एमाले अध्यक्ष केपी ओलीले कांग्रेस बुढो पार्टी भएकाले उसको चुनावचिह्न रुखसमेत सुकिसकेको बताएका छन् । कांग्रेसलाई समर्थन गर्न निर्वाचन आयोगले स्थानीय निर्वाचनको मतपत्रको रङ हरियो बनाउन लागेको उनले आरोप लगाए ।
बुधबार एमाले मोरङले रंगेलीमा आयोजना गरेको तराई–मधेसकेन्द्रित चुनावी प्रचार प्रसार उद्घाटन सभामा उनले निर्वाचन आयोगको मतपत्र हरियो बनाउने निर्णय आफ्नो पार्टीलाई मान्य नहुने बताए । उनले कांग्रेसले देश विकासमा केही गर्न नसक्ने दाबी गरे ।
एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रबाट निर्वाचित भएका रंगेली नगरपालिका प्रमुख दिलीप बगडिया र उपप्रमुख केशवकुमारी खराललाई पार्टी प्रवेश गराए । उनले एमालेमा प्रवेश गर्नेहरूलाई सधैँ ढोका खुला भएको भन्दै नयाँ र पुरानो भनेर कसैलाई विभेद नगर्न कार्यकर्तालाई निर्देशन दिए ।