियो । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियाले आफूमातहतका कार्यालयबाट संगठित रूपमा पैसा उठाउने गरेको छानबिनबाट खुलेको थियो । करिब ६ महिना निलम्बनपछि उनीहरूलाई तलब वृद्धि घटुवाको कारबाही गरिएको हो । सुरुमा त्योभन्दा कडा कारबाहीको सिफारिस भएकोमा पछि दबाब दिएर कारबाहीको स्तर घटाइएको स्रोत बताउँछ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा उनीहरूले अनियमितता गरेका थिए । प्रहरी कर्मचारीकै उजुरीका आधारमा उनीहरूमाथि छानबिन भएको थियो ।
भारतीय नागरिकलाई पक्राउ गरी माथिल्लो निकायमा जानकारी नदिई गोप्य रूपमा भारतलाई बुझाएको तथा जुवामा बरामद चेकमा मुद्दा नचलाई जुवाडेलाई फिर्ता गरेजस्ता घटनामा छानबिन भए पनि दबाबकै कारण कारबाहीको निर्णय हुन सकेको छैन । जुवाबाट बरामद चेक प्रकरणमा त दबाबका आधारमा अनुसन्धान नै डिसमिस गराउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
कारबाही भोग्नेमा तल्लो तहका धेरै
७९ हजार पाँच सय ४० जनशक्ति रहेको नेपाल प्रहरीमा अधिकृत तहको दरबन्दी दुई हजार दुई सय २७ छ, जुन २.८० प्रतिशत हो । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार कारबाही भोग्नेमा इन्स्पेक्टरभन्दा माथिल्लो तहका प्रहरी नगन्य छन् ।
गत साउनदेखि माघसम्म नेपाल प्रहरीका एक हजार दुई सय २८ जना कारबाहीमा परेकोमा इन्स्पेक्टरभन्दा माथिल्लो तहका जम्मा सातजना छन्, जुन कुल कारबाहीको १.७ प्रतिशत मात्र हो । यस अवधिमा चार डिएसपी र तीन एसपीलाई सामान्य प्रकृतिको कारबाही गरिएको छ जब कि यस अवधिमा १४ इन्स्पेक्टर, ५३ सइ, ८४ असइ, तीन सय १९ हवल्दार, सात सय २५ जवान र २६ कार्यालय सहयोगी कारबाहीमा परेका थिए । माथिल्लो तहकालाई कारबाही गर्दा पनि भ्रष्टाचार तथा अन्य अपराधमा दोषी ठहर भएबाहेकको हकमा सचेत तथा नसियत मात्र हुने गरेको छ ।
गत आर्थिक वर्षको कारबाहीको तथ्यांक पनि उस्तै छ । गत वर्ष पनि एसपीभन्दा माथिल्लो तहका प्रहरीले कारबाही भोग्नुपरेन । एक हजार नौ सय ८२ जना कारबाहीमा परेकामा चार एसपी, सात डिएसपी थिए । त्यस्तै, ३२ इन्स्पेक्टर, ९२ सइ, एक सय ५३ असइ, पाँच सय ६ हवल्दार, एक हजार एक सय ६३ जवान र २५ कार्यालय सहयोगी कारबाहीमा परेका थिए । गत वर्ष एक सय ६६ जनालाई नोकरीबाट हटाइएको थियो भने २७ जना बर्खास्त भए ।
प्रहरी प्रवक्ता विष्णुकुमार केसी गल्ती गर्ने उच्च तथा तल्लो तहका सबै प्रहरीमाथि कारबाही हुँदै आएको बताउँछन् । ‘तल्लो तहको संख्या नै धेरै भएकाले कारबाही धेरै देखिएको हो,’ उनी भन्छन्, ‘एसपीहरू पनि कारबाहीमा परेका छन् ।’
पछिल्लो समय प्रहरीमा राजनीतिक प्रभाव बढेको र सरुवा–बढुवामा मात्र नभई कारबाहीसमेत त्यही कारण प्रभावित बनेको एक उच्च प्रहरी अधिकारी बताउँछन् । यस्तो प्रवृत्तिले बदमासी गर्नेहरूको मनोबल झनै बढेको छ । सरुवा–बढुवालाई निष्पक्ष बनाउन नसकेको आरोप लागेका प्रहरी महानिरीक्षकले गल्ती गर्ने प्रहरीमाथि कारबाहीमा समेत आँट गर्न नसकेको एक प्रहरी अधिकारीको टिप्पणी छ ।